Pages

Monday, March 8, 2010

के लेखूँ ?

च्यातिएको चोली टालटुल गरेर
नाङ्गा पाखुरा छाप्ने तरखरमा लाग्दा मेरी हजुरआमा
उनी
मिनिस्कर्टमा सजिएर
यौवन देखाउँदै डुल्दै थिइन् ।

भारी बोकेर काँधमा
देउरालीको उकाली चढ्दै गर्दा मेरी आमा
उनी
र्‍याम्पमा क्याटवाकमा हिँड्दै थिइन् ।



बच्चाको ओठमा
आफ्ना सुकेका स्तन चुसाइरहँदा मेरी दिदी
उनी
सौन्दर्य बिग्रने डरले
बच्चालाई बोतलको दूध
पिलाइरहेकी थिइन् ।

कलम समाउने हातले
हथौडा बोकेर
गिटी कुट्दै गर्दा मेरी बहिनी
उनी
Chat मा Romance का गफमा
मस्त थिइन् ।

विदेशिएको बेला म
घरमा लुटिँदा मेरी सँगिनी
उनी
ग्राहकसँग आफ्नो शरीरको
मोलमोलाइमा व्यस्त थिइन् ।

फरक–फरक दृश्यहरू
फरक–फरक नारीहरू,
कसलाई म नारी देखूँ ?
भन, कसको कथा रचूँ म ?
कुन नारीको कविता लेखूँ ?

सन्दर्भः ८ मार्च (अन्तर्राष्ट्रिय नारी दिवस)

4 प्रतिक्रिया:

gckarki said...

समय सान्दर्भिक कविता राख्नु भएकेामा धेरै धेरै धन्यवाद । कविता राम्रेा छ ।

दूर्जेय चेतना said...

राम्रो। आफ्नो आफ्नो भोगाई जीवनहरु यसरीनै चलिरहेका छन् यहाँ के गर्नु।

बेदनाथ पुलामी ( उमेश ) said...

नारि दिवसको अवसरमा .... उनिहरुको प्रतिको व्यंग अलिक सुहएन कि ! यात्री जी !

अनि सबै नारि उस्तै हुदैन नि ! केहि त ... समयको प्रवाह संगै ...परिवर्तित पनि भए कै हुन्छ र भै'रहेको पनि छ,
... यदि तपाई आइस्टाइनको सापेक्षताबादको परिचयमा रहनु भएको छ या त्यससंग सहमत हुनु हुन्छ या मान्नु हुन्छ भने यो , जुन सस्कार देखि रा'हुनु हुन्छ नि ! त्यो पनि त्यसैको एक हिसा सम्झनुस ! परिवर्तन एक आफैमा नराम्रो कुरा होइन तर कायापलट भने कुनै पनि क्रान्तिकारीले स्विकार्न सक्दैन तर उसको अपेक्षा भने त्यसैको हुन्छ | हो हामि मानवमा यहि दुविधाको अड्चन रहेको छ !
एका तिर उच्च जीवन शैलीको सपना नि बोक्ने अनि प्रविधिको रवाफ नपचाउनु ! त्यसो हो भने ... प्राविधिक शिक्षा के का लागि ? आदर्श जीवन मात्र जिउने हो भने ... भक्ति भाव र नैतिकताका कुरा मात्र सिकाएर ....बसे भै गो नि ! ( यसलाई अन्यथा नलिनुस - यात्री जी )

मेरो भन्नु के हो भने राम्रो कुराको खोजि गर्ने हो भने अलिकति त्यसको साइड इफेक्ट पनि सहनु पर्दछ भन्न खोज्य हु ! किन भने एउटा विशेष दिनको अवसरमा पनि तपाईले यस्तो इग्नोर गरे जस्तो तरिकाले गिफ्टको रुपमा यस्तो पोस्ट गर्नु अलिक सुहाएन (है ) ...यो पोस्ट अरु बेलै पोस्ट गर्नु भएको भए ठिकै हुन्थ्यो होला सायद !

किन कि ...The goal of life is living in agreement with nature. यो पनि केहि हद सम्म साचो हो !

एकल यात्री said...

बेदनाथजी, प्रतिक्रियाको लागि धन्यवाद ।
यो कविता कसैप्रति व्यंग्य होइन । नारीकै (मेरी हजुरआमा, आमा, दिदी, बहिनीको) जीवनलाई शब्दमा उतारेको मात्र हूँ । यो उहाँहरूकै सम्मान र मायामा सिर्जित रचना हो ।
प्रत्येकको सोचाइ र विचार फरक हुन सक्छ । बुझाइ फरक हुन सक्छ ।

Post a Comment