Pages

Monday, March 8, 2010

के लेखूँ ?

च्यातिएको चोली टालटुल गरेर
नाङ्गा पाखुरा छाप्ने तरखरमा लाग्दा मेरी हजुरआमा
उनी
मिनिस्कर्टमा सजिएर
यौवन देखाउँदै डुल्दै थिइन् ।

भारी बोकेर काँधमा
देउरालीको उकाली चढ्दै गर्दा मेरी आमा
उनी
र्‍याम्पमा क्याटवाकमा हिँड्दै थिइन् ।



बच्चाको ओठमा
आफ्ना सुकेका स्तन चुसाइरहँदा मेरी दिदी
उनी
सौन्दर्य बिग्रने डरले
बच्चालाई बोतलको दूध
पिलाइरहेकी थिइन् ।

कलम समाउने हातले
हथौडा बोकेर
गिटी कुट्दै गर्दा मेरी बहिनी
उनी
Chat मा Romance का गफमा
मस्त थिइन् ।

विदेशिएको बेला म
घरमा लुटिँदा मेरी सँगिनी
उनी
ग्राहकसँग आफ्नो शरीरको
मोलमोलाइमा व्यस्त थिइन् ।

फरक–फरक दृश्यहरू
फरक–फरक नारीहरू,
कसलाई म नारी देखूँ ?
भन, कसको कथा रचूँ म ?
कुन नारीको कविता लेखूँ ?

सन्दर्भः ८ मार्च (अन्तर्राष्ट्रिय नारी दिवस)