Pages

Monday, January 19, 2009

आऊ Dear वार्ता गरौँ



तिमीले कुचो फाल्यौ, मैले जुत्ताले हानेँ

तिमीले डाडू उचाल्यौ, मैले जिस्केको ठानेँ

तिमी साँच्चै रिसाइछौ, भैगो अलि पर सरौँ

एक एक स्टेप तल झरौँ, आऊ Dear वार्ता गरौँ।





अस्ति मात्र झगडा भयो मोबाइलको स्क्रिन फुट्यो

हिजो अलि चर्कै पर्‍यो पछाडिको हड्डी टुट्यो

माफी दिऊँ एक अर्कालाई मन मुटुमा माया भरौ

रिस थामौँ एकैछिनलाई, आऊ Dear वार्ता गरौँ।



गको महिना फुटेको नाक बल्ल बल्ल निको भाछ

के के जात्रा उधुम भयो कि तिमीलाई कि मलाई था छ

सबै कुरा गोप्य राखौं अब घरमा शान्ति छरौं

डाडू फाल, कलम समाऊ, आऊ Dear वार्ता गरौँ।


लेखनः २०६४ पुनर्लेखनः २०८२

Thursday, January 1, 2009

कसरी दिऊँ शुभकामना ?



पूर्वको मधुरो घाम फेरिएकै छैन
बदलियो नारा तर काम फेरिएकै छैन
नयाँ केही भएकै छैन
पुरानो केही गएकै छैन
अनि कुन मनले व्यक्त गरूँ खुसी ?
गर्नु परेकै छ अप्ठेरोको सामना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?

जातीय, वर्गीय भेदभाव उही छ
गरीबी, भोकमरी र अभाव उही छ
शान्ति अझै हराएकै छ
थीर छैन मन डराएकै छ
विश्व बढेको छ जग बसाल्न चन्द्रमामा
हाम्रो युग फेरिएन, उही छ जमाना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?

उस्तै छ रीति, थिति बदलिएन
हटेन कुचलन, संस्कृति बदलिएन
सडकमा जिन्दावाद, मुर्दावाद छ अझै
पुरानै नेपालको स्वाद छ अझै
भत्काएर पुराना, नयाँ बनाउन
अझै बाँकी नै छ कोर्न योजना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
२०६५/०९/१७
(January 1, 2009)