Pages

Monday, April 25, 2022

स्व विवेक

निर्माण बीचमै रोकिएर अलपत्र परेका सडक । उद्घाटन मात्र गरेर बन्दै नबनेको अस्पताल । दुइटा सरकारी विद्यालय र च्याउसरी निजी स्कूल । सहर बन्दा बन्दै बन्न नसकेको राजधानी भन्दा अलि परको एउटा गाउँ । त्यही गाउँमा बस्ने गोपीलाल । कपाल अलि अलि फुलेको । निधार हल्का चाउरिएको । वर्षौ साहूको घरमा काम गरेर केही वर्ष सरकारी कार्यालयमा करारको जागिर खाएर खाली हात अवकाश पाएपछि ज्याला मजदुरी गर्दै आएको गोपीलाल
***

एकाबिहानै कसैले गोपीलालको घरको ढोका ढक्ढक्यायो ।

को हो यति सबेरै ? उसले ढोका खोल्यो । मान्छेहरुको भीड थियो । त्यो भीडको बीचमा एउटा अग्लो अधबैंसे मान्छे थियो ।

नमस्कार बा उसलाई ढोगूँला जस्तो गरेर त्यो अग्लो मान्छेले मुसुक्क हाँस्दै उसलाई अभिभावदन गर्‍यो । गोपीलालले झल्यास्स सम्झियो । चुनाव पो आइसकेछ ।

यसपालि यो पार्टीबाट म उठेको छु । यो पटक पनि हामीलाई भोट दिनुहोला । यो पाली हामीलाई  जिताउनु भयो भने तपाइँले अब धूलो उड्ने सडकममा हिँड्नु पर्दैन ।

एकैछिन अघि पसल गएर आएको गोपीलाले आफ्नो कपडा हेर्‍यो । पसलबाट फर्किँदै गर्दा गाडीको चक्काले फ्याँकेको सडकमा जमेको पानीले उसको एक पाखा लपक्कै भिजेको थियो ।

तपाइँका छोराछोरीलाई स्तरीय व्यावसायिक शिक्षा दिएर रोजगारको व्यवस्था गर्नेछौं अग्लो मान्छे बोलिरह्यो ।

उसले सम्झियो, डेढ महिना अघि विदेश उडेको छोरो बेखबर छ ।

तपाइँ र तपाइँको परिवारले नि:शुल्क उपचार पाउनुहुनेछ । उपचार नपाएर कोही मर्ने छैन ।

पानी १ हप्तादेखि थला परेकी उसकी श्रीमती पातलीको आवाज सुनेपछि गोपीलाल भित्र दौडियो । भोट माग्न आको अधबैंसे मान्छे पनि सँगसँगै पसेर कोठाको ढोकामा उभियो ।  

सुन्यौ पातली अब उपचार नपाएर हामीले मर्नु पर्दैन रे । बिमार पातलीले पुलुक्क ढोकामा उभिएको अग्लो मान्छेतिर हेर्‍यो ।

आमा नमस्कार अघि जस्तै शिर निहुराउँदै त्यो मान्छेले नमस्कार गर्‍यो । पातली फनक्क भित्तातिर फर्किई ।

कोटभित्र हात राखेर त्यो अग्लो मान्छेले केही झिक्यो र गोपीलालको हातमा राखिदिँदै भन्यो आमाको राम्ररी उपचार गर्नु

गोपीलाले हेर्‍यो । उसको हातमा हजार रुपैयाँको नोट थियो । उत्निखेरै मिल्काइदिऊँ लागेको थियो उसलाई त्यो पैसा । तर ओछ्यान परेको पातलीको अवस्थाले उसलाई रोक्यो ।

भोट चाहिँ यो चिन्हमा है हजुर नमुना मतपत्र हातमा थमाउँदै नमस्कार गरेर भोट माग्न आको त्यो अग्लो अधबैंसे मान्छे फर्कियो ।

पातली उठ्न हिँड्न सक्दिनथी । गोपीलाल दौडिएर औषधी पसलमा गयो ।

बिरामी खोइ ? औषधी पसलेले सोध्यो ।

ऊ हिँड्न सक्दैन भन्दै गोपीलालले पातलीको बिमारको बारेमा बेली बिस्तार लगायो ।

यो बिहान र बेलुकी खानापछि । दिउँसो खाजापछि दिनको ३ पटक एक हप्तासम्म बिरामीलाई खुवाउनु हातमा औषधी राखिदिँदै पसलेले बोल्यो ।

