Pages

Saturday, October 18, 2008

प्रजातन्त्रको बोट र सलहहरु

पोहोर पनि
बीउ छरेकै हो
बोट रोपेकै हो प्रजातन्त्रको
लहलहाउँदो भएको मात्र थियो बाली
एक हूल सलह आए, बाली खाए र
सखाप पारे प्रजातन्त्रका बोटहरु

बल्लतल्ल जोगाइयो
केही बीउ र बोटहरु ।

यसपालि पनि
छरियो बीउ
रोपियो बोट प्रजातन्त्रको
लहलहाउँदो हुन नपाउँदै बाली
आए सलह खाए बाली र
सखाप पारे प्रजातन्त्रका बोटहरु ।

त्यसैले,
छरेर मात्र हुँदो रहेनछ बीउ
रोपेर मात्र नहुँदो रहेछ बोट
प्रजातन्त्रको बाली जोगाउन
काँडेतार लगाउनै पर्दो रहेछ
बाली सखाप पार्ने सलहका
बथान भगाउनै पर्दो रहेछ ।
२०६१/१/३०

Saturday, October 11, 2008

गुरुजीको लट्ठी



अनिल पाँच कक्षामा पढ्थ्यो । कक्षामा ऊ मेहनती भएकोले सबै गुरु-गुरुआमा उसलाई माया गर्नुहुन्थ्यो । अनिललाई सबै गुरु-गुरुआमा राम्रै लाग्थे तर हिसाब पढाउने गुरुलाई चाहिँ ऊ त्यति मन पराउँदैनथ्यो । उहाँ पाठ नबुझाउने विद्यार्थीलाई सधैँ बेन्चमाथि उभ्याउनुहुन्थ्यो र पिट्नुहुन्थ्यो । हुन त अनिलले कहिल्यै गुरुको कुटाइ खानु परको थिएन तर आफ्नो साथीले कुटाइ खाएको हेर्नुपर्दा कसलाई पो राम्रो लाग्छ र ?
एक दिन अनिल विद्यालयबाट फर्केर हिसाबको पाठ गर्न बसेको मात्र थियो, बाहिर उसलाई बोलाउँदै गरको उसले सुन्यो । उसले झ्यालबाट हे-यो, आफ्नै साथी कमल रहेछ ।
‘ए अनिल पाँच बजिसक्यो । जाने होइन ?’ हातको भकुन्डो देखाउँदै उसले सोध्यो ।
‘आज नजाऊँ क्यारे, पाठ सिध्याउनु छ’ अनिलले हिसाबको पाठ सम्झिँदै भन्यो ।
‘एकैछिन त हो नि । सबै साथीहरु तिमीलाई नै पर्खिरा’छन् ।’
‘आः एकैछिन त हो । बरु चाँडै फर्किन्छु ।’ यति कुरा मनमा गुन्दै ऊ गयो । खेल खेलिरहँदा समय बितेको उसलाई पत्तै भएन । खेलिसकेपछि उसले फेरि पाठ सम्झ्यो र छिट्छिटो घर फर्क्यो ।
अनिल घर पुग्नेबित्तिकै बत्ती निभ्यो ।
‘ला, अब पाठ कसरी गर्ने ?’ अनिललाई आपत् प-यो । खेल्दाखेल्दा थकित भएको अनिल भोलि त बिहानै पाठ सिध्याउनु छ भन्ने सोचेर खाना खानासाथ सुत्यो ।
भोलिपल्ट बिहान अनिल ब्यूँझिँदा ढिलो भइसकेको थियो । हत्तपत्त हातमुख धोएर ऊ हिसाब गर्न बस्यो । समय धेरै बाँकी थिएन । ऊ हतारिएको थियो र हिसाब भने एउटै मिलिराखेको थिएन । हिसाब मिलाउन खोज्दाखोज्दै विद्यालय जाने समय पनि भइहाल्यो । खाना खाइसकेपछि बोझिलो मन लिएर ऊ विद्यालयतिर हिँड्यो । बाटोभरि उसले पाठ सम्झिरह्यो । अनि हिसाबको गुरुलाई सम्झ्यो । गुरुका लट्ठीले पिट्दा साथीहरुका सुन्निएका हातहरु पनि सम्झ्यो । उसका आँखा बिस्तारै रसाएर आए ।
विद्यालय के पुग्यो घन्टी लागिहाल्यो र लगत्तै गुरु पनि कक्षाभित्र पस्नुभयो ।
‘क-कसले पाठ गरेको छ ल कापी पल्टाऊ त’ हातमा लट्ठी खेलाउँदै गुरुले पहिलो बेन्चदेखि प्रत्येकको कापी हेर्न थाल्नुभयो र पाठ नगर्नेलाई सधैँझैँ बेन्चमाथि उभिन लगाउनुभयो ।
