पूर्वको मधुरो घाम फेरिएकै छैन
बदलियो नारा तर काम फेरिएकै छैन
नयाँ केही भएकै छैन
पुरानो केही गएकै छैन
अनि कुन मनले व्यक्त गरूँ खुसी ?
गर्नु परेकै छ अप्ठेरोको सामना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
जातीय, वर्गीय भेदभाव उही छ
गरीबी, भोकमरी र अभाव उही छ
शान्ति अझै हराएकै छ
थीर छैन मन डराएकै छ
विश्व बढेको छ जग बसाल्न चन्द्रमामा
हाम्रो युग फेरिएन, उही छ जमाना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
उस्तै छ रीति, थिति बदलिएन
हटेन कुचलन, संस्कृति बदलिएन
सडकमा जिन्दावाद, मुर्दावाद छ अझै
पुरानै नेपालको स्वाद छ अझै
भत्काएर पुराना, नयाँ बनाउन
अझै बाँकी नै छ कोर्न योजना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
२०६५/०९/१७
(January 1, 2009)