Pages

Thursday, November 20, 2008

विद्यार्थी, शिक्षक र 'गुरुजीको लट्ठी'

त्यतिबेला म स्कूले विद्यार्थी थिएँ, जब 'गुरुजीको लट्ठी' को जन्म भयो।
पिरियडै पिच्छे फरक–फरक गुरुहरू पस्थे कक्षामा। सबैसँग होइन, तर केहीसँग लट्ठी हुन्थे, हातमा। जब कुनै विद्यार्थी बिना गृहकार्य उपस्थित हुन्थ्यो कक्षामा, उसले सहनुपर्थ्यो, त्यो लट्ठीको पिटाइ। गृहकार्य नगर्दा मात्र होइन, कक्षामा साथीसँग थोरै कुरा गर्दा पनि खानुपर्थ्यो कुटाइ, 'हल्ला' गरेको निहूँमा। हुन त गुरुहरूको पिटाइ खासै खानु परेन मैले। मैले पाएको कुनै सजायको याद पनि छैन। तैपनि सँगैका साथी जो उभिन्थे बेन्चमाथि गृहकार्य नबुझाएकै कारणले र पाउँथे नीलडाम हातमा, तिनको आँखामा टिल्पिलाएका आँसुले मेरो चित्त पनि दुखेकै हो। मेरो मन पनि रोएकै हो।



कक्षामा 'ज्ञानी' 'अनुशासित' 'आज्ञाकारी' कहलिएको म गल्ती नै गर्दा पनि सजायँ माफ पाउँथे, 'अर्कोपल्ट गल्ती नगर्नू' भन्ने निर्देशनका साथ। त्यही बेला लागेको हो मलाई, कसरी फरक भएँ म साथीहरूभन्दा? कसरी भिन्न भएँ म आफ्नै classmateहरूभन्दा? कसरी अलग्ग भएँ म? कसरी? अनि उठेँ जुरुक्क बेन्चमाथि र भनेँ 'सर, आज मेरा पनि कापी खाली छन्। आज मैले पनि होमवर्क गरेको छैन सर।'

त्यो हिजोको दिन थियो। म उभिएको थिएँ, हात थापेर बेन्चमाथि। गुरु उभिएका थिए हातमा लट्ठी बोकेर मेरा अघिल्तिर।

आज म शिक्षक (गुरु) भएको छु, बोर्डिङको। मेरा हातमा लट्ठी छन् र मेरा अघिल्तिर उभिएका छन् विद्यार्थीहरू हात थापेर, केबल गृहकार्य नगरेको अपराधमा र कक्षामा 'हल्ला' गरेर अनुशासनहीन काम गरेको आरोपमा।


इमान्दार त थिएँ नै। त्यसामाथि घोटिएर, जोतिएर काम गर्दागर्दै पनि एक दिन स्कूल प्रशासनबाट सुन्नुपर्‍यो 'तपाईँको क्लास कन्ट्रोल भएन।' एकछिन भाउन्न भयो। 'क्लास कन्ट्रोल गर्न के गर्नुपर्ला?' गम खाएँ, कुनै उपाय सुझेन। लगत्तै अर्को क्लास थियो, पसेँ। मेरा आँखा परिहाले, केही विद्यार्थी 'हल्ला' गर्नमै तल्लीन थिए। रिसको झोँकमा उठ्न लाएँ बेन्चमाथि, थाप्न लाएँ हात र पिटेँ लट्ठीले भटाभट। एकैछिन अघि होहल्लामय क्लासमा अचानक शान्ति छायो, मुर्दा शान्ति। एकछिन सन्तोष लाग्यो, क्लास कन्ट्रोल भएकोमा। तर एकैछिनमा खङ्ग्रङ्ग भएँ, जब मेरा आँखा मेरो सजाय पाएका विद्यार्थीका आँखामा परे। हात छाम्दै घोप्टो परेका उनीहरूका आँखामा आँसु सल्बलाइरहेको थियो। हात काँप्यो, लट्ठी खस्यो, अनि सेलायो जोश।



