Pages

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Monday, April 25, 2022

स्व विवेक

निर्माण बीचमै रोकिएर अलपत्र परेका सडक । उद्घाटन मात्र गरेर बन्दै नबनेको अस्पताल । दुइटा सरकारी विद्यालय र च्याउसरी निजी स्कूल । सहर बन्दा बन्दै बन्न नसकेको राजधानी भन्दा अलि परको एउटा गाउँ । त्यही गाउँमा बस्ने गोपीलाल । कपाल अलि अलि फुलेको । निधार हल्का चाउरिएको । वर्षौ साहूको घरमा काम गरेर केही वर्ष सरकारी कार्यालयमा करारको जागिर खाएर खाली हात अवकाश पाएपछि ज्याला मजदुरी गर्दै आएको गोपीलाल ।
***

एकाबिहानै कसैले गोपीलालको घरको ढोका ढक्ढक्यायो ।

“को हो यति सबेरै ?” उसले ढोका खोल्यो । मान्छेहरुको भीड थियो । त्यो भीडको बीचमा एउटा अग्लो अधबैंसे मान्छे थियो ।

“नमस्कार बा” उसलाई ढोगूँला जस्तो गरेर त्यो अग्लो मान्छेले मुसुक्क हाँस्दै उसलाई अभिभावदन गर्‍यो । गोपीलालले झल्यास्स सम्झियो । चुनाव पो आइसकेछ ।

“यसपालि यो पार्टीबाट म उठेको छु । यो पटक पनि हामीलाई भोट दिनुहोला । यो पाली हामीलाई  जिताउनु भयो भने तपाइँले अब धूलो उड्ने सडकममा हिँड्नु पर्दैन ।“

एकैछिन अघि पसल गएर आएको गोपीलाले आफ्नो कपडा हेर्‍यो । पसलबाट फर्किँदै गर्दा गाडीको चक्काले फ्याँकेको सडकमा जमेको पानीले उसको एक पाखा लपक्कै भिजेको थियो ।

“तपाइँका छोराछोरीलाई स्तरीय व्यावसायिक शिक्षा दिएर रोजगारको व्यवस्था गर्नेछौं” अग्लो मान्छे बोलिरह्यो ।

उसले सम्झियो, डेढ महिना अघि विदेश उडेको छोरो बेखबर छ ।

“तपाइँ र तपाइँको परिवारले नि:शुल्क उपचार पाउनुहुनेछ । उपचार नपाएर कोही मर्ने छैन ।“

“पानी” १ हप्तादेखि थला परेकी उसकी श्रीमती पातलीको आवाज सुनेपछि गोपीलाल भित्र दौडियो । भोट माग्न आको अधबैंसे मान्छे पनि सँगसँगै पसेर कोठाको ढोकामा उभियो ।  

“सुन्यौ पातली अब उपचार नपाएर हामीले मर्नु पर्दैन रे ।“ बिमार पातलीले पुलुक्क ढोकामा उभिएको अग्लो मान्छेतिर हेर्‍यो ।

“आमा नमस्कार” अघि जस्तै शिर निहुराउँदै त्यो मान्छेले नमस्कार गर्‍यो ।“ पातली फनक्क भित्तातिर फर्किई ।

कोटभित्र हात राखेर त्यो अग्लो मान्छेले केही झिक्यो र गोपीलालको हातमा राखिदिँदै भन्यो “आमाको राम्ररी उपचार गर्नु” ।

गोपीलाले हेर्‍यो । उसको हातमा हजार रुपैयाँको नोट थियो । उत्निखेरै मिल्काइदिऊँ लागेको थियो उसलाई त्यो पैसा । तर ओछ्यान परेको पातलीको अवस्थाले उसलाई रोक्यो ।

“भोट चाहिँ यो चिन्हमा है हजुर” नमुना मतपत्र हातमा थमाउँदै नमस्कार गरेर भोट माग्न आको त्यो अग्लो अधबैंसे मान्छे फर्कियो ।

पातली उठ्न हिँड्न सक्दिनथी । गोपीलाल दौडिएर औषधी पसलमा गयो ।

“बिरामी खोइ ?” औषधी पसलेले सोध्यो ।

“ऊ हिँड्न सक्दैन” भन्दै गोपीलालले पातलीको बिमारको बारेमा बेली बिस्तार लगायो ।

“यो बिहान र बेलुकी खानापछि । दिउँसो खाजापछि दिनको ३ पटक एक हप्तासम्म बिरामीलाई खुवाउनु” हातमा औषधी राखिदिँदै पसलेले बोल्यो ।

