रामबहादुरकी स्वास्नी व्यथाले मरिन्
ओखती नपाएर बुबा मरे
खेतमा काम गर्दागर्दै आमा पहिरोमा पुरिइन्
कान्छो छोरो भोकले मर्यो
बाँकीलाई टुहुरो बनाएर
पीडै पीडाले रामबहादुर कालको मुखमा परे
उसका सपना थिए,
घर सजाउने सपना
छोराछोरीलाई सुखमा हुर्काउने
पढाउने, बढाउने र
ठूलो मान्छे बनाउने सपना
आमा–बा, स्वास्नी र छोराछोरी सहितको
सुखी, खुसी परिवारको सपना
स्वास्नीको मृत्युसँगै उसको सपना टुक्रियो
आमा–बाको निधनसँगै उसको सपना भत्कियो
रामबहादुरको अन्त्यसँगै उसको सपना टुङ्गियो
चाहेर पनि उसले स्वास्नी बचाउन सकेन
चाहेर पनि उसले आमा–बा फर्काउन सकेन
छोराछोरीको निम्ति
चाहेरै पनि उसले आफ्नो आयु थप्न सकेन
आज
उसका छोराछोरीको सपना बेच्नेहरू
आफ्नो आयु बढाउँदैछन्
बिना कुनै योजना
सपना पूरा गर्ने बाचा गरिरहेछन्
क्रुद्ध भएर आत्मा
रामबहादुरलाई
फेरि ब्यूँतेर बाँच्न मन लागेको छ
सपनाको कालो व्यापारीका
करङहरू भाँच्न मन लागेको छ ।
केटाकेटीहरु दमक स्थित भाटभटेनी डुल्दा ...
1 week ago