जब सामान्य (normal) भएँ, सोच्न थालेँ– 'किन बोक्छन् लट्ठी गुरुहरू? किन पाउँछन् सजाय विद्यार्थीहरू?'
मन नमान्दा नमान्दै मैले पनि विद्यार्थी कुटेकै हूँ। हात काँप्दा काँप्दै मैले पनि लट्ठी हानेकै हूँ।
तर अब म सक्दिनँ।
सक्दिनँ म विद्यार्थी कुट्न 'क्लास कन्ट्रोल' गर्नकै लागि।
सक्दिनँ म लट्ठी बोक्न 'जागिर' जोगाउनकै लागि।

२०६५/०७/२४

Tuesday, November 4, 2008

क्रम


घरि दायाँ कोल्टे फेर्छ घरि बायाँ कोल्टे फेर्छ । एकैछिनमा लामो सास फेर्छ । अनि नाडीको घडीमा यस्सो आँखा दगुराउँछ ।
‘उफ्, कति लामो रात पनि’ मनमनै सुस्केरा हाल्छ ।
फेरि स्मृतिमा उही कुरा दोहोरिन्छ ।
‘छैन मसँग पैसासैसा’ उसका बाबुको स्वर सधैंभन्दा ठूलो थियो ।
‘अर्को हप्तासम्म पैसा नतिरे जरिवाना लाग्छ रे । अझै पनि नतिरे जाँचै दिन पाइन्न रे बा’ दबेको रुन्चे स्वर बहिनी शोभाको थियो ।
‘पर्दैन जाँच दिन, पर्दैन पढ्न । डेरालाई पैसा, खान-लाउन पैसा, पढ्न पैसा । पैसा, पैसा । भन्नासाथ कहाँबाट आउँछ पैसा?’
क्याम्पसबाट फर्कंदा भ-याङमा आइपुग्दा सुनेका यी कुरा नविनका कानमा ठोक्किरहन्छ र उसलाई रातभर निद्रा पर्दैन ।

‘अब त उज्यालो भयो होला’ नविन जुरुक्क उठ्छ । सँगै सुतिरहेको भाइ सुवासको कपाल मुसार्छ । खाटबाट ओर्लन्छ । अर्को खाटमा सुतिरहेकी बहिनीतिर पुलुक्क हेर्छ र सरासर बार्दलितिर जान्छ । उसले आफ्ना आँखा बाहिर डुलाउँछ । मान्छे चिन्न सकिने उज्यालो अझै भएको हुँदैन । हातमा अलिकति पानी लिन्छ र आँखा भिजाउँछ । अनि पूर्वतिर हेरेर एकोहोरो टोल्हाउन थाल्छ ।
अल्छि मानेझैं गरी बिस्तारै सूर्य झुल्किन्छ । मन बहलाउन नविन बाहिर निस्कन्छ । नजिकैको पत्रिका पसलमा यस्सो मुन्टो घुमाउँछ । अकस्मात उसका आँखा एउटा पत्रिकामा गएर रोकिन्छ ।