अलिकति मुख बिगार्दै ऊ औषधी बोकेर आयो । खाना पकायो । पाकेपछि दुई भाग लगायो । पहिला पातलीलाई खुवायो । खानापछि औषधी खुवायो । उसलाई तीन छाक खानापछि औषधी खुवाउनु भनिएको थियो । तर पातली बिमार भएदेखि ऊ काममा गएको थिएन र घरको चामल बचाउन दिनको एक छाक खाने गरेका थिए । पातलीले औषधी पनि दिनमा १ पटक मात्र खाई ।

****

निको होला भन्ने आश गरेको पातली झन् झन् बिमार हुँदै गई । औषधी अर्कै परेछ कि भनेर गोपीलाले औषधी रोकिदियो । अर्को दिन फेरि अर्को हूल आयो उसको घरमा । भोट मागे र त्यसै गरी उसको हातमा केही पैसा राखर हिँडे । अब चुनावसम्म खानको दुःख नहोला कि भन्ने सोचेर बिहान बेलुकी नै खाना खान थाले । पातली बिस्तारै तंग्रिँदै गई ।

दिनदिनै फरक फरक मान्छे आए हूल बाँधेर कसैले भोज खान निम्तो गरे । कसैले कपडा ल्याएर दिए ।

*****

पहिलो पटक गोपीलालले २०३६ सालको जनमत संग्रहमा आफ्नो मताधिकारको प्रयोग गरेको थियो । त्यसपछि २०४८ सालदेखि प्रत्येक निर्वाचनममा आफ्नो मतको अधिकार उनले स्व विवेकले प्रयोग गर्‍यो । उसले धेरै पार्टीहरूको सरकार हेर्‍यो । धेरै शासन व्यहोर्‍यो । पञ्चायती शासन ढल्यो । बहुदल आयो । राजतन्त्रात्मक शासन गयो । गणतन्त्र आयो । तर उसको दिन फिरेन । प्रजातन्त्रपछि प्रत्येक निर्वाचन अघि उसको घरको दैलोमा भोट माग्न आउनेहरुको लर्को लाग्थ्यो । उसको कुनै पार्टी छैन । ऊ कुनै पार्टीको सदस्य होइन । एउटाले राम्रो गरेन, अर्को चुनावमा उसले अर्कोलाई भोट दियो । तर जसले जिते पनि उसको दुःख जस्ताको तस्तै रह्यो । सुरु सुरुमा अरुको पछि लागेर हाले पनि भोटको महत्त्व बुझेपछि उसले आफ्नै विवेक प्रयोग गर्‍यो । कसैका कुरा उसले सुनेन । कसैको पछि ऊ लागेन । जसप्रति अलिकति आशा थियो, उसैलाई भोट दिने गर्थ्यो । चुनावको बेलामा उसको मुहारमा छुट्टै चमक आउँथ्यो । चुनावको नतिजामा ऊ पनि कैयौं पल्ट विजय जुलुस गएको छ । तर उसको अनुहारको चमक जसरी आउँथ्यो, त्यसरी नै हराउँथ्यो ।


****

चुनावको दिन ।

आज त भोट हाल्न जाने होला नि ? वितृष्णाको भावले गोपीलालतिर हेर्दै पातली बोली ।

जाने नि निश्चिन्त भएर गोपीलाल बोल्यो, आफ्नो अधिकार हो । पाएको अधिकार किन छोड्ने ?

गोपीलाललाई राम्ररी थाहा छ, पातलीलाई भोट मन पर्दैन, चुनाव मन पर्दैन । अझ नेतालाई त ऊ सारो घृणा गर्छे । पातलीका बाबु पनि बाँचुञ्जेल राजनीतिमा लागेका हुन्  नेताको पछिपछि कार्यकर्ता भएर । अन्तत: राजनीतिले नै उसको जिन्दगी खायो । गोपीलाललाई सबै कुरा थाहा छैन । उसले राम्ररी सोधेको पनि छैन । पातलीले प्रष्ट भनेकी पनि छैन । धेरै कुरा थाहा नपाए पनि गोपीलालाई के थाहा छ भने उसले पातलीलाई भोट हाल्नको लागि मनाउन सक्नेछैन ।

