Pages

Wednesday, February 18, 2009

प्रजातन्त्रको चित्र



त्यहाँ झुप्रो-छाप्रो थिएन
त्यहाँ ठूलो महल थिएन
उत्रै/उस्तै थिए सबै
सानो-ठूलो घर थिएन

मागी हिँड्ने ‘माग्ने’ थिएन
पैसा लुकाउँदै भाग्ने थिएन
सबले पेट भर्न पाउँथे
भोकाउने/डकार्ने कोही थिएन

विद्यार्थी कुट्ने गुरु थिएन
पढ्न बोझिला किताब थिएन
बगैँचामा पुतलीझैँ रमाउँथे विद्यार्थी
जेलजस्तो स्कूल थिएन

गधाझैँ जोतिने मजदूर थिएन
काम ठग्ने कुनै अल्छी थिएन
बीउ छर्थ्यो किसान, भित्र्याउँथ्यो बाली
भकारी भर्ने जिमिन्दार थिएन

लाग्नेबाट हेपिने स्वास्नी थिइन
स्वास्नी कुट्ने लोग्ने थिएन
नारी-पुरुष एकसाथ हुन्थे
दुईबीच कुनै फरक थिएन

सहयोगी थिए मान्छे
झैँ-झगडा कतै थिएन
सबै मान्छे समान थिए
भेदभाव छँदै थिएन

सबै मिली बनाउँथे नियम
नियम मिच्ने कोही थिएन
दुःख थिएन, कष्ट थिएन
लोभ-लालच, इर्ष्या थिएन



त्यहाँ अग्लो हिमाल थिएन
त्यहाँ होचो पहाड थिएन
साँचो चित्र त्यो प्रजातन्त्रको
अग्लो-होचो ठाउँ थिएन ।

Thursday, February 5, 2009

देख्न छाड्दिन सपना


थाके तापनि गोडाहरु
गले तापनि शरीरहरु
खाइए पनि ठक्कर
प्रत्येक पाइलामा
अल्मलिए पनि बाटाहरु
प्रत्येक मोडमा
म सार्न छाड्दिन पाइला
म हिँड्न छाड्दिन यात्रा ।

आइपरे तापनि दु:खहरु
खानु परे तापनि हण्डरहरु
झर्नै परे पनि प्रत्येक चाढाइमा
ओर्लनै परे पनि प्रत्येक उक्लाइमा
म चढ्न छाड्दिन शिखर
म उक्लिन छाड्दिन पहाड ।

अस्ताए पनि सूर्य
ओर्ले पनि घाम
छोपे पनि धर्ती रातले
डुबे पनि वस्ती अन्धकारमा
म गर्न छाड्दिन
विहानीका कल्पनाहरु
म देख्न छाड्दिन
उज्याला सपनाहरू ।