Pages

Monday, April 25, 2022

स्व विवेक

निर्माण बीचमै रोकिएर अलपत्र परेका सडक । उद्घाटन मात्र गरेर बन्दै नबनेको अस्पताल । दुइटा सरकारी विद्यालय र च्याउसरी निजी स्कूल । सहर बन्दा बन्दै बन्न नसकेको राजधानी भन्दा अलि परको एउटा गाउँ । त्यही गाउँमा बस्ने गोपीलाल । कपाल अलि अलि फुलेको । निधार हल्का चाउरिएको । वर्षौ साहूको घरमा काम गरेर केही वर्ष सरकारी कार्यालयमा करारको जागिर खाएर खाली हात अवकाश पाएपछि ज्याला मजदुरी गर्दै आएको गोपीलाल
***

एकाबिहानै कसैले गोपीलालको घरको ढोका ढक्ढक्यायो ।

को हो यति सबेरै ? उसले ढोका खोल्यो । मान्छेहरुको भीड थियो । त्यो भीडको बीचमा एउटा अग्लो अधबैंसे मान्छे थियो ।

नमस्कार बा उसलाई ढोगूँला जस्तो गरेर त्यो अग्लो मान्छेले मुसुक्क हाँस्दै उसलाई अभिभावदन गर्‍यो । गोपीलालले झल्यास्स सम्झियो । चुनाव पो आइसकेछ ।

यसपालि यो पार्टीबाट म उठेको छु । यो पटक पनि हामीलाई भोट दिनुहोला । यो पाली हामीलाई  जिताउनु भयो भने तपाइँले अब धूलो उड्ने सडकममा हिँड्नु पर्दैन ।

एकैछिन अघि पसल गएर आएको गोपीलाले आफ्नो कपडा हेर्‍यो । पसलबाट फर्किँदै गर्दा गाडीको चक्काले फ्याँकेको सडकमा जमेको पानीले उसको एक पाखा लपक्कै भिजेको थियो ।

तपाइँका छोराछोरीलाई स्तरीय व्यावसायिक शिक्षा दिएर रोजगारको व्यवस्था गर्नेछौं अग्लो मान्छे बोलिरह्यो ।

उसले सम्झियो, डेढ महिना अघि विदेश उडेको छोरो बेखबर छ ।

तपाइँ र तपाइँको परिवारले नि:शुल्क उपचार पाउनुहुनेछ । उपचार नपाएर कोही मर्ने छैन ।

पानी १ हप्तादेखि थला परेकी उसकी श्रीमती पातलीको आवाज सुनेपछि गोपीलाल भित्र दौडियो । भोट माग्न आको अधबैंसे मान्छे पनि सँगसँगै पसेर कोठाको ढोकामा उभियो ।  

सुन्यौ पातली अब उपचार नपाएर हामीले मर्नु पर्दैन रे । बिमार पातलीले पुलुक्क ढोकामा उभिएको अग्लो मान्छेतिर हेर्‍यो ।

आमा नमस्कार अघि जस्तै शिर निहुराउँदै त्यो मान्छेले नमस्कार गर्‍यो । पातली फनक्क भित्तातिर फर्किई ।

कोटभित्र हात राखेर त्यो अग्लो मान्छेले केही झिक्यो र गोपीलालको हातमा राखिदिँदै भन्यो आमाको राम्ररी उपचार गर्नु

गोपीलाले हेर्‍यो । उसको हातमा हजार रुपैयाँको नोट थियो । उत्निखेरै मिल्काइदिऊँ लागेको थियो उसलाई त्यो पैसा । तर ओछ्यान परेको पातलीको अवस्थाले उसलाई रोक्यो ।

भोट चाहिँ यो चिन्हमा है हजुर नमुना मतपत्र हातमा थमाउँदै नमस्कार गरेर भोट माग्न आको त्यो अग्लो अधबैंसे मान्छे फर्कियो ।

