Pages

Wednesday, June 10, 2009

ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !


छोप्दै छोपिन्न भने हत्केलाले सूर्यका रोशनीलाई
रोकिन्न भने कुनै शक्तिले पृथ्वीको गतिलाई
जाडो घट्दै घटेन नभन
अन्धकार हट्दै हटेन नभन
ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !
कुहिरोले छोपेको मात्र हो धरती
बादलले ढाकेको मात्र हो आकाश
सूर्य उदाउँदै नउदाएको होइन
घाम लाग्दै नलागेको होइन ।

रक्तिम किरणले अन्धकार पछार्नै लागेको बेला
लामो निद्रामा अलमलिएकाहरु आँखा मिच्दै जागेका बेला
पूर्व फाट्दै फाटेन नभन
उज्यालो हुँदै भएन नभन
ए, उज्यालोको गीत गाउने मान्छे !
हुन मात्र बाँकी हो बिहान
सुन्न मात्र बाँकी हो भालेको डाक
रात ढल्दै नढलेको होइन
तारा झर्दै नझरेको होइन ।



पाखामा रक्ताम्ये लाली गुराँस फुलेका बेला
घामको स्वागतमा मुस्काउँदै सूर्यमुखी झुलेका बेला
कोइलीले गाउँदै गाएन नभन
वसन्त आउँदै आएन नभन
ए, वसन्तलाई खोजी हिँड्ने मान्छे !
उड्न मात्र बाँकी हुन् भँवरा
डुल्न मात्र बाँकी हुन् पुतली
फूल फुल्दै नफुलेको होइन
शिशिर हट्दै नहटेको होइन ।