अलिकति मुख बिगार्दै ऊ औषधी बोकेर आयो । खाना पकायो । पाकेपछि दुई भाग लगायो । पहिला पातलीलाई खुवायो । खानापछि औषधी खुवायो । उसलाई तीन छाक खानापछि औषधी खुवाउनु भनिएको थियो । तर पातली बिमार भएदेखि ऊ काममा गएको थिएन र घरको चामल बचाउन दिनको एक छाक खाने गरेका थिए । पातलीले औषधी पनि दिनमा १ पटक मात्र खाई ।

****

निको होला भन्ने आश गरेको पातली झन् झन् बिमार हुँदै गई । औषधी अर्कै परेछ कि भनेर गोपीलाले औषधी रोकिदियो । अर्को दिन फेरि अर्को हूल आयो उसको घरमा । भोट मागे र त्यसै गरी उसको हातमा केही पैसा राखर हिँडे । अब चुनावसम्म खानको दुःख नहोला कि भन्ने सोचेर बिहान बेलुकी नै खाना खान थाले । पातली बिस्तारै तंग्रिँदै गई ।

दिनदिनै फरक फरक मान्छे आए हूल बाँधेर कसैले भोज खान निम्तो गरे । कसैले कपडा ल्याएर दिए ।

*****

पहिलो पटक गोपीलालले २०३६ सालको जनमत संग्रहमा आफ्नो मताधिकारको प्रयोग गरेको थियो । त्यसपछि २०४८ सालदेखि प्रत्येक निर्वाचनममा आफ्नो मतको अधिकार उनले स्व विवेकले प्रयोग गर्‍यो । उसले धेरै पार्टीहरूको सरकार हेर्‍यो । धेरै शासन व्यहोर्‍यो । पञ्चायती शासन ढल्यो । बहुदल आयो । राजतन्त्रात्मक शासन गयो । गणतन्त्र आयो । तर उसको दिन फिरेन । प्रजातन्त्रपछि प्रत्येक निर्वाचन अघि उसको घरको दैलोमा भोट माग्न आउनेहरुको लर्को लाग्थ्यो । उसको कुनै पार्टी छैन । ऊ कुनै पार्टीको सदस्य होइन । एउटाले राम्रो गरेन, अर्को चुनावमा उसले अर्कोलाई भोट दियो । तर जसले जिते पनि उसको दुःख जस्ताको तस्तै रह्यो । सुरु सुरुमा अरुको पछि लागेर हाले पनि भोटको महत्त्व बुझेपछि उसले आफ्नै विवेक प्रयोग गर्‍यो । कसैका कुरा उसले सुनेन । कसैको पछि ऊ लागेन । जसप्रति अलिकति आशा थियो, उसैलाई भोट दिने गर्थ्यो । चुनावको बेलामा उसको मुहारमा छुट्टै चमक आउँथ्यो । चुनावको नतिजामा ऊ पनि कैयौं पल्ट विजय जुलुस गएको छ । तर उसको अनुहारको चमक जसरी आउँथ्यो, त्यसरी नै हराउँथ्यो ।


****

चुनावको दिन ।

“आज त भोट हाल्न जाने होला नि ?” वितृष्णाको भावले गोपीलालतिर हेर्दै पातली बोली ।

“जाने नि” निश्चिन्त भएर गोपीलाल बोल्यो, “आफ्नो अधिकार हो । पाएको अधिकार किन छोड्ने ?”