पातली उठ्न हिँड्न सक्दिनथी । गोपीलाल दौडिएर औषधी पसलमा गयो ।

बिरामी खोइ ? औषधी पसलेले सोध्यो ।

ऊ हिँड्न सक्दैन भन्दै गोपीलालले पातलीको बिमारको बारेमा बेली बिस्तार लगायो ।

यो बिहान र बेलुकी खानापछि । दिउँसो खाजापछि दिनको ३ पटक एक हप्तासम्म बिरामीलाई खुवाउनु हातमा औषधी राखिदिँदै पसलेले बोल्यो ।

अलिकति मुख बिगार्दै ऊ औषधी बोकेर आयो । खाना पकायो । पाकेपछि दुई भाग लगायो । पहिला पातलीलाई खुवायो । खानापछि औषधी खुवायो । उसलाई तीन छाक खानापछि औषधी खुवाउनु भनिएको थियो । तर पातली बिमार भएदेखि ऊ काममा गएको थिएन र घरको चामल बचाउन दिनको एक छाक खाने गरेका थिए । पातलीले औषधी पनि दिनमा १ पटक मात्र खाई ।

****

निको होला भन्ने आश गरेको पातली झन् झन् बिमार हुँदै गई । औषधी अर्कै परेछ कि भनेर गोपीलाले औषधी रोकिदियो । अर्को दिन फेरि अर्को हूल आयो उसको घरमा । भोट मागे र त्यसै गरी उसको हातमा केही पैसा राखर हिँडे । अब चुनावसम्म खानको दुःख नहोला कि भन्ने सोचेर बिहान बेलुकी नै खाना खान थाले । पातली बिस्तारै तंग्रिँदै गई ।

दिनदिनै फरक फरक मान्छे आए हूल बाँधेर कसैले भोज खान निम्तो गरे । कसैले कपडा ल्याएर दिए ।

*****

पहिलो पटक गोपीलालले २०३६ सालको जनमत संग्रहमा आफ्नो मताधिकारको प्रयोग गरेको थियो । त्यसपछि २०४८ सालदेखि प्रत्येक निर्वाचनममा आफ्नो मतको अधिकार उनले स्व विवेकले प्रयोग गर्‍यो । उसले धेरै पार्टीहरूको सरकार हेर्‍यो । धेरै शासन व्यहोर्‍यो । पञ्चायती शासन ढल्यो । बहुदल आयो । राजतन्त्रात्मक शासन गयो । गणतन्त्र आयो । तर उसको दिन फिरेन । प्रजातन्त्रपछि प्रत्येक निर्वाचन अघि उसको घरको दैलोमा भोट माग्न आउनेहरुको लर्को लाग्थ्यो । उसको कुनै पार्टी छैन । ऊ कुनै पार्टीको सदस्य होइन । एउटाले राम्रो गरेन, अर्को चुनावमा उसले अर्कोलाई भोट दियो । तर जसले जिते पनि उसको दुःख जस्ताको तस्तै रह्यो । सुरु सुरुमा अरुको पछि लागेर हाले पनि भोटको महत्त्व बुझेपछि उसले आफ्नै विवेक प्रयोग गर्‍यो । कसैका कुरा उसले सुनेन । कसैको पछि ऊ लागेन । जसप्रति अलिकति आशा थियो, उसैलाई भोट दिने गर्थ्यो । चुनावको बेलामा उसको मुहारमा छुट्टै चमक आउँथ्यो । चुनावको नतिजामा ऊ पनि कैयौं पल्ट विजय जुलुस गएको छ । तर उसको अनुहारको चमक जसरी आउँथ्यो, त्यसरी नै हराउँथ्यो ।


****

चुनावको दिन ।

आज त भोट हाल्न जाने होला नि ? वितृष्णाको भावले गोपीलालतिर हेर्दै पातली बोली ।

जाने नि निश्चिन्त भएर गोपीलाल बोल्यो, आफ्नो अधिकार हो । पाएको अधिकार किन छोड्ने ?