‘आवश्यकता’ लेखिएको एउटा विज्ञापन देखेपछि हत्तपत्त पत्रिका थुत्छ र ध्यान दिएर हेर्न थाल्छ । हेर्दाहेर्दै उसका आँखामा चमक आउँछ । पसलमा एक टुक्रा कागज मागेर केही टिप्छ र पत्रिका त्यहीँ छोडेर फेरि घरभित्रै पस्छ । कोठामा जान्छ केही कागजपत्र बटुल्छ, फाइलमा बाँध्छ र फाइल बोकेर खानै नखाइ कसैलाई थाहा नदिइकन ऊ बाहिर निस्कन्छ ।
ठुलो जोशका साथ नविन एउटा अफिसमा पुग्छ । केहीबेर कुराकानी हुन्छ ।
‘ठीक छ, आफ्नो बायोडाटा र सर्टिफिकेटहरु छोडेर जानुस् । अन्तर्वार्ताको लागि भोलि आउनुस्’ यति सुनिसकेपछि आफ्ना कागजपत्रहरु छोडेर नविन फर्कन्छ ।
भोलिपल्ट पनि नविन सबेरै उठ्छ । फाइल बोक्छ र अन्तर्वार्ता दिन हिँड्छ । अन्तर्वार्ताको नतिजामा नाम निक्ले बोलाइने आश्वासन पाएर नविन फर्कन्छ । केही दिनपछि नविन आफैं अफिसमा पुग्छ तर आफ्नो नाम ननिस्केको थाहा पाएर ऊ दुःखी हुन्छ ।
फेरि ऊ पत्रिका पल्टाउँछ । अर्को कम्पनीमा जान्छ । अन्तर्वार्ता दिन्छ । नाम निस्कनेको सूचीमा आफ्नो नाम खोज्छ, पाउँदैन र निराश हुन्छ ।
यसरी पत्रिका हेर्दै निवेदन दिने र अन्तर्वार्ता दिने क्रम चलिरहन्छ । तर उसको नाम कतै ननिस्केपछि ऊ थकित हुन्छ ।
‘सब वाहियात हुन्’ नविन हातमा बोकेको पत्रिको टुक्रा च्यातचुत पारेर फाल्छ ‘सबका सब झुट् हुन् ।’

अहिले नविन आफ्नै क्याम्पसनेर पुगेको छ । बेलुकीको पढाइ सुरु हुने बेला भैसकेको छ । धेरै दिनपछि ऊ आज क्याम्पस पस्छ ।
‘क्या हो नविन, यतिका दिन कता गायब ?’ क्याम्पस पस्नेबित्तिकै केही साथी नविनलाई घेर्छन् र प्रश्न गर्छन् ।
‘त्यसै, आफ्नै काममा’ कुरा टाल्न खोज्दै नविन बोल्छ र सरासर कक्षाकोठामा पस्छ ।
कक्षामा पढाइ भइरहेको छ । नविनको मन भने कक्षामा हुँदैन । पढाइ हुँदाहुँदै ऊ उठेर हिँड्छ ।
नविन कोठामा फर्कन्छ । बाबु कामबाट अझै फर्केका हुन्नन् । आमा बाबुलाई नै पर्खेर
टोल्हाइरहेकी छिन् । भाइ र बहिनी पढ्नमा व्यस्त छन् । नविन एउटा कुनामा जान्छ र टुक्रुक्क परेर बस्छ ।
त्यत्तिकैमा कोठामा बाबुको प्रवेश हुन्छ । कामको बोझले होला, थकाइ र भोक एकसाथ देखिन्छन् उनको अनुहारमा । नविनले खल्लो महसुस गर्छ ।
आउनेबित्तिकै बाबुका आँखा नविनमा पर्छन् । ‘धेरै दिनदेखि नकाटेको दाह्रीजुंगा, जिङ्ग्रिङ परेका कपाल, भित्र गड्का आँखा’ नविन धेरै दिनपछि बिमारबाट उठेको बिरामीझैं देखिएको हुन्छ ।
‘नविन, के भयो तँलाई ?’ बाबु नविनतिर हेरेर सोध्छन् । नविन बोल्दैन ।
‘म सोध्दैछु, के भयो तँलाई ?’ बाबुको थकाइ एकाएक रिसमा फेरिन्छ ‘बिहान खानै नखाई निस्कन्छस् रे । दिनभर बाहिरै हुन्छस् रे । के हो तेरो चाला ?’
‘बुबा’ मसिनो तर धोद्रो स्वरमा नविन बोल्छ ‘एक न एक दिन त मैले पनि काम पाउँछु होला नि । त्यसपछि तपाईंले यस्तरी दुःख गर्नुपर्दैन ।’
परिवारमा एकछिन सन्नाटा छाउँछ । केहीबेर बाबु पनि चूप लाग्छन् । अनि नरम भएर बोल्छन् ‘किन यस्तो चिन्ता लिएको तैंले ? म ज्यूँदो छन्जेल तिमीहरुले भोकै सुत्नुपर्दैन नाङ्गै बस्नुपर्दैन । आफ्नो पढाइमा मात्र ध्यान दे ।’ बाबु टोल्हाउँछन् र आफूले पढ्न चाहँदा चाहँदै पढाइ छाड्नु परेको कुरा सम्झन्छन् ।
‘किन ढाँट्नुहुन्छ बुबा ?’ मनमनै नविन प्रश्न गर्छ ‘कति दिन दुःख लुकाउनुहुन्छ र कतिञ्जेल एक्लै बोक्नुहुन्छ परिवारको बोझ ?’
नविन निहुरिन्छ, आफ्नो टाउको दुई घुँडाको बीचमा च्याप्छ र बेस्सरी आँखा चिम्लन्छ ।
‘दाइ, हिजोअस्ति तपाईं काम खोज्न जानुभएको हो ?’ नविनको नजिक आएर भाइ सुवासले सोध्छ ।
टाउको उठाएर नविन भाइतिर हेर्छ र भाइको गाला मुसार्छ ।
‘भैगो खाना खाऊँ र सुतूँ’ आमा मुख खोल्छिन् । शोभा सबैलाई खाना पस्किन्छिन् । मन नलागी-नलागीकन नविन खाना खान बस्छ । एक-दुई गाँस टिप्छ र छोड्छ ।
सबै जना सुत्छन् । नविन पनि सुत्छ तर उसको मन एक तमासको हुन्छ । जेठो सन्तान भएर परिवारको लागि केही गर्न नसक्दा उसको मन भारी भएर आउँछ । ‘‘पत्रिका हेर्दै अन्तर्वार्ताको लागि धाएको सूचीमा आफ्नो नाम खोजेको र आफ्नो नाम नभेटेपछि निराश भएको’ तस्वीर उसको मनमा आइरहन्छ र ऊ फेरि बर्बराउन थाल्छ ‘सब वाहियात हुन्, सब झुट हुन् ।’ बर्बराउँदा बर्बराउँदै धेरै दिनदेखि ननिदाएका उसका आँखा लाग्छन् ।

