Pages

Monday, September 14, 2009

स्कूल जान ऊ मानेन

उठ्छु, पढ्छु, कपडा फेर्छु
सफा-सुग्घर भै ऐना हेर्छु
टिफिनसाथको झोला भिरी
स्कूल जान्छु टम् टम् टम्
              -युद्धप्रसाद मिश्र



‘स्कूल जान्छु टम् टम्’ भन्दै हिजोसम्म
झोला बोकेर पढ्न जाने ऊ
था’छैन आज किन रोक्यो
न खायो पस्केको भात
न लायो लुगा
न त रमाएर झोला नै बोक्यो
‘के भयो उस्लाई’
‘किन यस्तो भो आज’
खै कसैलै जानेन
जति फकाउँदा पनि
जति कर गर्दा पिन
स्कूल जान ऊ मानेन ।

खेल्दै नखेल्दा पनि
टी.भी. हेर्दै नहेर्दा पनि
गर्नुपर्ने पाठ धेरै हुन्थ्यो
सबै पाठ सकिन्नथ्यो कैल्यै पनि
‘किन पाठ नगरेको ?’
कुन गुरुले सोध्नुहुन्थ्यो र
एक-एकलाई उभ्याएर बेन्चमाथि
लट्ठीले पिट्नुहुन्थ्यो जहिले पनि
बिनसित्तिमा गुरुहरुबाट कुटाइ खानु
उसले राम्रो ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



पिट्न मात्र जानेका गुरुहरुबाट
मायाको आश राख्नु उसले बेकार भएछ
कसरी पढ्न सकिन्छ र मनमा डर बोकेर
पढ्न स्कूल आउनु पनि व्यर्थै भएछ
कुन गुरुले डोरीले बानेन र उसलाई
कुनले हातमा घाउ हुने गरी हानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

बुझ्नै गाह्रो थियो जति बुझाउँदा पनि गुरुले
त्यसैले पढाइमा ऊ पछि पर्थ्यो
सोधेरै भए पनि बुझ्न चाहन्थ्यो ऊ तर
धेरै सोध्यो भनेर गुरु रिसाउने गर्थ्यो
कक्षाका साथीहरुमाझ गुरुबाट बेइज्जत हुन
उसले निको ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



गुरुलाई खुसी पार्न गुरुबाट माया पाउन
सकेसम्म ऊ मेहनत गर्थ्यो
पाठ गरेको दिनमै पनि
सबै मिलाएको बेलामा पनि
एक न एक खोट गुरुले देखाएरै छोड्थ्यो
जति राम्रो गर्दा पनि कहिल्यै कसैले
‘राम्रो ग-यौ’ भन्न जानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।