
ऊ ब्युँझियो
उठ्यो
आँखा मिच्यो
हाइ काढ्यो
र
सोच्न थाल्यो
अब के गर्ने ?
घोरिएर सोच्यो,
टोलाएर सोच्यो,
आँखा चिम्लिएर सोच्यो
कसरी सुरु गर्ने यो बिहान ?
सोच्दासोच्दै
नाडीको घडी हेर्यो
कटिसकेछ बिहान
सुरु भैसकेछ दिन
उसले फेरि सोच्यो
अब के गर्ने ?
उठेर सोच्यो,
बसेर सोच्यो,
पल्टिएर सोच्यो
कसरी उपयोग गर्ने यो दिन ?
सोच्दासोच्दै
भित्ताको घडीमा आँखा ठोक्किए
ढलिसकेछ दिन
भैसकेछ साँझ

उसले अझै सोच्यो
अब के गर्ने ?
एकोहोरो सोच्यो,
आरामले सोच्यो,
बेचैनीले सोच्यो
कसरी जोगाउने यो साँझ ?
सोच्दासोच्दै
झ्यालबाट चिहायो बाहिर
छाइसकेछ अँध्यारो
परिसकेछ रात
ऊ पल्टियो ओछ्यानमा र
फेरि सोच्न थाल्यो
अब के गर्ने ?
सोच्नै नपाई
आँखा लागे र
ऊ
भुसुक्क निदायो ।
(सोच्दासोच्दै ढिलो भएछ ब्लग अपडेट गर्न । सोच्दैछु, अब के गर्ने ?)
1 प्रतिक्रिया:
धेरैले भोगेको यथार्त हो यो एकल यात्री जी। राम्रो लाग्यो।
Post a Comment