Pages

Monday, December 27, 2010

जन्मदिन र शुभकामना





एकाबिहानै मोबाइलमा message को टोन बज्यो । आँखा मिच्दै पढ्ने कोसिस गरेँ, 'happy birthday'। मोबाइललाई थिचेर सिरानीमुनि फेरि निदाउने कोसिस गरेँ । मोबाइलको क्यार् क्यार् रोकिएनँ । उठेँ, हाइ काढ्दै र लागेँ नित्य कर्ममा ।
बिहानै उठेर net बाट चियाउने बानी नै भैसक्यो । अनुहारलाई पानीले पखालेर कम्प्युटर अघिल्तिर बसेँ र सुरु गरेँ नयाँ दिनको यात्रा facebook.com बाट । log in गरेको के थिएँ, message र notification को थुप्रो लागेको रहेछ । पहिलो message मा click गरेँ । लेखिएको थियो, 'happy birthday'। पढ्दै जान्छु त सबैजसो message मा उही कुरो । ह्या, दिक्क लाग्यो । message लाई छोडेर लागेँ प्रोफाइलतिर । आफ्नो wall देखेर ट्वाल्ल परेँ । screen मा देखिने जति wall 'happy birthday'ले भरिएको रहेछ । मैले के गर्दिएको थिएँ र मेरो जन्मदिनमा यति खुसी भएका यिनीहरू ?
सोच्दासोच्दै आफैँभित्र हराएँ । मैले केही मेहनत नगरिकनै २६ वसन्त पार भैसकेछन् । पृथ्वीमै बसेर सूर्यलाई २६ फन्का मारिसकेछु । तर यसमा मेरो थोप्पो देन छैन । मलाई हुर्काउन आमाले दुःख झेल्नुभयो । बुबाले कष्ट सहनुभयो । दाइले मेहनत गर्नुभयो । म मूला, बसी बसी २६ वर्ष कटाएछु । खायो, खेल्यो, बढ्यो, त्यत्तिकै उमेर चढ्यो ।
सोचेँ, खुसी हुनुपर्ने गरी मैले केही गरेकै छैन । भनौँ, गर्न भ्याएको छैन वा गर्न पाएको छैन । अझ भनौँ, जे गर्नुपर्थ्यो, त्यो गर्न सकेकै छैन । अझ पनि आमाकै काखमा हुर्किरहेको छु । बुबाकै छत्रछायाँमा बढिरहेको छु । छोरा भएर न छोराको कर्तव्य पूरा गर्न सकेको छु । न त मानव हुनुको नाताले नै कुनै जिम्मेवारी वहन गर्न सकेको छु । बलिया भएका छन् पिँडौला, दरा भएका छन् पाखुरी, तर उपयोग गर्न सकिएकै छैन ।
नलडेको हैन, लडिरहेकै छु । नहिँडेको हैन, हिँडिरहेकै छु । तैपनि लक्ष्य भेटेकै छैन । सपनाको प्यास मेटेकै छैन । अनि जन्मिएको सार भेटिएकै छैन भने उमेर चढ्दैमा किन रमाउनु ? शरीर बढ्दैमा किन खुसी मनाउनु ?




कुनै ठूलो दुर्घटना टरेर हैन
काल टाउकैबाट तल झरेर हैन
गम्भीर रोगबाट मुक्त भएर पनि हैन
जन्मेर ठूलै उपलब्धि पाएर पनि हैन
साथीहरू खुसी छन् मात्र म धरतीमा झरेकोमा
साथीहरू दंग छन् मात्र मेरो जन्मदिन परेकोमा ।

व्यथाले छट्पटिँदा मेरी आमा
साथ दिने क्वै थिएन,
धरतीमा पाइला टेकेको दिन
शुभकामना जन्मदिनको कसैले दिएन

आज
'Happy Birthday' भन्दा कसैले,
आफैँले भुलिसकेको
आफ्नो उमेर गन्दा कसैले
खुसी हुनुपर्थ्यो मन,
खुसी हुनै मानेन
प्रत्यूत्तरमा एकवचन
'Thank U' भन्न जानेन ।

खाएरै, खेलेरै बढ्यो ज्यान,
समयसँगै चढ्यो उमेर,
उमेरसँगै प्रगति भएकै छैन
आफ्नै लागि संघर्ष गरिरहँदा
बन्न भ्याइएन बाआमाको लाठी,
उनका दुःख अझै गएकै छैन

आमाले चाहेजस्तो
छोरा बन्न सकेको छैन अझै
ठाडो पारेर बाबुको शीर
‘म छोरा’ भन्न सकेको छैन अझै
दाजुको हात समातेर हिँड्न सिकियो
बाँकी बाटो खन्न बाँकी नै छ
भाइलाई देखाउन नयाँ बाटो
आफैँ उदाहरण बन्न बाँकी नै छ

सपनाहरू थाँती छन् कैयौँ
अझै पूरा भएकै छैन
यात्रा थालेको वर्षौँ भयो
लक्ष्य अझै पाएकै छैन

बित्दै जान्छ समय,
बढ्दै जान्छ उमेर,
उमेरले मात्र आफूलाई
बूढो बनाएर के गर्नु ?
जन्मिएको सार
भेटिएको छैन अझै,
व्यर्थै खुसी मनाएर के गर्नु ?

3 प्रतिक्रिया:

Anonymous said...

निरज सिर तपाई को जन्म दिन को कहानी अनि जीवन को कथा पदर क्या मज्जा लग्यो अनि राम्रो लग्यो अरु अरु पनि येस्तई लेख लेखेर हामी लै पदने मौका मिल्ने छ जस्तो लागेको छ

RRijal said...

समानान्तर सोच !

krinuka63 said...

nice .... keep it up

Post a Comment