Pages

Tuesday, October 25, 2011

शुभकामना


[तस्वीरः myaawaz.com]

दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र शायद ज्याला नयाँ ।
दशैँ जस्तो भए पनि तिहार राम्रै बित्ने भयो भन्ने सोचेर नरमान दंग पर्‍यो र तिहारको किनमेलको योजना बुन्न थाल्यो ।
′बुबा मलाई एक जोर नयाँ जुत्ता ′ दशैँदेखि भन्दै आएको उही कुरो दोहोर्‍याई छोरीले ।
छोरो बोल्यो, ′मलाई जसरी भए पनि मोबाइल है बुबा ′
स्वास्नी बोलिनँ । तर उसको ठाउँ ठाउँमा टालेको धोतीले सबै बोलिरहेको थियो । नयाँ आश लिएर नरमान आज काममा हिँड्यो । दिनभरी पसलमा काम गरिसकेपछि ऊ साहूको अगाडि पुग्यो र बिन्ती बिसायो, ′साहूजी, तिहार मुखैमा आइसक्यो ... ′
उसले वाक्य टुंग्याउनै परेन । ′ए, भुसुक्कै बिर्सेछु, एकछिन पख है ′ यसो भन्दै साहू भित्र कोठमा गयो र एकछिन पछि एउटा खाम ल्याएर नरमानको हातमा थमाइदियो । दंग पर्दै नरमानले खाम खोल्यो । खामभित्र एउटा रंगिन शुभकामना कार्ड थियो ।

Saturday, October 15, 2011

एउटा मृत्यु



हिँड्दाहिँड्दै
पाठका गोरेटाहरूमा
अल्मलियो

पृष्ठहरूमा चिप्लिएर ऊ लड्यो ।

चाहार्दा चाहार्दै
व्याकरण र अभ्यासहरूमा
बिर्सियो बाटो

अक्षरहरूमा ठोक्किएर ऊ लड्यो ।

डुल्दाडुल्दै
शब्द र वाक्यहरूमा
तिर्मिरायो

अनुच्छेदहरूमा बेरिएर ऊ लड्यो ।

खोज्दै गर्दा
सुनौलो भविष्य
पुस्तकका पन्नाहरूमा
रन्थनियो बेस्सरी

पन्नाको धारले सेरिएर ऊ मर्‍यो।