Pages

Monday, May 4, 2020

चिन्टुको एक दिन : लकडाउन साहित्य -२


चिन्टु बिहान समयमै ब्युँझियो तर उसलाई उठ्ने जाँगर चलेन ।
"उफ् कसरी दिन बिताउने होला ?" सम्झँदा मात्र पनि उसलाई दिक्क लाग्यो ।
दुई चार दिन भयो, चिन्टुलाई दिक्क लाग्न थालेको । स्कूल बिदा भएको धेरै भयो । घुम्न जाने ठाउँ सबै बन्द छन् । घर अगाडि खेल्ने चौर सुनसान छ । 
"दिनभरी के गरेर बस्ने होला ?" फेरि चिन्टुले सोच्यो ।
टिभी कत्ति हेर्नु ? घरको झ्यालबाट सुनसान सडक कति नियाल्नु ? घरमा भएको एउटा पुन्टे बल कति उफार्नु ?
"साथीहरु के गर्दै होलान् ?" चिन्टुलाई जान्न मन लाग्यो ।
चिन्टु जुरुक्क ओछ्यानबाट उठ्यो ।
उसले महेशलाई सम्झ्यो र फोन गर्‍यो, "ओइ महेश, उठिसकेको हो ?"
महेशले भन्यो, "अँ, म त अघि नै उठेको"
"अनि अहिले के गरिरा'को त ?" चिन्टुले सोध्यो ।
"म त मम्मीलाई भान्सामा सघाइरा'को" महेशको कुरा सुनेपछि चिन्टु भान्सामा गयो । मम्मी तरकारी केलाइ राख्‍नुभएको थियो । चिन्टुले पनि तरकारी केलाइदियो । मम्मी छक्क पर्दै चिन्टुलाई हेरिरहनुभयो ।
खाना खाइसकेपछि चिन्टुलाई फेरि बोर लाग्यो, "अब दिन कसरी बिताउने होला ?"
"रमेश के गर्दै होला" यो सोचेर उसले रमेशलाई फोन गर्‍यो, "रमेश के छ, के गरिरा'को ?"
"म त कोठा सफा गरिरा'को" रमेशले भनेपछि चिन्टुले आफ्नो कोठा हेर्‍यो ।

"छ्या, कोठा त सारै फोहोर पो भएछ त" आफ्नो कोठा चिन्टु आफैँलाई फोहोर लाग्यो । चिन्टुले खाटमा भएको लुगा किलामा झुन्ड्यायो । मम्मीले हिजो धोइदिनुभएको लुगा पट्याएर दराजमा राख्यो । ओछ्यान मिलायो । किताब, कापी, कलम सबै मिलाएर राख्यो । कुचो ल्याएर कोठा बढार्‍यो । कोठा सफा भएपछि चिन्टु भर्खरै मिलाएको ओछ्यानमा एक छिन पल्ट्यो । उसलाई आनन्द लाग्यो ।
एकछिन आराम गरेपछि चिन्टुलाई फेरि दिक्क लाग्यो, "भर्खर दिउँसो हुँदैछ । अझै पूरा दिन कसरी बिताउने होला ?"
चिन्टुले वर्षालाई फोन गर्‍यो, "वर्षा, तिमी के गरेर दिन बिताउँदैछौ ?"
"अँ, म त लुगा धोइरा'को" वर्षाले भनी ।
चिन्टुले आफ्नो लुगा हेर्‍यो । अस्ति भर्खर लगाएको सर्ट फोहोर भइसकेछ ।
चिन्टुले बाल्टिन निकाल्यो । लाइरा'को सर्ट फुकाल्यो र बाल्टिनमा राख्यो । चिन्टुले लुगा धुने साबुन खोज्यो । मम्मी चुपचाप हेरिरहनुभएको थियो । चिन्टुले धेरै बेरसम्म पनि साबुन नभेटेपछि मम्मीले साबुन ल्याएर चिन्टुको अगाडि राखिदिनुभयो र आफ्नै काममा लाग्नुभयो । चिन्टुले सर्टमा साबुन लायो, मिच्यो र पखाल्यो । लुगा सुकाउने बेलामा उसको आँखा गमलामा पर्‍यो । गमलाको फूल ओइलाउन लागिसकेको थियो । उसले गमलामा पानी हाल्यो । यतिन्जेलसम्म साँझ परिसकेको थियो । चिन्टु फेरि भान्सामा गयो । मम्मीलाई खाना बनाउन सघायो । खाना पाकिसकेपछि मम्मी, बाबासँग बसेर खाना खायो ।

चिन्टु एकछिन टिभी हेर्न बस्यो । आज दिनभरी टिभी नहेरेकोले होला उसलाई रमाइलो लाग्यो । एकैछिनमा सुत्ने बेला भयो ।
"अहो, आज त कति सजिलै दिन बितेछ" ओछ्यानमा पल्टँदै चिन्टुले सोच्यो । बिदामा बिताएको दिनमध्ये चिन्टुलाई आजको दिन सबैभन्दा रमाइलो लाग्यो ।