Pages

Thursday, November 20, 2008

विद्यार्थी, शिक्षक र 'गुरुजीको लट्ठी'

त्यतिबेला म स्कूले विद्यार्थी थिएँ, जब 'गुरुजीको लट्ठी' को जन्म भयो।
पिरियडै पिच्छे फरक–फरक गुरुहरू पस्थे कक्षामा। सबैसँग होइन, तर केहीसँग लट्ठी हुन्थे, हातमा। जब कुनै विद्यार्थी बिना गृहकार्य उपस्थित हुन्थ्यो कक्षामा, उसले सहनुपर्थ्यो, त्यो लट्ठीको पिटाइ। गृहकार्य नगर्दा मात्र होइन, कक्षामा साथीसँग थोरै कुरा गर्दा पनि खानुपर्थ्यो कुटाइ, 'हल्ला' गरेको निहूँमा। हुन त गुरुहरूको पिटाइ खासै खानु परेन मैले। मैले पाएको कुनै सजायको याद पनि छैन। तैपनि सँगैका साथी जो उभिन्थे बेन्चमाथि गृहकार्य नबुझाएकै कारणले र पाउँथे नीलडाम हातमा, तिनको आँखामा टिल्पिलाएका आँसुले मेरो चित्त पनि दुखेकै हो। मेरो मन पनि रोएकै हो।



कक्षामा 'ज्ञानी' 'अनुशासित' 'आज्ञाकारी' कहलिएको म गल्ती नै गर्दा पनि सजायँ माफ पाउँथे, 'अर्कोपल्ट गल्ती नगर्नू' भन्ने निर्देशनका साथ। त्यही बेला लागेको हो मलाई, कसरी फरक भएँ म साथीहरूभन्दा? कसरी भिन्न भएँ म आफ्नै classmateहरूभन्दा? कसरी अलग्ग भएँ म? कसरी? अनि उठेँ जुरुक्क बेन्चमाथि र भनेँ 'सर, आज मेरा पनि कापी खाली छन्। आज मैले पनि होमवर्क गरेको छैन सर।'

त्यो हिजोको दिन थियो। म उभिएको थिएँ, हात थापेर बेन्चमाथि। गुरु उभिएका थिए हातमा लट्ठी बोकेर मेरा अघिल्तिर।

आज म शिक्षक (गुरु) भएको छु, बोर्डिङको। मेरा हातमा लट्ठी छन् र मेरा अघिल्तिर उभिएका छन् विद्यार्थीहरू हात थापेर, केबल गृहकार्य नगरेको अपराधमा र कक्षामा 'हल्ला' गरेर अनुशासनहीन काम गरेको आरोपमा।


इमान्दार त थिएँ नै। त्यसामाथि घोटिएर, जोतिएर काम गर्दागर्दै पनि एक दिन स्कूल प्रशासनबाट सुन्नुपर्‍यो 'तपाईँको क्लास कन्ट्रोल भएन।' एकछिन भाउन्न भयो। 'क्लास कन्ट्रोल गर्न के गर्नुपर्ला?' गम खाएँ, कुनै उपाय सुझेन। लगत्तै अर्को क्लास थियो, पसेँ। मेरा आँखा परिहाले, केही विद्यार्थी 'हल्ला' गर्नमै तल्लीन थिए। रिसको झोँकमा उठ्न लाएँ बेन्चमाथि, थाप्न लाएँ हात र पिटेँ लट्ठीले भटाभट। एकैछिन अघि होहल्लामय क्लासमा अचानक शान्ति छायो, मुर्दा शान्ति। एकछिन सन्तोष लाग्यो, क्लास कन्ट्रोल भएकोमा। तर एकैछिनमा खङ्ग्रङ्ग भएँ, जब मेरा आँखा मेरो सजाय पाएका विद्यार्थीका आँखामा परे। हात छाम्दै घोप्टो परेका उनीहरूका आँखामा आँसु सल्बलाइरहेको थियो। हात काँप्यो, लट्ठी खस्यो, अनि सेलायो जोश।



जब सामान्य (normal) भएँ, सोच्न थालेँ– 'किन बोक्छन् लट्ठी गुरुहरू? किन पाउँछन् सजाय विद्यार्थीहरू?'
मन नमान्दा नमान्दै मैले पनि विद्यार्थी कुटेकै हूँ। हात काँप्दा काँप्दै मैले पनि लट्ठी हानेकै हूँ।
तर अब म सक्दिनँ।
सक्दिनँ म विद्यार्थी कुट्न 'क्लास कन्ट्रोल' गर्नकै लागि।
सक्दिनँ म लट्ठी बोक्न 'जागिर' जोगाउनकै लागि।

२०६५/०७/२४

2 प्रतिक्रिया:

बेदनाथ पुलामी ( उमेश ) said...

तपाईको लेखाइका दमहरु साह्रै राम्रो लाग्यो - यो पढेर मलाई खगेन्द्र संग्रौलाको याद आयो उनको लेखाइको शैली जस्तै । जेहोस क्युट छ ।

हावा De Wind said...

कुनै समय म आँफै पनि एक आदर्श शिक्षक नै भएको ले तपाईं को यो अनुभुती ठ्याक्कै मेरै जस्तो रहेछ

कक्षा कोठा कन्ट्रोल न हुनु मा गुरु को भन्दा पनि स्कुल मालिक को सानो ठाउमा धेरै बच्चाहरु कोचेर धेरै पैसा कमाउने प्रब्रिती जिम्मेवार छ

ठुला मानिस् त एकचिन हलचल नगरि न बोली बस्न गाह्रो हुन्छ भने बच्चाको के कुरा ?

मैले पनि कक्षा मा सकेसम्म कहिल्यै बिद्यार्थी कुटिन.. कुटे पनि आँफै लाई हिनताबोध हुन्थ्यो ..तर पनि कक्षा कोठा को सन्रचनागत सुधार नगरि नकुटी बिद्यार्थी कन्ट्रोल हुँदैनन भन्ने मेरो अनुभव छ

तेसैले मास्टर को जागिर कहिल्यै खानु नपरोस भन्ने मेरो चाहना छ

Post a Comment