गोपीलाललाई राम्ररी थाहा छ, पातलीलाई भोट मन पर्दैन, चुनाव मन पर्दैन । अझ नेतालाई त ऊ सारो घृणा गर्छे । पातलीका बाबु पनि बाँचुञ्जेल राजनीतिमा लागेका हुन्  नेताको पछिपछि कार्यकर्ता भएर । अन्तत: राजनीतिले नै उसको जिन्दगी खायो । गोपीलाललाई सबै कुरा थाहा छैन । उसले राम्ररी सोधेको पनि छैन । पातलीले प्रष्ट भनेकी पनि छैन । धेरै कुरा थाहा नपाए पनि गोपीलालाई के थाहा छ भने उसले पातलीलाई भोट हाल्नको लागि मनाउन सक्नेछैन ।

खाना खाइसकेर गोपीलाल दराजबाट ढाका टोपी झिक्छ र लाउँछ । ऊ भोट दिन जानको लागि तयार हुन्छ । ढोकैनेर पुगेर फेरि फर्किन्छ र बस्छ । यो पालि कसलाई भोट दिने ? कुन पार्टीलाई भोट दिने ? कुन चिन्हमा छाप लाउने ? उसले सोचेकै थिएन । उसले आफ्नो सर्टको गोजी छाम्छ र नमुना मतपत्र झिकेर भूइँमा राख्छ । एक टुक्रा कागज लिन्छ र कलमले केही लेख्न्न थाल्छ ।

……………… पार्टी         ४०००।– रुपैयाँ

……………… दल         ४५००।– रुपैयाँ

…………...…. मोर्चा         १०००।– र एक बोरा चामल

………………….

…………………

यो एक महिनामा उसले पाएका उपलब्धिहरुको सूची तयार गर्छ । सधैं आफ्नो विवेक प्रयोग गर्ने ऊ यसपालि सूची हेरेर फलानो पार्टीलाई भोट दिने भन्ने निर्णय गर्छ र उठ्छ । आफैंसँग सन्तुष्ट नभए जसरी त्यो सूची पत्याउँछ र गोजीमा राखेर हिँड्छ भोट दिने ठाउँतिर ।



बुथ अगाडि लाइन लागिसकेको हुन्छ । ऊ लाइनको पुछारमा बस्छ । पैला पैला चुनावमा भोट हाल्ने बेलाममा जस्तो यो पालि उसको मुहारमा चमक छैन । लाइनमा भएका कसैको अनुहार पनि उसले हेरेन । वरिपरि बोलिरहेका मानिसहरूको कुरा पनि उसले सुनेको छैन । उसकै अगाडि उभिएको मानिस भोट हाल्न हिँडेपछि उसको मुटुको धड्कन एक्कासी बढ्न थाल्छ । वरिपरि नियाल्छ । भोट हाल्ने बुथ नेरै एउटा डिजिटल डिस्प्लेमा आइरहेको अक्षरहरुमा उसका आँखा दौडिन्छन् ।

‘भोट तपाइँको अधिकार हो । यसको उचित प्रयोग गर्नुहोला । तपाइँको भोटले तपाइँको भविष्य निर्धारण गर्नेछ ।

कसैको लहैलहैमा लागेर । कसैको लोभ वा दबाबमा परेर यसको दुरुपयोग नगर्नुहोला । अन्तरआत्माको कुरा सुन्नुहोला । मताधिकारको प्रयोगमा स्व-विवेकको प्रयोग गर्नुहोला ।'



ऊ आँखा बन्द गरेर बस्छ । त्यत्तिकैमा कसैले पछाडिबाट धकेल्छ । उसको पालो आइसकेछ भोट हाल्ने र आफ्नो भविष्य बनाउने नेता छान्ने । ऊ अगाडि बढ्न खोज्छ । उसलाई फलामको साङ्लोले खुट्टा बाँधेझैं लाग्छ । खुट्टा उचाल्न सक्दैंन । फेरि उसका आँखामा उही डिजिटल डिस्पेलका अक्षर नाच्न थाल्छन् ।

‘अन्तरआत्माको कुरा सुन्नुहोला । मताधिकारको प्रयोगमा स्व-विवेकको प्रयोग गर्नुहोला ।'

उसको मुटुको धड्कन झन् तेज हुन थाल्छ । अनुहारबाट पसिना आउँछ । गोजीमा हात राख्छ । अघि पट्याएर राखिएको कागज अँठ्याएर निकाल्छ । दुई हातले धुजा धुजा बनाएर भूइँमा फाल्छ ।

गोपी फनन्क फर्किन्छ र भोट हाल्ने बुथतिर हेर्दै नहेरी आफ्नो घरतिर पाइला अघि बढाउँछ ।

१२ वैशाख, २०७९

 

 

 

 

Tuesday, October 25, 2011

शुभकामना


[तस्वीरः myaawaz.com]

दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र शायद ज्याला नयाँ ।
दशैँ जस्तो भए पनि तिहार राम्रै बित्ने भयो भन्ने सोचेर नरमान दंग पर्‍यो र तिहारको किनमेलको योजना बुन्न थाल्यो ।
′बुबा मलाई एक जोर नयाँ जुत्ता ′ दशैँदेखि भन्दै आएको उही कुरो दोहोर्‍याई छोरीले ।
छोरो बोल्यो, ′मलाई जसरी भए पनि मोबाइल है बुबा ′
स्वास्नी बोलिनँ । तर उसको ठाउँ ठाउँमा टालेको धोतीले सबै बोलिरहेको थियो । नयाँ आश लिएर नरमान आज काममा हिँड्यो । दिनभरी पसलमा काम गरिसकेपछि ऊ साहूको अगाडि पुग्यो र बिन्ती बिसायो, ′साहूजी, तिहार मुखैमा आइसक्यो ... ′
उसले वाक्य टुंग्याउनै परेन । ′ए, भुसुक्कै बिर्सेछु, एकछिन पख है ′ यसो भन्दै साहू भित्र कोठमा गयो र एकछिन पछि एउटा खाम ल्याएर नरमानको हातमा थमाइदियो । दंग पर्दै नरमानले खाम खोल्यो । खामभित्र एउटा रंगिन शुभकामना कार्ड थियो ।

Tuesday, November 4, 2008

क्रम


घरि दायाँ कोल्टे फेर्छ घरि बायाँ कोल्टे फेर्छ । एकैछिनमा लामो सास फेर्छ । अनि नाडीको घडीमा यस्सो आँखा दगुराउँछ ।
‘उफ्, कति लामो रात पनि’ मनमनै सुस्केरा हाल्छ ।
फेरि स्मृतिमा उही कुरा दोहोरिन्छ ।
‘छैन मसँग पैसासैसा’ उसका बाबुको स्वर सधैंभन्दा ठूलो थियो ।
‘अर्को हप्तासम्म पैसा नतिरे जरिवाना लाग्छ रे । अझै पनि नतिरे जाँचै दिन पाइन्न रे बा’ दबेको रुन्चे स्वर बहिनी शोभाको थियो ।
‘पर्दैन जाँच दिन, पर्दैन पढ्न । डेरालाई पैसा, खान-लाउन पैसा, पढ्न पैसा । पैसा, पैसा । भन्नासाथ कहाँबाट आउँछ पैसा?’
क्याम्पसबाट फर्कंदा भ-याङमा आइपुग्दा सुनेका यी कुरा नविनका कानमा ठोक्किरहन्छ र उसलाई रातभर निद्रा पर्दैन ।

‘अब त उज्यालो भयो होला’ नविन जुरुक्क उठ्छ । सँगै सुतिरहेको भाइ सुवासको कपाल मुसार्छ । खाटबाट ओर्लन्छ । अर्को खाटमा सुतिरहेकी बहिनीतिर पुलुक्क हेर्छ र सरासर बार्दलितिर जान्छ । उसले आफ्ना आँखा बाहिर डुलाउँछ । मान्छे चिन्न सकिने उज्यालो अझै भएको हुँदैन । हातमा अलिकति पानी लिन्छ र आँखा भिजाउँछ । अनि पूर्वतिर हेरेर एकोहोरो टोल्हाउन थाल्छ ।
अल्छि मानेझैं गरी बिस्तारै सूर्य झुल्किन्छ । मन बहलाउन नविन बाहिर निस्कन्छ । नजिकैको पत्रिका पसलमा यस्सो मुन्टो घुमाउँछ । अकस्मात उसका आँखा एउटा पत्रिकामा गएर रोकिन्छ ।


