Pages

Showing posts with label बाल कविता. Show all posts
Showing posts with label बाल कविता. Show all posts

Wednesday, September 15, 2010

हुन्न

गाली गर्ने मिस हुन्न
लट्ठी बोक्ने सर हुन्न
हाम्लाई माया मन पर्छ
मुटु काम्ने डर हुन्न ।

आँखा तर्ने बाबा हुन्न
हप्काउने आमा हुन्न
मनको कुरा भन्दाखेरि
नसुन्दिने घर हुन्न
हाम्लाई माया मन पर्छ
मुटु काम्ने डर हुन्न ।




नपढाउने दिदी हुन्न
नसिकाउने दाइ हुन्न
मायाले नै सिक्छौँ हामी
जबर्जस्ती कर हुन्न
हाम्लाई माया मन पर्छ
मुटु काम्ने डर हुन्न ।

Monday, September 14, 2009

स्कूल जान ऊ मानेन

उठ्छु, पढ्छु, कपडा फेर्छु
सफा-सुग्घर भै ऐना हेर्छु
टिफिनसाथको झोला भिरी
स्कूल जान्छु टम् टम् टम्
              -युद्धप्रसाद मिश्र



‘स्कूल जान्छु टम् टम्’ भन्दै हिजोसम्म
झोला बोकेर पढ्न जाने ऊ
था’छैन आज किन रोक्यो
न खायो पस्केको भात
न लायो लुगा
न त रमाएर झोला नै बोक्यो
‘के भयो उस्लाई’
‘किन यस्तो भो आज’
खै कसैलै जानेन
जति फकाउँदा पनि
जति कर गर्दा पिन
स्कूल जान ऊ मानेन ।

खेल्दै नखेल्दा पनि
टी.भी. हेर्दै नहेर्दा पनि
गर्नुपर्ने पाठ धेरै हुन्थ्यो
सबै पाठ सकिन्नथ्यो कैल्यै पनि
‘किन पाठ नगरेको ?’
कुन गुरुले सोध्नुहुन्थ्यो र
एक-एकलाई उभ्याएर बेन्चमाथि
लट्ठीले पिट्नुहुन्थ्यो जहिले पनि
बिनसित्तिमा गुरुहरुबाट कुटाइ खानु
उसले राम्रो ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



पिट्न मात्र जानेका गुरुहरुबाट
मायाको आश राख्नु उसले बेकार भएछ
कसरी पढ्न सकिन्छ र मनमा डर बोकेर
पढ्न स्कूल आउनु पनि व्यर्थै भएछ
कुन गुरुले डोरीले बानेन र उसलाई
कुनले हातमा घाउ हुने गरी हानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

बुझ्नै गाह्रो थियो जति बुझाउँदा पनि गुरुले
त्यसैले पढाइमा ऊ पछि पर्थ्यो
सोधेरै भए पनि बुझ्न चाहन्थ्यो ऊ तर
धेरै सोध्यो भनेर गुरु रिसाउने गर्थ्यो
कक्षाका साथीहरुमाझ गुरुबाट बेइज्जत हुन
उसले निको ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



गुरुलाई खुसी पार्न गुरुबाट माया पाउन
सकेसम्म ऊ मेहनत गर्थ्यो
पाठ गरेको दिनमै पनि
सबै मिलाएको बेलामा पनि
एक न एक खोट गुरुले देखाएरै छोड्थ्यो
जति राम्रो गर्दा पनि कहिल्यै कसैले
‘राम्रो ग-यौ’ भन्न जानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

Monday, March 9, 2009

गुमराहमा स्रष्टा


एउटा कविता जो छापिन्छ पाठ्यपुस्तकमा, तर लेख्नेलाई थाहा हुन्न। आज त्यही कविताको चर्चा गर्ने जमर्को गरेको छु। २०५७ सालमा जब म सानै थिएँ, बाल साहित्यमा रुचि राख्थेँ र त्यहीताका एउटा कविता रचेँ 'मेरो धोको छ'। बालपत्रिकामा छाप्ने रहरले 'बालकोसेली' पत्रिकाका सम्पादक लाई कविता बुझाएँ। तर कविता छापिएन। यसपछि सो कविता कसैलाई दिएको पनि छैन, मेरै पाण्डुलिपिमा मात्रै सुरक्षित थियो।
पाँच दिन अघि मात्र स्कूल (जहाँ म पढाउँछु) का एक विद्यार्थीले एउटा किताब देखाउँदै सोधे, 'सर यो कविता तपाईँले लेख्नुभएको हो ?'
मैले किताब हातमा लिएँ र पढेँ । कविता मेरै हो र नाम पनि मेरै छ। 'हो मैले नै लेखेको हूँ' मैले जवाफ दिएँ।
'हाम्रो सरले लेख्नुभएको कविता' उनी रमाउँदै कक्षाका साथीलाई सुनाउन हिँडे। म रमाउन सकिनँ। कसरी छापियो मेरो कविता त्यो पनि मेरो स्वीकृतिबिना ? मैले किताब फेरि हेरेँ। कक्षा ३ का लागि पालुवा प्रकाशनले प्रकाशन गरेको त्यो किताब २०६४ सालमा पहिलो पल्ट छापिएको रहेछ।
मैले बालकोसेलीलाई दिएको कविता 'पालुवा'ले कहाँबाट पायो ? त्यसमाथि लेख्ने मान्छेलाई एक पल्ट पनि नसोधी किन छाप्यो ? यी कुराहरु बुझ्ने प्रयास गर्दैछु। लेख्नेलाई गुमराहमा राखेर सिर्जना छाप्ने अधिकार कसैलाई छैन।
त्यो कविता यसप्रकार छः


मेरो धोको छ



दिनभरि मेलापात पिठ्यूँमाथि डोको छ
कापी कलम किताब लिई पढ्ने धोको छ
पढ्न लेख्न नपाउँदा मन साह्रै रो’को छ
तर मलाई ठूलो मान्छे बन्ने धोको छ

गरीब छु म तर मेरो मनचाहिँ चोखो छ
अरुसरह हाँसी-खेली बस्ने धोको छ
खान्छन् कोही मीठा-मीठा पेट मेरो भोको छ
पेटभरि खाने मेरो ठूलो धोको छ

श्रम गर्छन् एकथरि धन थुपार्ने को-को छ
गरीब-धनी सम्मिएको हेर्ने धोको छ
मनभरि चाहना र आकांक्षा र चाहनाको पोको छ
उडी-उडी चन्द्र छुने मेरो धोको छ ।
२०५७/४/८