अनिल भित्रभित्रै आँत्तियो । ऊ आफ्नो खाली कापी बेन्चमा पल्टाएर निहुरिरह्यो । उसलाई लाग्यो गुरु उसको बेन्चतिर तुरुन्तै आइपुग्नु हुनेछ । अनि खाली कापी देखेर उसलाई बेन्चमाथि उभिन लगाउनुहुनेछ र ‘हात थाप्’ भन्दै लट्ठी उठाउनु हुनेछ । नभन्दै गुरु उसको बेन्चमा आइपुग्नुभयो । अनिलको मुटुको ढुक्ढुकी झन् बढ्न थाल्यो । उसले बेस्सरी आँखा चिम्ल्यो र आफ्नो मनलाई दरो बनायो । तर गुरुको आवाज सुनिएन । उसले बिस्तारै आँखा उघारेर हे-यो, गुरु त पछिल्लो बेन्चमा पुगिसक्नु भएछ । आफ्नै बेन्चको अर्को साथी भने बेन्चमाथि उभिरहेको थियो । सधैँ पाठ गर्ने भएकोले होला गुरुले उसको कापी नै हेर्नुभएनछ । जेहोस् उसलाई आफू जोगिएँ भन्ने लाग्यो । उसले यस्सो टाउको उठाएर हे-यो, रुन्चे अनुहार लाएर उसको साथी बेन्चमाथि उभिरहेको थियो । यो देख्दा अनिललाई साह्रै नरमाइलो लाग्यो । पाठ तयार गर्न नसकेका सबै साथीहरु बेन्चमाथि उभिरहेको बेला पाठ गर्न नसकेको ऊ आफू त्यसरी बेन्चमा बसिरहन उसलाई साह्रै अप्ठ्यारो लाग्यो । गुरुले उभिरहेका विद्यार्थीहरुलाई पिट्न भनी लट्ठी उठाउनुभएको मात्र थियो अनिल आफैँ जुरुक्क बेन्चमाथि उभियो र भन्यो ‘गुरुजी मैले पनि आज पाठ गरेको छैन ।’
त्यसपछि गुरुले अनिलको कापी हेर्नुभयो । नभन्दै कापी त साँच्चै खाली थियो तर गुरुले भन्नुभयो ‘भैगो, आजलाई माफ भयो । भोलिदेखि त्यसो नगर्नू बस ।’
अनिल भने बस्न सकेन । गुरुले दिएको माया उसलाई बोकी नसक्नु भारीजस्तो लाग्यो । ऊ कसरी आफ्ना साथीहरुभन्दा बेग्लै हुनसक्छ ? बस्नुको साटो आखिर उसले गुरुसँग भन्यो ‘गुरुजी नियम त सबैलाई एउटै हुनुपर्ने होइन र ? एउटै कक्षामा एकातिर मायाको नियम अर्कोतिर सजायको नियम यो कसरी हुन्छ र ? तर गुरुले सबैलाई मायाको नियम लागू गर्नुभए हामी कति खुसी हुने थियौँ’ भन्दाभन्दै अनिलका आँखा आँसुले भरिएर आए । उभिएका सबै साथी र अरु साथीहरुले अनिलतिर हेरे । गुरुले भने बोल्न सक्नुभएन । त्यहीबेला विद्यार्थीलाई पिट्न भनी गुरुले हातमा लिनुभएको लट्ठी खुत्रुक्क भूइँमा खस्यो ।
२०५९/५/१९

शुभकामना


शुभकामना
'सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना'
शुभकामना
'उत्तरोतर प्रगतिको शुभकामना'

धेरै भयो शुभकामना पाउँदै आएको
शुभकामना,
‘दशैँको शुभकामना’
शुभकामना,
‘दीपावलीको शुभकामना’
शुभकामना,
‘नयाँ वर्षको शुभकामना’

दशैँको शुभकामनाले
दशा हटाउन सकेन
दीपावलीको शुभकामनाले
अन्धकारमय जीवनमा उजाल्यो ल्याएन
नयाँ वर्षको शुभकामनाले
नयाँ वहार ल्याउन सकेन

शुभकामनाले
मेरो भोको पेट भर्न सकेन
शुभकामनाले
मेरो नाङ्गो आङ ढाक्न सकेन
शुभकामनाले
मलाई कुनै ओत दिन सकेन

भैगो
खाँचो छैन अब कुनै शुभकामनाको मलाई
मलाई त पेट भर्ने खाना चाहिएको छ
आङ ढाक्ने नाना चाहिएको छ
मुखले दिने शुभकामना हैन
मलाई त ओत लाग्ने छाना चाहिएको
२०५७/७/५