‘आवश्यकता’ लेखिएको एउटा विज्ञापन देखेपछि हत्तपत्त पत्रिका थुत्छ र ध्यान दिएर हेर्न थाल्छ । हेर्दाहेर्दै उसका आँखामा चमक आउँछ । पसलमा एक टुक्रा कागज मागेर केही टिप्छ र पत्रिका त्यहीँ छोडेर फेरि घरभित्रै पस्छ । कोठामा जान्छ केही कागजपत्र बटुल्छ, फाइलमा बाँध्छ र फाइल बोकेर खानै नखाइ कसैलाई थाहा नदिइकन ऊ बाहिर निस्कन्छ ।
ठुलो जोशका साथ नविन एउटा अफिसमा पुग्छ । केहीबेर कुराकानी हुन्छ ।
‘ठीक छ, आफ्नो बायोडाटा र सर्टिफिकेटहरु छोडेर जानुस् । अन्तर्वार्ताको लागि भोलि आउनुस्’ यति सुनिसकेपछि आफ्ना कागजपत्रहरु छोडेर नविन फर्कन्छ ।
भोलिपल्ट पनि नविन सबेरै उठ्छ । फाइल बोक्छ र अन्तर्वार्ता दिन हिँड्छ । अन्तर्वार्ताको नतिजामा नाम निक्ले बोलाइने आश्वासन पाएर नविन फर्कन्छ । केही दिनपछि नविन आफैं अफिसमा पुग्छ तर आफ्नो नाम ननिस्केको थाहा पाएर ऊ दुःखी हुन्छ ।
फेरि ऊ पत्रिका पल्टाउँछ । अर्को कम्पनीमा जान्छ । अन्तर्वार्ता दिन्छ । नाम निस्कनेको सूचीमा आफ्नो नाम खोज्छ, पाउँदैन र निराश हुन्छ ।
यसरी पत्रिका हेर्दै निवेदन दिने र अन्तर्वार्ता दिने क्रम चलिरहन्छ । तर उसको नाम कतै ननिस्केपछि ऊ थकित हुन्छ ।
‘सब वाहियात हुन्’ नविन हातमा बोकेको पत्रिको टुक्रा च्यातचुत पारेर फाल्छ ‘सबका सब झुट् हुन् ।’

अहिले नविन आफ्नै क्याम्पसनेर पुगेको छ । बेलुकीको पढाइ सुरु हुने बेला भैसकेको छ । धेरै दिनपछि ऊ आज क्याम्पस पस्छ ।
‘क्या हो नविन, यतिका दिन कता गायब ?’ क्याम्पस पस्नेबित्तिकै केही साथी नविनलाई घेर्छन् र प्रश्न गर्छन् ।
‘त्यसै, आफ्नै काममा’ कुरा टाल्न खोज्दै नविन बोल्छ र सरासर कक्षाकोठामा पस्छ ।
कक्षामा पढाइ भइरहेको छ । नविनको मन भने कक्षामा हुँदैन । पढाइ हुँदाहुँदै ऊ उठेर हिँड्छ ।
नविन कोठामा फर्कन्छ । बाबु कामबाट अझै फर्केका हुन्नन् । आमा बाबुलाई नै पर्खेर
टोल्हाइरहेकी छिन् । भाइ र बहिनी पढ्नमा व्यस्त छन् । नविन एउटा कुनामा जान्छ र टुक्रुक्क परेर बस्छ ।
त्यत्तिकैमा कोठामा बाबुको प्रवेश हुन्छ । कामको बोझले होला, थकाइ र भोक एकसाथ देखिन्छन् उनको अनुहारमा । नविनले खल्लो महसुस गर्छ ।
आउनेबित्तिकै बाबुका आँखा नविनमा पर्छन् । ‘धेरै दिनदेखि नकाटेको दाह्रीजुंगा, जिङ्ग्रिङ परेका कपाल, भित्र गड्का आँखा’ नविन धेरै दिनपछि बिमारबाट उठेको बिरामीझैं देखिएको हुन्छ ।
‘नविन, के भयो तँलाई ?’ बाबु नविनतिर हेरेर सोध्छन् । नविन बोल्दैन ।
‘म सोध्दैछु, के भयो तँलाई ?’ बाबुको थकाइ एकाएक रिसमा फेरिन्छ ‘बिहान खानै नखाई निस्कन्छस् रे । दिनभर बाहिरै हुन्छस् रे । के हो तेरो चाला ?’
‘बुबा’ मसिनो तर धोद्रो स्वरमा नविन बोल्छ ‘एक न एक दिन त मैले पनि काम पाउँछु होला नि । त्यसपछि तपाईंले यस्तरी दुःख गर्नुपर्दैन ।’
परिवारमा एकछिन सन्नाटा छाउँछ । केहीबेर बाबु पनि चूप लाग्छन् । अनि नरम भएर बोल्छन् ‘किन यस्तो चिन्ता लिएको तैंले ? म ज्यूँदो छन्जेल तिमीहरुले भोकै सुत्नुपर्दैन नाङ्गै बस्नुपर्दैन । आफ्नो पढाइमा मात्र ध्यान दे ।’ बाबु टोल्हाउँछन् र आफूले पढ्न चाहँदा चाहँदै पढाइ छाड्नु परेको कुरा सम्झन्छन् ।
‘किन ढाँट्नुहुन्छ बुबा ?’ मनमनै नविन प्रश्न गर्छ ‘कति दिन दुःख लुकाउनुहुन्छ र कतिञ्जेल एक्लै बोक्नुहुन्छ परिवारको बोझ ?’
नविन निहुरिन्छ, आफ्नो टाउको दुई घुँडाको बीचमा च्याप्छ र बेस्सरी आँखा चिम्लन्छ ।
‘दाइ, हिजोअस्ति तपाईं काम खोज्न जानुभएको हो ?’ नविनको नजिक आएर भाइ सुवासले सोध्छ ।
टाउको उठाएर नविन भाइतिर हेर्छ र भाइको गाला मुसार्छ ।
‘भैगो खाना खाऊँ र सुतूँ’ आमा मुख खोल्छिन् । शोभा सबैलाई खाना पस्किन्छिन् । मन नलागी-नलागीकन नविन खाना खान बस्छ । एक-दुई गाँस टिप्छ र छोड्छ ।
सबै जना सुत्छन् । नविन पनि सुत्छ तर उसको मन एक तमासको हुन्छ । जेठो सन्तान भएर परिवारको लागि केही गर्न नसक्दा उसको मन भारी भएर आउँछ । ‘‘पत्रिका हेर्दै अन्तर्वार्ताको लागि धाएको सूचीमा आफ्नो नाम खोजेको र आफ्नो नाम नभेटेपछि निराश भएको’ तस्वीर उसको मनमा आइरहन्छ र ऊ फेरि बर्बराउन थाल्छ ‘सब वाहियात हुन्, सब झुट हुन् ।’ बर्बराउँदा बर्बराउँदै धेरै दिनदेखि ननिदाएका उसका आँखा लाग्छन् ।

