Pages

Thursday, November 11, 2010

ट्रायल, सिसिटीभी र लेनदेनका कुरा

(हुन त सरकारी कार्यालयमा हुने लेनदेनका कुरामा हामी भुक्तभोगी छौँ । त्यसमा पनि यातायात विभागमा सुरुमा पसेर फर्म भरेदेखि लाइसेन्स लिने अवस्थासम्म सबैजसो काम कार्यालयबाट भन्दा पनि कार्यालबाहिरबाट हुन्छ, जहाँ पाइला पाइलमा पैसा तिर्नुपर्छ । लाग्छ, सडकपेटीमा पसल थापेर बस्नेहरू नै कर्मचारी हुन् । त्यहाँ सेवाग्राही सेवा किन्नुपर्छ, अतिरिक्त मूल्य तिरेर। केही special case हरू पनि छन्, जहाँ लेनदेनबाटै असफललाई सफल बनाइन्छ, अयोग्यलाई योग्य ठहर्‍याइन्छ । यहाँ त्यसैसँग सम्बन्धित मेरा आफ्ना भोगाइ मात्र पोख्ने जमर्को गर्दैछु ।)



कुरा चार महिना अघिको ।
पास हुने कुरामा ढुक्क थिएँ, त्यसैले नतिजा हेर्न पनि गइनँ । बाइक लाइसेन्स लिनको लागि लिखित परीक्षा पछि अब बाँकी थियो ट्रायल । अभ्यास गरिरहेकै हो । ट्रायलको अघिल्लो दिन झनै दरोसँग अभ्यास गरियो । भोलिपल्ट बिहान सबेरै बाइक निकालेँ । दुई/चार राउन्ड अभ्यास गरेपछि ढुक्क भएर ट्रायल दिन गएँ । पूरा आत्मविश्वासका साथ ट्रायल दिन साझा यातायात भवन परिसर पुल्चोकमा पुगेको थिएँ । अघिल्ला केही साथीहरू असफल भएको देखेर हो कि मेरो आत्मविश्वास अलिकति खस्क्यो । पत्तै नपाई आफ्नै पालो आइसकेछ । इशारा गर्न नपाउँदै बाइकलाई दरोसँग अगाडि बढाएँ । पहिलो पोल मज्जासँग कट्यो । दोस्रो पोल कटाउन मोड्न खोज्दै थिएँ, बाइक गुड्नै मानेन । घ्याच्च रोक्यो । बाइकलाई घिच्याउँदै फर्काएँ ।
साथीहरूले दरै स्वागत गरे “पास भइस् हैन त ?”
‘केको पास हुनु ?’ मनमनै बोलेँ ।
खिस्रिक परेको अनुहार देखेरै साथीहरूले बुझिसकेका थिए । एक जना पड्किए, “तँलाई पैल्यै भनेको हैन, confidence नभए मलाई भन् भनेर । अलिकति खुवाएको भए त त्यसै पास हुन्थिस् ।”
अर्का बोले, “यसको बाइकले धोका दिएको हो । बाइक मात्र भाडामा लिएको भए पास हुन्थ्यो । अब तीन महिनापछि चाहिँ यहीँको बाइकले दे ।”
म अक्क न बक्क परेँ, “कसरी कुर्नु तीन/तीन महिना ? आफूलाई लाइसेन्स नभइ भा’छैन ।”
“पख्, पख्” पहिले बोल्यो, “मैले चिनेको एक जना साथी छ । त्यसले तीन महिनाभन्दा अघि नै मिलाउन सक्छ । तर अलिकति खुवाउनुपर्छ नि ।”
‘पैसा खुवाएर ? अहँ, हुँदैन’ एक मनले सोच्यो । फेरि सोचेँ,‘‘आखिर तीन महिना कुर्नुभन्दा त पैसा खुवाएरै भए पनि अगाडि नै निकाल्न पाए ... ।’
“ल, साथीलाई contact गर” मैले बोलेँ ।