खाना खाइसकेर गोपीलाल दराजबाट ढाका टोपी झिक्छ र लाउँछ । ऊ भोट दिन जानको लागि तयार हुन्छ । ढोकैनेर पुगेर फेरि फर्किन्छ र बस्छ । यो पालि कसलाई भोट दिने ? कुन पार्टीलाई भोट दिने ? कुन चिन्हमा छाप लाउने ? उसले सोचेकै थिएन । उसले आफ्नो सर्टको गोजी छाम्छ र नमुना मतपत्र झिकेर भूइँमा राख्छ । एक टुक्रा कागज लिन्छ र कलमले केही लेख्न्न थाल्छ ।

……………… पार्टी         ४०००।रुपैयाँ

……………… दल         ४५००।रुपैयाँ

…………...…. मोर्चा         १०००।र एक बोरा चामल

………………….

…………………

यो एक महिनामा उसले पाएका उपलब्धिहरुको सूची तयार गर्छ । सधैं आफ्नो विवेक प्रयोग गर्ने ऊ यसपालि सूची हेरेर फलानो पार्टीलाई भोट दिने भन्ने निर्णय गर्छ र उठ्छ । आफैंसँग सन्तुष्ट नभए जसरी त्यो सूची पत्याउँछ र गोजीमा राखेर हिँड्छ भोट दिने ठाउँतिर ।



बुथ अगाडि लाइन लागिसकेको हुन्छ । ऊ लाइनको पुछारमा बस्छ । पैला पैला चुनावमा भोट हाल्ने बेलाममा जस्तो यो पालि उसको मुहारमा चमक छैन । लाइनमा भएका कसैको अनुहार पनि उसले हेरेन । वरिपरि बोलिरहेका मानिसहरूको कुरा पनि उसले सुनेको छैन । उसकै अगाडि उभिएको मानिस भोट हाल्न हिँडेपछि उसको मुटुको धड्कन एक्कासी बढ्न थाल्छ । वरिपरि नियाल्छ । भोट हाल्ने बुथ नेरै एउटा डिजिटल डिस्प्लेमा आइरहेको अक्षरहरुमा उसका आँखा दौडिन्छन् ।

भोट तपाइँको अधिकार हो । यसको उचित प्रयोग गर्नुहोला । तपाइँको भोटले तपाइँको भविष्य निर्धारण गर्नेछ ।

कसैको लहैलहैमा लागेर । कसैको लोभ वा दबाबमा परेर यसको दुरुपयोग नगर्नुहोला । अन्तरआत्माको कुरा सुन्नुहोला । मताधिकारको प्रयोगमा स्व-विवेकको प्रयोग गर्नुहोला ।'



ऊ आँखा बन्द गरेर बस्छ । त्यत्तिकैमा कसैले पछाडिबाट धकेल्छ । उसको पालो आइसकेछ भोट हाल्ने र आफ्नो भविष्य बनाउने नेता छान्ने । ऊ अगाडि बढ्न खोज्छ । उसलाई फलामको साङ्लोले खुट्टा बाँधेझैं लाग्छ । खुट्टा उचाल्न सक्दैंन । फेरि उसका आँखामा उही डिजिटल डिस्पेलका अक्षर नाच्न थाल्छन् ।

अन्तरआत्माको कुरा सुन्नुहोला । मताधिकारको प्रयोगमा स्व-विवेकको प्रयोग गर्नुहोला ।'

उसको मुटुको धड्कन झन् तेज हुन थाल्छ । अनुहारबाट पसिना आउँछ । गोजीमा हात राख्छ । अघि पट्याएर राखिएको कागज अँठ्याएर निकाल्छ । दुई हातले धुजा धुजा बनाएर भूइँमा फाल्छ ।

गोपीलाई फनन्क फर्किन्छ र भोट हाल्ने बुथतिर हेर्दै नहेरी आफ्नो घरतिर पाइला अघि बढाउँछ ।

१२ वैशाख, २०७९

 

 

 

 

2 प्रतिक्रिया:

Anonymous said...

यथार्थ अनि समसामयिक 🇳🇵🙏sir

Anonymous said...

यथार्थ छ यो रचना मा जनता हरु यस्तै अन्योल परेका छन् सधैं का झूठा आश्वासन र आफ्ना बाध्यात्मक स्थितिले ,धेरै ती सोझा साझा जनतालाई यस्तै पीडा त होला जुन यस रचना ले प्रष्ट पारिदिएको छ । समसामयिक रचना सर। रिङकी पंगेनी






Post a Comment