Pages

Tuesday, April 14, 2009

नआए हुन्छ



रुझेका आमाका परेली
पुछ्न सक्दैनस् भने
दुःखी जीवनको सुखद् सपना
बुझ्न सक्दैनस् भने
सक्दैनस् भने
कुनै नयाँ युगको गीत गाउन
सक्दैनस् भने
आफैँ नयाँ बनेर आउन
ए, नयाँ वर्ष !
तँ मेरो आँगनीमा नआए हुन्छ
कसैले नयाँ वर्षको नाममा
पुरानै गीत नगाए हुन्छ ।


सानो बाबुको भोको पेटमा
अन्नको गेडो हाल्न सक्दैनस् भने
सानी बहिनीको जीउको लुगामा
परेको प्वाल टाल्न सक्दैनस् भने
सक्दैनस् भने
अन्धकार जीवनमा उज्यालो छर्न
सक्दैनस् भने
रित्तो जीवनलाई खुसीले भर्न
ए, नयाँ वर्ष !
तँ मेरो घरमा नछिरे हुन्छ
फर्केर जा
फेरि कहिल्यै नफिरे हुन्छ ।

Saturday, April 4, 2009

तिमीले कस्तो कुरा ग-यौ ?




रातलाई दिनमा बदल्ने कुरा ग-यौ
अँध्यारोलाई उज्यालो बनाउने कुरा ग-यौ
बस्तीहरू छट्पटाइरहेकै छन् अन्धकारमा अझै
तिमीले कुन दीपावली मनाउने कुरा ग-यौ ?

तारालाई जमिनमा झार्ने कुरा ग-यौ
धरतीलाई झलिमिली पार्ने कुरा ग-यौ
आँखा हुँदै बाँच्नुपरेको छ दृष्टिविहिन जीवन
कुरैकुराले समस्यालाई टार्ने कुरा ग-यौ ।