साथीले साथीलाई फोन गर्‍यो । के–के कुरो भयो कुन्नि, ठुस्स परेर बोल्न थाल्यो, “मिल्दैन रे । अहिले त computerized system छ रे । सबैको रेकर्ड हुन्छ रे । तीन महिना अघि त मिल्दै मिल्दैन रे ।”
ठीकै छ । अब तीन महिनै कुर्नुपर्ला । एक मनले सन्तोष मान्यो, धन्न पैसा खुवाउनु त परेन ।
कैले तीन महिना पूरा होला भनेर कुर्दै बसेँ । बीचमा सुनियो, अब त सिसिटीभी कि के जातको टीभी पनि राख्या छ रे । पत्रिकाले लेखे, अनि रेडियो र टीभीले फुके अब ट्रायलमा झेली हुँदैन रे । मलाई भने खुसी नै लाग्यो । झेली कतै पनि हुनुहुँदैन । तर आफैँले पैसा खुवाउन तयार भएको सम्झेर अलिकति लज्जित पनि भएँ, आफैँसँग । एक/दुई दिन गर्दै त्यो दिन पनि फ्याट्ट आइपुग्यो । त्यो दिन अर्थात् फेरि ट्रायल दिने दिन । दगुरेँ यातायात विभाग बिहान खानै नखाई । बाहिर फर्म बजारबाट फर्म किनेँ र भरेँ । Blood group थाहा थियो । कागज कता हराएछ । त्यो पनि किनेँ । चाहिने कागजात बोकेर गेटमा देखाउँदै भित्र पसेँ । लाइन त तन्किसकेछ ।
एउटा केटो मेरो पछि पछि आयो ,“ए दाइ, छिटो गर्ने भए यता आउनूस् ।”
त्यसको खाने दाउ बुझ्न गारो परेन । “हैन, ढिलै भए नि हुन्छ” मैले मानिनँ ।
“एक/दुई घन्टामा सिध्दिँदैन यो लाइन” त्यल्ले तर्साउन खोज्यो ।
“मसँग दिनभरी टाइम छ” म पन्छिन खोजेँ ।
केटो जिल्लियो र बाटो लाग्यो । एक पछि अर्को लाइन । लाइनैपिच्छे मान्छे पछि लाग्थ्यो । बल्ल बल्ल काम सिध्याएर फर्केँ ।
भोलिपल्ट लिखित परीक्षा पनि दिएँ । परीक्षा दिएर झरेको मात्र थिएँ, एक जनाले च्याप्प समात्यो ।
“दाइ, exam दिएर आउनुभा हो ? कस्तो भो ?”
“अँ, गज्जब राम्रो भो ।” गमक्क पर्दै बोलेँ ।
“ट्रायलको लागि हामीसँग एक से एक बाइक छन् । आउनूस्, कुरा गरौँ ।”
“अहँ, पर्दैन । म आफ्नै बाइकले दिने हो” म तर्किन खोजेँ, त्यो मोरो फर्किन मान्दैन, “आउनूस् न हेरौँ । हेरेर के बिग्रिन्छ ?”
“हो त, हेर्दैमा के नै बिग्रिन्छ र ?”
म उसैलाई पछ्याउँदै गएँ । सडक पारी एउटा सटरमा पस्दै बोल्यो, “यै हो, हाम्रो अफिस, बस्नूस् ।”
“हैन, नबसौँ । बरु खै हेरौँ न, कस्तो छ तपाईँको बाइक ?”
“पैला बस्नूस् न ।”
नबसी सुखै भएन । थचक्क बसेँ सोफामा ।
“खै हेरौँ न त अब ।”
“अहिले बाइक छैनन्” लाज पचाउँदै त्यो बोल्न थाल्यो, “सबै ट्रायलमा गा’छन् ।”
“अनि के हेर्न बोला’त ?” म पड्किएँ ।
“हेर्नूस्, हाम्रो बाइकमा क्लज समाउनु पर्दैन । स्टार्ट बन्द हुँदैन । एक पटक गुडेपछि सरर्र ... पास ।”
“मसँग आफ्नै बाइक छ” मैले अनिच्छा व्यक्त गरेँ ।
“बाइक भाडामा मात्र लिने हो भने ५०० । तपाईँलाई confidence छैन भने हामी सिकाउँछौँ पास हुने गरी । त्यसको लागि १००० । हैन म पासै हुन सक्दिनँ भन्ने लाग्छ भने २५०० लाग्छ ।”
मैले केही बुझिनँ ।
मोरोले दोहोर्‍याको दोहोर्‍याकै छ “बाइक भाडामा मात्र लिने हो भने ५०० पर्छ । १००० दिनुहुन्छ भने तपाईँलाई पास हुने गरी सिकाउँछौँ पास । २५०० दिनुभयो भने पास भए नि फेल भए नि लाइसेन्स तपाईँको हातमा ।”
मोरोको कुराले दिमाग तिर्मिरायो । झनै confused भएँ ।
“सिसिटीभी भन्ने चीज राख्या छ रे नि त । अनि फेल हुनेले कसरी पाउँछ लाइसेन्स ?” प्रश्न भूईँमा झर्न नपाउँदै मोरो बक्न थाल्यो, “तपाईँ २५०० दिनुहुन्छ भने तपाईँको दर्ता नं. पठाइदिन्छौँ हाम्रो मान्छेको भनेर । तपाईँको पालोमा सिसिटीभी बन्द गर्दिन्छन् । अनि फेल भएर के भो र ?”
कुरो सुनेर ट्वाँ परेँ । थुइक्क सिसिटीभी ! सिसिटीभीले समेत आफ्नो धर्म पालना नगरेपछि अरुले के गर्लान् त । आखिर मान्छेको बेइमानीको अघिल्तिर प्रविधि पनि झुक्नु पर्दो रहेछ ।