गोपीलाललाई राम्ररी थाहा छ, पातलीलाई भोट मन पर्दैन, चुनाव मन पर्दैन । अझ नेतालाई त ऊ सारो घृणा गर्छे । पातलीका बाबु पनि बाँचुञ्जेल राजनीतिमा लागेका हुन्  नेताको पछिपछि कार्यकर्ता भएर । अन्तत: राजनीतिले नै उसको जिन्दगी खायो । गोपीलाललाई सबै कुरा थाहा छैन । उसले राम्ररी सोधेको पनि छैन । पातलीले प्रष्ट भनेकी पनि छैन । धेरै कुरा थाहा नपाए पनि गोपीलालाई के थाहा छ भने उसले पातलीलाई भोट हाल्नको लागि मनाउन सक्नेछैन ।

खाना खाइसकेर गोपीलाल दराजबाट ढाका टोपी झिक्छ र लाउँछ । ऊ भोट दिन जानको लागि तयार हुन्छ । ढोकैनेर पुगेर फेरि फर्किन्छ र बस्छ । यो पालि कसलाई भोट दिने ? कुन पार्टीलाई भोट दिने ? कुन चिन्हमा छाप लाउने ? उसले सोचेकै थिएन । उसले आफ्नो सर्टको गोजी छाम्छ र नमुना मतपत्र झिकेर भूइँमा राख्छ । एक टुक्रा कागज लिन्छ र कलमले केही लेख्न्न थाल्छ ।

……………… पार्टी         ४०००।रुपैयाँ

……………… दल         ४५००।रुपैयाँ

…………...…. मोर्चा         १०००।र एक बोरा चामल

………………….

…………………

यो एक महिनामा उसले पाएका उपलब्धिहरुको सूची तयार गर्छ । सधैं आफ्नो विवेक प्रयोग गर्ने ऊ यसपालि सूची हेरेर फलानो पार्टीलाई भोट दिने भन्ने निर्णय गर्छ र उठ्छ । आफैंसँग सन्तुष्ट नभए जसरी त्यो सूची पत्याउँछ र गोजीमा राखेर हिँड्छ भोट दिने ठाउँतिर ।



बुथ अगाडि लाइन लागिसकेको हुन्छ । ऊ लाइनको पुछारमा बस्छ । पैला पैला चुनावमा भोट हाल्ने बेलाममा जस्तो यो पालि उसको मुहारमा चमक छैन । लाइनमा भएका कसैको अनुहार पनि उसले हेरेन । वरिपरि बोलिरहेका मानिसहरूको कुरा पनि उसले सुनेको छैन । उसकै अगाडि उभिएको मानिस भोट हाल्न हिँडेपछि उसको मुटुको धड्कन एक्कासी बढ्न थाल्छ । वरिपरि नियाल्छ । भोट हाल्ने बुथ नेरै एउटा डिजिटल डिस्प्लेमा आइरहेको अक्षरहरुमा उसका आँखा दौडिन्छन् ।

भोट तपाइँको अधिकार हो । यसको उचित प्रयोग गर्नुहोला । तपाइँको भोटले तपाइँको भविष्य निर्धारण गर्नेछ ।

कसैको लहैलहैमा लागेर । कसैको लोभ वा दबाबमा परेर यसको दुरुपयोग नगर्नुहोला । अन्तरआत्माको कुरा सुन्नुहोला । मताधिकारको प्रयोगमा स्व-विवेकको प्रयोग गर्नुहोला ।'



ऊ आँखा बन्द गरेर बस्छ । त्यत्तिकैमा कसैले पछाडिबाट धकेल्छ । उसको पालो आइसकेछ भोट हाल्ने र आफ्नो भविष्य बनाउने नेता छान्ने । ऊ अगाडि बढ्न खोज्छ । उसलाई फलामको साङ्लोले खुट्टा बाँधेझैं लाग्छ । खुट्टा उचाल्न सक्दैंन । फेरि उसका आँखामा उही डिजिटल डिस्पेलका अक्षर नाच्न थाल्छन् ।

अन्तरआत्माको कुरा सुन्नुहोला । मताधिकारको प्रयोगमा स्व-विवेकको प्रयोग गर्नुहोला ।'

उसको मुटुको धड्कन झन् तेज हुन थाल्छ । अनुहारबाट पसिना आउँछ । गोजीमा हात राख्छ । अघि पट्याएर राखिएको कागज अँठ्याएर निकाल्छ । दुई हातले धुजा धुजा बनाएर भूइँमा फाल्छ ।

गोपीलाई फनन्क फर्किन्छ र भोट हाल्ने बुथतिर हेर्दै नहेरी आफ्नो घरतिर पाइला अघि बढाउँछ ।

