Pages

Monday, January 19, 2009

आइज बूढी वार्ता गरौँ



तैंले कुचो फालिस्, मैले जुत्ताले हानेँ
तैंले डाडू उचालिस्, मैले जिस्केको ठानेँ
तँ त साँच्चै रिसाइछस्, भैगो अलि पर सरौँ
एक एक स्टेप तल झरौँ, आइज बूढी वार्ता गरौँ।


मलाई चित्त नबुझेको म भन्छु, तेरो कुरा तँ भन्
सबको मनको कुरा बुझौँ, बोला हाम्रो daughter son
कोलाहल भो वातावरण, दुवै मिली शान्ति छरौँ
रिस थामौँ एकैछिनलाई, आइज बूढी वार्ता गरौँ।


वार्ताबाट मिलिसके कत्रा–कत्रा कुराहरू
हाम्रो पनि समाधान वार्ताबाटै सुरु गरौँ
समस्यालाई हटाउन दुवै मिली लागी परौँ
डाडू फाल्, कलम समात्, आइज बूढी वार्ता गरौँ ।
२०६४

Thursday, January 1, 2009

कसरी दिऊँ शुभकामना ?



पूर्वको मधुरो घाम फेरिएकै छैन
बदलियो नारा तर काम फेरिएकै छैन
नयाँ केही भएकै छैन
पुरानो केही गएकै छैन
अनि कुन मनले व्यक्त गरूँ खुसी ?
गर्नु परेकै छ अप्ठेरोको सामना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?

जातीय, वर्गीय भेदभाव उही छ
गरीबी, भोकमरी र अभाव उही छ
शान्ति अझै हराएकै छ
थीर छैन मन डराएकै छ
विश्व बढेको छ जग बसाल्न चन्द्रमामा
हाम्रो युग फेरिएन, उही छ जमाना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?

उस्तै छ रीति, थिति बदलिएन
हटेन कुचलन, संस्कृति बदलिएन
सडकमा जिन्दावाद, मुर्दावाद छ अझै
पुरानै नेपालको स्वाद छ अझै
भत्काएर पुराना, नयाँ बनाउन
अझै बाँकी नै छ कोर्न योजना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
२०६५/०९/१७
(January 1, 2009)