“दिने हो २५०० ?” मोरोले कानैमा चिच्यायो ।
“नदिने” म जुरुक्क उठेँ ।
“अहिले दिनु पर्दैन । अहिले तपाईँको कागज मात्र छोड्नुभए हुन्छ । लाइसेन्स हात परेपछि मात्र पैसा तिर्दा हुन्छ । कागज छोडेर जानूस् न ।”
“छाड्दिनँ ।” म खुरुक्क हिँडेँ । मोरो अझै बोल्दै थियो कि कुन्नि, म फटाफट बाटो लागेँ ।
ती दलालले (शब्द चयनमा गल्ती भए माफ गर्नुहोला) भनेका कुरा बाटोभरि मनमा आइरह्यो । आत्मविश्वास एकाएक घट्न थाल्यो ।
“हेर्नूस्, एक पल्ट ट्रायल फेल भए तीन महिना कुर्नुपर्छ । किन कुर्नुहुन्छ ? बरु हामीले भनेको मान्नूस्, ढुक्क हुनूस् ।”
साँच्चै त्यसै गर्नुपर्‍यो कि क्या हो ? पाइला फेरि फर्किन खोजे, बल्ल बल्ल रोकेँ, “हुँदैन, हुँदै हुँदैन । पैसा खुवाउनु बेइमानी हो, सरासर बेइमानी । बरु अर्को तीन महिना कुरौँला । नभए छ महिना, १ वर्ष... । तर म बेइमानी गर्दिनँ ।”
फर्किने बित्तिकै बाइक निकालेँ र ट्रायल अभ्यासतिर लागेँ । राम्रै भयो । आत्मविश्वास फेरि दरो भयो । ट्रायलको दिन बिहान बाइक कुदाएँ, साझा भवन पुल्चोकमा । ६ बजे बोलाइएको थियो । एकछिन अभ्यास गरेर आइपुग्दा ढिलो भैसकेको थियो । तर अझै ट्रायल सुरु भैसकेको रहेनछ ।
त्यहाँ पनि दलाल मोराहरूले घेर्न छाडेनन्,“यो बाइक try गर्नूहुन्छ ?”
बल्ल बल्ल उम्किएँ र हाजिरी गरेर लाइनमा बसेँ । त्यही बेला चारैतिर आँखा डुलाएँ, हैन कता छ त्यो सिसिटीभी ? मैले देखिनँ । ह्या, यत्रैसित्ति त्यो भए पनि के नभए पनि के ? विचरा, निरीह सिसिटीभी कतै मुन्टो लुकाएर बसेको होला ।
ट्रायल सुरु मात्र भएको थ्यो, मेरो पालो आउन कत्ति बर लागेन । बाइक गुडाएँ । यसपालि बाइक कतै रोकेन, कतै अल्झेन । सरासर सबै पोल कटाएर पार भयो ।
सफल भएँ ट्रायलमा, यो त्यत्ति ठूलो कुरो होइन । तर मैले जितेँ, डरलाई आत्मविश्वासले । बेइमानीलाई इमानले ।
जय इमान, जय स्वाभिमान ।




2 प्रतिक्रिया:

Post a Comment