Pages

Thursday, April 12, 2012

मन लागेन

कलह बढ्दै गर्दा घरभित्र
शत्रु बन्दै जाँदा आफ्नै मित्र
टुटे टुटुन् सम्बन्धहरु
फेरि अरुसँग मितेरी लाउनै मन लागेन


जति छायो उति नै चुहिन्थ्यो छानो
चैते हूरीले त्यो पनि उडायो
किन हो खुल्ला आकाश हेर्नमै रमायो मन
घरको छानो छाउनै मन लागेन

एकातिर टाल्दा अर्कोतिर उध्रियो
कति टाल्नु जडाउरी कपडा
नांगै बस्न तयार भएँ
नयाँ लुगा सिलाउनै मन लागेन


पहिरोले थिच्न आउँदा आफैँलाई
खुर्मुरिएँ पहाडबाट
जीवनको माया नलागेर हो वा
मृत्युको डर नभएर हो
तिमीले दिएको हात समाउनै मन लागेन



देखेर तिम्रो उदास अनुहार,
मलाई रमाउनै मन लागेन
तिमीले बोलायौ
तर आउनै मन लागेन
Happy New Year भन्यौ
जवाफ फर्काउनै मन लागेन
यसपालि नयाँ वर्षको गीत
गाउनै मन लागेन