Pages

Saturday, November 26, 2011

आमाको विश्वास

फिँजाएर ओठ, देखाएर चम्किला सेता दाँत
हिमालसँगै मुस्काउन छोडेकी छैन अझै
कैले सुसाउँदै, कैले उर्लँदै
नदीसँगै कलकल बग्न छोडेकी छैन अझै
तैँले सोचेजस्तो नराम्री त छँदैछैन म
तैँले सम्झेजस्तो कमजोर भैसकेकी छैन अझै ।


[photo:theodora.com]

तँलाई टाँसेको छाति तेरै मायामा तड्पिन्छ घरिघरि
तँलाई खेलाएको काख तैँलाई खोज्दै भौतारिन्छ वरिपरि
भुलेर न्यानो माया तँ अर्कै संसारमा भए पनि
छोडेर आमाको काख तँ अन्तै पाहुना हुन गए पनि
मेरो मनले तेरै बारेमा सोच्न छोडेको छैन अझै
सोध्नै बिर्सिस् रे तैँले सञ्चो बिसञ्चो नि आजभोलि
सपनीमा मैले तैँलाई खोज्न छोडेकी छैन अझै ।


[photo:nepali-pictures.com]

तैँले छोड्दा थोरै विचलित भएकै हूँ
तर ‘आमा बौलाई’ भन्ने हल्ला नचलाएस्
बाँचिरा’कैछु स्वाभिमानी भएर
‘आमा मरिसकी’ भन्ने हावा नफैलाएस्
छाए पनि आँखामा थोरै अँध्यारो
घामसँगै अझै उज्यालिएकै छु
बोकेर शीरमा सगरमाथा
राखेर छातिमा लुम्बिनी
म गर्वका साथ उभिन छोडेकी छैन अझै
कोइलीको कुहुकुहुसँगै
सुनाउँदै छहराको गीत
बजाउँदै ऐँसेलुका पात
पहरामा गुराँस फुलाउन छोडेकी छैन अझै ।

थाहा छ,
सम्झेर मेरो न्यानो काख
सम्झेर मेरो ममतामयी अँगालो
एकदिन
‘आमा’ भन्दै मेरै काखमा लुट्पुटिन आउनेछस्
बगाउँदै अश्रुधारा
मेरै छातिमा मुन्टो लुकाउनेछस्
तँमाथिको मेरो भरोसा
मरिसकेको छैन अझै
विश्वास छ,
त्यो दिन आउनेछ छिट्टै
विश्वास गुमाएकी छैन अझै
मैले विश्वास गुमाएकी छैन अझै ।


[photo:greentatatrust.com]

1 प्रतिक्रिया:

durga kattel said...

heart touching .........................sir

Post a Comment