१२ वैशाख, २०७९

 

 

 

 

Friday, April 15, 2022

म आउँछु

मलाई बोलाउनू मात्र

म आउनेछु

तिम्रो भ्याउने समयमा

म आउनेछु

तिमीले बोलाएकै दिनमा

तर

बिना खबर कहिल्यै आउने छैन

बिना जानकारी तिमीलाई भेट्ने छैन

किनकी

म आउनु अघि

छुटाउनु टेलिभिजनका तारहरु

खुस्काउनु राउटरका केबलहरु


तिमी मेरा लागि जस्तै तिम्रा लागि पनि म खास हूँ भने

म आउनेछु तिमीलाई भेट्न मेरा शर्तहरु मन्जुर छन् भने

बरु मिल्यो भने समय

घुमाउनु तिम्रो घरको पुस्तकालय यदि छ भने

चखाउनु स्वाद थरि थरि पुस्तकका सम्भव भयो भने

मलाई टेलिभिजनमा बर्बाद गर्नु छैन तिमीलाई भेटेको पल

मलाई इन्टरनेटमा नाश गर्नु छैन तिमीसँगको साथ

शर्तहरु स्वीकार गर्छौं भने आउनेछु

खबर गरेर मात्र आउनेछु 

समय र मिति तोकेर आउनेछु ।

चैत्र ३० २०७८

 


Monday, April 11, 2022

मीठो भ्रम

तीन दिनको भोको पेट लिएर

एकोहोरो रोइरहेको बच्चालाई

पिएर आफ्नै नूनिला आँसु

भनिदिई आमाले कि

नरो, ल्याउनेछु एक बट्टा पापा

तुरुन्तै रुन छोडेर, पुछेर आँखाका आँसु

रमाउँदै बोल्यो बच्चा पापा पापा

 



निकै नहुने रोग लागेर

जीउ ज्यान सुक्दै गर्दा

अस्पतालले मृत्युको मिति तोकिसकेको केही दिन पछि

हड्डी छालाको शरीर एम्बुलेन्समा राखेर

डाक्टरसँगको अन्तिम appointment मा  गएको बिरामी

के सोचेर हो, डाक्टरले दियो

रोग निको भइसकेको झुटो रिपोर्ट

चम्किला भए राम्ररी खुल्न समेत छोडेका एक जोडी आँखा

 

लोग्ने विदेशमा मरेको कम्पनीको चिठी पाएदेखि बेहोस श्रीमती

कसैले सुनाइदियो घर फर्किँदैछ भन्ने झुटो खबर

जुरुक्क उठेर  कुर्न थाली बाटो

 

