Pages

Monday, May 28, 2012

हिजोजस्तै आज पनि

हिजोजस्तै आज पनि

सखारै बासे भाले
लुके जुन– ताराहरू

उदायो न्यानो घाम पूर्व क्षितिजमा


एक्कासी सल्किएको आगोले
खरानी बनाए तापनि खोर
बास्न बिर्सेन भाले
ब्यूँझाउन जगत्
दिउँसै मडारिएर बादलले
छोपिए तापनि आकाशभित्र
उदाउन छाडेन सूर्य
बोलाउन बिहान



हिजोजस्तै आज पनि

चिर्बिराए चरी रूखका टोड्कामा
मुस्काए फूलहरू बगैँचामा


बेस्सरी चलेको हूरीले
भत्काए पनि गूँड
चिर्बिराउन भुलेन चरी
गाउन जीवन–गीत
खसेर पहाड पहिरोले
पुरिए पनि बगैँचा
मुस्काउन छाडेन फूल
जगाउन विश्वास

हिजोजस्तै आज पनि
सखारै बासे भाले
लुके जुन– ताराहरू

उदायो न्यानो घाम पूर्व क्षितिजमा ।