‘दाइ’ एकाबिहानै भाइ सुवासको चर्को स्वर सुनेर नविन ब्युँझन्छ ।
‘इः हेर्नुस् त’ हातमा बोकेको पत्रिकामा आवश्यकताको विज्ञापन देखाउँदै सुवास बोल्छ ।
‘कहाँबाट ल्याइस् यो ?’ वितृष्णाको भावले मुन्टो अन्तै फर्काएर नविन बोल्छ ‘लैजा यहाँबाट सब झुट हुन् ।’
दाइ रिसाएको थाहा पाएर सुवास बोल्दैन । पत्रिका त्यहीँ छोडेर ऊ दौडेर जान्छ ।
मन नलाग्दा नलाग्दै नविनको टाउको पत्रिकातिर फर्किन्छ । ‘आवश्यकता’ लेखिएको विज्ञापनमा गएर उसका आँखा फेरि एकपटक ठोक्किन्छ ।

बिस्तारै पत्रिका हातमा उठाएर ऊ पढ्न थाल्छ । पढ्दापढ्दै फेरि एकपटक उसका आँखाका चमक आउँछ । निराश भएको उसको मनमा फेरि एकपटक खुशी छाउँछ । यतिबेला अन्तर्वार्ताको लागि धाउँदा धाउँदा आफू थाकेको कुरा उसले बिर्सिकेको हुन्छ । अघि भर्खर विज्ञापनलाई झुट भनेको कुरा पनि उसले भुलिसकेको हुन्छ ।
नविन हत्तपत्त खाटबाट ओर्लन्छ । तयार हुन्छ र आफ्ना कागजपत्रहरु फाइलमा राखी फाइल बोकेर कसैलाई केही नभनी ऊ बाहिर निस्कन्छ ।
विज्ञापन हेरेर अन्तर्वाताको लागि नविन धाउने क्रम फेरि एकपटक सुरु हुन्छ ।
२०६२ फागुन/चैत्र