Pages

Wednesday, May 20, 2009

बाढी बनेर आउनुपर्छ




नमिलेको समाज मिलाउनु छ भने
दुःखीलाई सुख दिलाउनु छ भने
फाल्नु छ यदि समाजका कुतत्वलाई भने
गाल्नु छ पुराना संस्कारलाई भने
पुराना चिन्तन गल्नुपर्छ
थोत्रा विचारहरु जल्नुपर्छ
त्यसैले
आँधी आउनुपर्छ हूरी चल्नुपर्छ ।

घरमा नयाँ छानो छाउनु छ भने
गरीबको शासन ल्याउनु छ भने
फेर्नु छ यदि संसारलाई भने
हेर्नु छ यदि सुनौलो बिहान भने
युगौँको बन्धन चुँडाल्नुपर्छ
दासताको जन्जिर छिनाल्नुपर्छ
त्यसैले
नयाँ क्रान्ति थाल्नुपर्छ
एक जुट भइ मुठ्ठी उचाल्नुपर्छ ।

भेदभावको अन्त्य गर्नु छ भने
समानताको लागि लड्नु छ भने
लाउनु छ यदि जनतासँग प्रीत भने
गाउनु छ यदि स्वतन्त्रताको गीत भने
कलमलाई जोडले समाउनुपर्छ
समाजमा उथलपुथल ल्याउनुपर्छ
त्यसैले
सरितासरि बगेर पुग्दैन कविता
बाढी बनेर आउनुपर्छ ।

Saturday, May 2, 2009

कविताको अन्त्य




बटुलेर अक्षरहरू
जोडेर एक आपसमा
एक कठ्याँग्रिँदो बिहान
चिसो हावाको विरुद्ध
कविता लेखेँ
रिसाएर हावा
आयो आँधी
र उडायो अक्षरहरू कविताबाट
अनि
हावामै कतै लुक्यो कविता ।

फुलिरहँदा फूल बगैँचामा
ओर्लेकै बेला वसन्त धरतीमा
फूलको रक्षार्थ
काँडाको विरुद्ध
कविता लेखेँ
झोक्किएर काँडा
रोपिए पन्ना पन्नामा
अनि
सहनै नसक्ने गरी
दुख्यो कविता ।

लेख्दालेख्दै उज्यालोको कविता
चर्कियो घाम
र पोल्यो अक्षरहरूलाई
अनि
घामकै पोलाइविरुद्ध
कविता लेखेँ
मुर्मुरिँदै घाम अझै तात्तियो बेस्सरी
पग्लियो अक्षर
अनि बाफिएर
सुक्यो कविता ।