Pages

Monday, April 19, 2010

अँध्यारोविरुद्ध

रोक्दारोक्दै,
मिल्कायौ मैनबत्तीका बचेका टुक्राहरू फोहोरसँगै
छेक्दाछेक्दै,
खन्यायौ मट्टीतेलहरू नालीमा
लाग्दैमा घाम
कहाँ हट्छ र अँध्यारो सँधैका लागि ?
हुँदैमा बिहान
कहाँ भाग्छ र रात नफर्किने गरी ?
कुनै पनि समय
छोप्न सक्छ कुहिरोले धरती
जुनसुकै बखत
ढाक्न सक्छ बादलले आकाश
सम्झाउँदा सम्झाउँदै,
चुँडायौ बिजुलीका तारहरू घरबाट ।



हेर,
फेरि डुब्दैछ सूर्य
हुँदैछ कालो रात
भित्रिसक्यो अँध्यारो
तिम्रो घरमा
भन,
अब कसरी लड्छौ तिमी अँध्यारोसँग ?