Pages

Saturday, May 2, 2009

कविताको अन्त्य




बटुलेर अक्षरहरू
जोडेर एक आपसमा
एक कठ्याँग्रिँदो बिहान
चिसो हावाको विरुद्ध
कविता लेखेँ
रिसाएर हावा
आयो आँधी
र उडायो अक्षरहरू कविताबाट
अनि
हावामै कतै लुक्यो कविता ।

फुलिरहँदा फूल बगैँचामा
ओर्लेकै बेला वसन्त धरतीमा
फूलको रक्षार्थ
काँडाको विरुद्ध
कविता लेखेँ
झोक्किएर काँडा
रोपिए पन्ना पन्नामा
अनि
सहनै नसक्ने गरी
दुख्यो कविता ।

लेख्दालेख्दै उज्यालोको कविता
चर्कियो घाम
र पोल्यो अक्षरहरूलाई
अनि
घामकै पोलाइविरुद्ध
कविता लेखेँ
मुर्मुरिँदै घाम अझै तात्तियो बेस्सरी
पग्लियो अक्षर
अनि बाफिएर
सुक्यो कविता ।

5 प्रतिक्रिया:

Shekhar said...

त्यो उडेको अनी सुकेको शब्द अनी त्यसका भावहरु तपाईकै यो कविताका प्रत्ययक लाईनहरुबीच सयर गरिरहेको मैले पाएँ । व्यग्लै द्रष्टिकोणकोलागी धन्यवाद ।

दूर्जेय said...

हावामै कतै लुक्यो कविता
दुख्यो कविता ।
सुक्यो कविता।
वास्तबमा त्यस्तै छ। जे होस नरोहिकन सुक्यो कबिता।

च्याट्ठिने मान्छे said...

तपाईंका कविताहरुमा पनि बर्तमान प्रति असन्टुस्ती का स्वरहरु पाईन्छन । कवि पहिलो बिद्रोही हो । र त उसले कहिले हावामा अनी कहिले माटो मुनी सिर्जना का बिद्रोही बिउहरु लुकाएको हुन्छ । तर कविता कहिले मर्दैन साथी, बाफिएर सुके पनि बादल भएर एक्दिन फेरी बर्सिदिन्छ ।

एकल यात्री said...

सुके पनि कविता
कुनै एक दिन बर्सिनुपर्छ
कविताका विरोधी सबै
कवितैबाट तर्सिनुपर्छ ।

Milan said...

हावाले उडाए नि, कांडाले रोपे नि वा सूर्यको रापले पग्लिए नि...कबिता त कबिता हो ... कहाँ झुक्छ र सधै जुर्मुराई रहंदो रहेछ... यही कबितामा झै...

Post a Comment