Pages

Tuesday, February 23, 2010

थु ... थु ... थुइक्क !


उफ्, आज office जानु नपरे पनि हुन्थ्यो । फर्किँदाको गाह्रोले बिहान college पनि गइनँ । १/२ दिन पढाइ छुटे छुटोस् भन्ने लाग्यो । तर हिजो एक दिन office नजाँदा मोबाइलमा complain आइसक्यो । साथीहरूसँग ‘ job गर्छु ’ भनेर फूर्ति गर्नु मात्र त हो । साहूको काम न ठहरियो, कुन बेला निकालिन्छु, कल्लाई के थाहा ? तर म अझै केही दिन office जान सक्दिनँ । थुइक्क, यो कस्तो विवशता !
घरबाहिर निस्किने स्थिति नै छैन । साथीको note copy सार्न ल्याएकी, फिर्ता गर्न जानुपर्थ्यो। कसरी जानु ? देखिरा’छु झ्यालबाट, सडकका दायाँबायाँ लहरै, अनि चोकैमा हूल बाँधेर बसेका छन् केटाहरू हातमा लोला बोकेर । जब कुनै महिला त्यही बाटो भएर हिँड्छन्, केटाहरूको लोला बर्सिन्छ तिनमाथि । अनि सुरु हुन्छ भागदौड । थुइक्क, कस्तो विडम्बना !
भर्खर मात्र । भर्खर त हो, एउटी महिला त्यही चोकमा आइपुगिन् हिँड्दै । कताबाट एउटा लोला उनको ढाडैमा बज्रियो । सम्भावित अरु आक्रमणबाट बच्न उनले छिट्छिटो पाइला चालिन् । तर जब चारैतिरबाट लोला बर्सिन सुरु भयो, उनले नभागी सुख पाइनन् । त्यही बेला उनको चप्पल चुँडियो । उनी भूइँमा पछारिइन् । हातले थाम्ने कोसिस गर्दागर्दै उनको घूँडा नराम्ररी सडकमा जोतियो । उनले वरिपरि हेरिन् र तथानाम् गाली गरिन् -
‘तिमेर्लाई मुर्दार , तिमेरुका आमालाई लोला हान् । दिदी बहिनीलाई छ्याप पानी, किन छ्याप्छस् ए ... का छाउरा बाटोमा हिँड्नेलाई ....’
प्रतिक्रियामा हाँसो गुन्जियो तिनै लोला आक्रमणकारी केटाहरूको । बाँकी सब रमिते बने । उनी रुन मात्र सकिनन् । लडेको ठाउँबाट उठिन् र खुट्टा खोच्याउँदै आफ्नो बाटो लागिन् ।
‘ए हान् हान ...’ पछाडिबाट अझै आवाज आउँदै थियो । थुइक्क आवारा केटाहरू !


एकैछिनमा अर्की युवती टी–सर्ट र पाइन्टमा ठाँटिएर त्यही बाटो आइपुगिन् । केटाहरू हातमा लोला बोकेर तिनको पुट्ठालाई ताक्दै stand by भए । युवती निहुरिन् र सडकको ढुङ्गो टिपिन् । केटाहरू हच्किए र उनलाई नदेखेझैँ गरे । एक्कासी कुनै घरको छतबाट पानीको पोका झर्‍यो र कालो लेदो पानीले उनको स्नान गरिदियो । उनले रिसले आँखा देखिनन् क्यार, ढुङ्गा उचालिन् र माथितिर हुत्याइन् । कुन घरमा ढुङ्गा बज्रियो थाहा भएन, तर ‘झर्‍या‍म्म’ को आवाज टाढैसम्म प्रष्ट सुनियो । उनलाई सन्तोष लाग्यो शायद, गर्वको पाइला चालेर अघि बढिन् । वाह् ! उनको साहसको प्रशंसा गर्न मन लाग्यो । तर आफूमाथि घटेको हिजोको घटना सम्झिँदा आफैँमाथि दया लाग्यो । दिनभरि घरैमा भएकीले दिउँसोको घाममा नुहाएर साँझ तरकारी किन्न घरनजिकैको त्यही चोकको पसलमा पुगेँ । तरकारी किनेर फर्किँदै थिएँ, कसैले हानेको लोला मेरो हातैमा लाग्यो । हातमा समातेको झोला फुत्कियो र तरकारी भूइँमा छरिए । म चूपचाप तरकारी बटुल्न थालेँ । एउटा लोला मेरो टाउकैमा बज्रियो । टाउको फन्फनी घुम्यो । आँखा अगाडि अँध्यारो छायो । एकैछिन दुवै हातले टाउको समातेँ । अलि हल्का भएपछि कतै नहरी कुदेर घरभित्र छिरेँ । थुइक्क म लाछी, डरपोक !
मुटु अझै जोडले हल्लिरहेको थियो । स्वास छिट्छिटो चलिरहेको थियो । टाउको दुख्न छाडेको थिएन । यसो टाउको छामेँ । चोट त लागेको थिएन, तर टाउको छुनेबित्तिकै ह्वास्स दुर्गन्ध नाकैका ठोक्कियो । अनि फेरि कपडा खोलेर नुहाउन गएँ ।
यी सब घटना बाबजुद म कसरी जाऊँ office ? होली झन् झन् नजिकिँदै छ र सडकमा लोला आतंक बढ्दैछ । जागिर गए जाओस्, पढाइ बिग्रे बिग्रोस्, office, college कहीँ पनि जान्नँ । सडकमा लोला आतंक देखेर आफैँले संकटकाल घोषणा गरेँ र आफैँलाई नजरबन्द गरेँ घरभित्रै । यही बेला मनमा प्रश्न उब्जियोः कसले चलायो यो होली ? किन चलायो ? के यही हो त हाम्रो संस्कृति ? यही हो हाम्रो चाड ?
थु... थु... थुइक्क होली ।

6 प्रतिक्रिया:

Basanta said...

हाम्रो समाजको कुरुप यथार्थको सजीव चित्रण!
हामी किन यति परपीडक र क्रूर छौं?????

kiran khatri said...

ramro kura rahechaaaaa!

Dilip Acharya said...

थोरै शब्दमा धेरै कुरा अटाएको छ । समाज र समाजवासी हरुको भिन्न सोच र मानसिक चित्रणको एकदमै सन्तुलित प्रस्तुती !

वसन्त बलामी said...

समाजको कुरीतिको सजिव चित्रण गर्नुभएकोमा धन्यवाद ।
होलीको नाममा प्रत्येक वर्ष महिलालाइ दुख दिने काम यसरी नै हुन्छ । कतै हाम्रो संस्कारले नै त्यस निम्ति छुट दिएको त होइन ? यदि त्यसो हो भने यो होली नै नभए के हुन्छ ? समाजमा राक्षसी समस्याहरू झन् झन् बढेर गइरहेको बेला होलीका राक्षसलाइ बध गरेकोमा खुसीयाली मनाउनु र होली मनाउनुको के औचित्य ?

Dhruba Panthi said...

"थु ... थु ... थुइक्क !" नै भन्छु म पनि चाडबाडको बाहनामा देखाइने यो परपीडक प्रवृत्तिलाई। लाजशरम पचेकाहरु !!

सुरेश खनाल said...

थुइक्क...तर कहिले सम्म? कसरी बस्यो यस्तो रीत र किन यत्रो बैधानिक छुट? कुनैपनि ती हातका लोलाहरुलाई थाहा होला होलिका को थिइन्? आज सबै युवतीहरुलाई होलिका बनाएको देख्‍दा उदेक लाग्छ ।

Post a Comment