‘दाइ’ एकाबिहानै भाइ सुवासको चर्को स्वर सुनेर नविन ब्युँझन्छ ।
‘इः हेर्नुस् त’ हातमा बोकेको पत्रिकामा आवश्यकताको विज्ञापन देखाउँदै सुवास बोल्छ ।
‘कहाँबाट ल्याइस् यो ?’ वितृष्णाको भावले मुन्टो अन्तै फर्काएर नविन बोल्छ ‘लैजा यहाँबाट सब झुट हुन् ।’
दाइ रिसाएको थाहा पाएर सुवास बोल्दैन । पत्रिका त्यहीँ छोडेर ऊ दौडेर जान्छ ।
मन नलाग्दा नलाग्दै नविनको टाउको पत्रिकातिर फर्किन्छ । ‘आवश्यकता’ लेखिएको विज्ञापनमा गएर उसका आँखा फेरि एकपटक ठोक्किन्छ ।

बिस्तारै पत्रिका हातमा उठाएर ऊ पढ्न थाल्छ । पढ्दापढ्दै फेरि एकपटक उसका आँखाका चमक आउँछ । निराश भएको उसको मनमा फेरि एकपटक खुशी छाउँछ । यतिबेला अन्तर्वार्ताको लागि धाउँदा धाउँदा आफू थाकेको कुरा उसले बिर्सिकेको हुन्छ । अघि भर्खर विज्ञापनलाई झुट भनेको कुरा पनि उसले भुलिसकेको हुन्छ ।
नविन हत्तपत्त खाटबाट ओर्लन्छ । तयार हुन्छ र आफ्ना कागजपत्रहरु फाइलमा राखी फाइल बोकेर कसैलाई केही नभनी ऊ बाहिर निस्कन्छ ।
विज्ञापन हेरेर अन्तर्वाताको लागि नविन धाउने क्रम फेरि एकपटक सुरु हुन्छ ।
२०६२ फागुन/चैत्र