फेरिएला कि केही थान जिन्दगी भन्ने आशाले

बनेर भोट नेताको पछि दौडिँदा दौडिँदा

नफेरिपछि आफ्नै गाउँको मुहार

पूरै विश्राम लिएर राजनीतिबाट

खेतीपातीमा रमाइरहेको

आएर एक हूल मान्छे

भनिदियो फेरिनेछ उसका दिन

बदलिनेछ उसको भविष्य

अनि

फ्याँकेर कुटो कोदालो

कुद् थाल्यो बोकेर पार्टीको झन्डा



चैत्र २८ २०७८

Monday, May 4, 2020

चिन्टुको एक दिन : लकडाउन साहित्य -२


चिन्टु बिहान समयमै ब्युँझियो तर उसलाई उठ्ने जाँगर चलेन ।
"उफ् कसरी दिन बिताउने होला ?" सम्झँदा मात्र पनि उसलाई दिक्क लाग्यो ।
दुई चार दिन भयो, चिन्टुलाई दिक्क लाग्न थालेको । स्कूल बिदा भएको धेरै भयो । घुम्न जाने ठाउँ सबै बन्द छन् । घर अगाडि खेल्ने चौर सुनसान छ । 
"दिनभरी के गरेर बस्ने होला ?" फेरि चिन्टुले सोच्यो ।
टिभी कत्ति हेर्नु ? घरको झ्यालबाट सुनसान सडक कति नियाल्नु ? घरमा भएको एउटा पुन्टे बल कति उफार्नु ?
"साथीहरु के गर्दै होलान् ?" चिन्टुलाई जान्न मन लाग्यो ।
चिन्टु जुरुक्क ओछ्यानबाट उठ्यो ।
उसले महेशलाई सम्झ्यो र फोन गर्‍यो, "ओइ महेश, उठिसकेको हो ?"
महेशले भन्यो, "अँ, म त अघि नै उठेको"
"अनि अहिले के गरिरा'को त ?" चिन्टुले सोध्यो ।
"म त मम्मीलाई भान्सामा सघाइरा'को" महेशको कुरा सुनेपछि चिन्टु भान्सामा गयो । मम्मी तरकारी केलाइ राख्‍नुभएको थियो । चिन्टुले पनि तरकारी केलाइदियो । मम्मी छक्क पर्दै चिन्टुलाई हेरिरहनुभयो ।
खाना खाइसकेपछि चिन्टुलाई फेरि बोर लाग्यो, "अब दिन कसरी बिताउने होला ?"
"रमेश के गर्दै होला" यो सोचेर उसले रमेशलाई फोन गर्‍यो, "रमेश के छ, के गरिरा'को ?"
"म त कोठा सफा गरिरा'को" रमेशले भनेपछि चिन्टुले आफ्नो कोठा हेर्‍यो ।

"छ्या, कोठा त सारै फोहोर पो भएछ त" आफ्नो कोठा चिन्टु आफैँलाई फोहोर लाग्यो । चिन्टुले खाटमा भएको लुगा किलामा झुन्ड्यायो । मम्मीले हिजो धोइदिनुभएको लुगा पट्याएर दराजमा राख्यो । ओछ्यान मिलायो । किताब, कापी, कलम सबै मिलाएर राख्यो । कुचो ल्याएर कोठा बढार्‍यो । कोठा सफा भएपछि चिन्टु भर्खरै मिलाएको ओछ्यानमा एक छिन पल्ट्यो । उसलाई आनन्द लाग्यो ।
एकछिन आराम गरेपछि चिन्टुलाई फेरि दिक्क लाग्यो, "भर्खर दिउँसो हुँदैछ । अझै पूरा दिन कसरी बिताउने होला ?"
चिन्टुले वर्षालाई फोन गर्‍यो, "वर्षा, तिमी के गरेर दिन बिताउँदैछौ ?"
"अँ, म त लुगा धोइरा'को" वर्षाले भनी ।
चिन्टुले आफ्नो लुगा हेर्‍यो । अस्ति भर्खर लगाएको सर्ट फोहोर भइसकेछ ।
चिन्टुले बाल्टिन निकाल्यो । लाइरा'को सर्ट फुकाल्यो र बाल्टिनमा राख्यो । चिन्टुले लुगा धुने साबुन खोज्यो । मम्मी चुपचाप हेरिरहनुभएको थियो । चिन्टुले धेरै बेरसम्म पनि साबुन नभेटेपछि मम्मीले साबुन ल्याएर चिन्टुको अगाडि राखिदिनुभयो र आफ्नै काममा लाग्नुभयो । चिन्टुले सर्टमा साबुन लायो, मिच्यो र पखाल्यो । लुगा सुकाउने बेलामा उसको आँखा गमलामा पर्‍यो । गमलाको फूल ओइलाउन लागिसकेको थियो । उसले गमलामा पानी हाल्यो । यतिन्जेलसम्म साँझ परिसकेको थियो । चिन्टु फेरि भान्सामा गयो । मम्मीलाई खाना बनाउन सघायो । खाना पाकिसकेपछि मम्मी, बाबासँग बसेर खाना खायो ।

चिन्टु एकछिन टिभी हेर्न बस्यो । आज दिनभरी टिभी नहेरेकोले होला उसलाई रमाइलो लाग्यो । एकैछिनमा सुत्ने बेला भयो ।
"अहो, आज त कति सजिलै दिन बितेछ" ओछ्यानमा पल्टँदै चिन्टुले सोच्यो । बिदामा बिताएको दिनमध्ये चिन्टुलाई आजको दिन सबैभन्दा रमाइलो लाग्यो ।