Pages

Monday, December 21, 2009

हाम्रो सपना




तिमीले देखेको सपना
मैले देखेको सपना
फुल्नै नपाइकन झर्‍यो
फक्रिनै नपाइकन मर्‍यो
वैशाखमा साइतै जुरेन
कुर्दाकुदै समय
मंसिर पनि त्यसै तर्‍यो ।

उसले जन्मिनुपर्छ
चाहना तिम्रो पनि हो
इच्छा मेरो पनि हो ।
जन्मेर मात्र हुँदैन
जन्मिनुपर्छ
स्वस्थ्य, हृष्टपुष्ट र तन्दुरुस्त
किनकी,
उसको खुसीसँग तिम्रो खुसी जोडिएको छ
उसको हाँसोसँग मेरो हाँसो गाँसिएको छ
उसको जिन्दगीसँग हाम्रो जिन्दगी बाँचेको छ ।



त्यसैले,
बाधाहरू तोडेर आऊ
शंकाहरू छोडेर आऊ
म विश्वास बोकेर आउँछु
हातमा हात मिलाउँछु

तिमीले देखेको सपना
मैले देखेको सपना
फुल्न पाउनुपर्छ अब झर्नुहुन्न
फक्रिन पाउनुपर्छ अब मर्नुहुन्न
उसले जन्मिनु हतार भैसकेको छ
अब कुनै साइत कुर्नुहुन्न ।

Monday, November 30, 2009

बाध्यता




थुन्छु, अग्ल्याउँछु घरका ढोका र झ्यालहरू
टाल्छु, बन्द गर्छु भित्ताका भएभरका प्वालहरू
तैपनि मध्यरातमै ब्यूँझिन्छु र ख्वार् ख्वार् आवाज सुन्छु
यसरी नै दुःख दिन्छन् प्रत्येक रात मूसाहरूले
त्यसैले आजभोलि दिनमै समेत सुत्न बाध्य हुन्छु ।

Thursday, October 29, 2009

डरछेरुवाहरू



भाग्यमाथि रिस पोख्छन्
लड्न डराउँछन्, पुर्पुरो ठोक्छन्
जीवन जीउनु व्यर्थ ठान्छन्
दुःखलाई कर्मको लेखा मान्छन्
समाधान भेट्दैनन्
समस्याविरुद्ध सिन्को नभाँच्नेहरू
जसोतसो जीवन चलाउँछन्
केवल मर्न डराएर बाँच्नेहरू ।

थोरै खुसीमा धेरै मात्तिन्छन्
धैर्य गुमाउँछन्, दुःखमा आत्तिन्छन्
आफ्नै दुःखलाई ठूलो मान्छन्
झुन्डिन्छन् पासोमा या विष खान्छन्
कल्पनामा हराउँछन्
सत्यदेखि डर्नेहरू
अनाहकमा जीवन फाल्छन्
बाँच्न डराएर मर्नेहरू ।

Monday, September 14, 2009

स्कूल जान ऊ मानेन

उठ्छु, पढ्छु, कपडा फेर्छु
सफा-सुग्घर भै ऐना हेर्छु
टिफिनसाथको झोला भिरी
स्कूल जान्छु टम् टम् टम्
              -युद्धप्रसाद मिश्र



‘स्कूल जान्छु टम् टम्’ भन्दै हिजोसम्म
झोला बोकेर पढ्न जाने ऊ
था’छैन आज किन रोक्यो
न खायो पस्केको भात
न लायो लुगा
न त रमाएर झोला नै बोक्यो
‘के भयो उस्लाई’
‘किन यस्तो भो आज’
खै कसैलै जानेन
जति फकाउँदा पनि
जति कर गर्दा पिन
स्कूल जान ऊ मानेन ।

खेल्दै नखेल्दा पनि
टी.भी. हेर्दै नहेर्दा पनि
गर्नुपर्ने पाठ धेरै हुन्थ्यो
सबै पाठ सकिन्नथ्यो कैल्यै पनि
‘किन पाठ नगरेको ?’
कुन गुरुले सोध्नुहुन्थ्यो र
एक-एकलाई उभ्याएर बेन्चमाथि
लट्ठीले पिट्नुहुन्थ्यो जहिले पनि
बिनसित्तिमा गुरुहरुबाट कुटाइ खानु
उसले राम्रो ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



पिट्न मात्र जानेका गुरुहरुबाट
मायाको आश राख्नु उसले बेकार भएछ
कसरी पढ्न सकिन्छ र मनमा डर बोकेर
पढ्न स्कूल आउनु पनि व्यर्थै भएछ
कुन गुरुले डोरीले बानेन र उसलाई
कुनले हातमा घाउ हुने गरी हानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

बुझ्नै गाह्रो थियो जति बुझाउँदा पनि गुरुले
त्यसैले पढाइमा ऊ पछि पर्थ्यो
सोधेरै भए पनि बुझ्न चाहन्थ्यो ऊ तर
धेरै सोध्यो भनेर गुरु रिसाउने गर्थ्यो
कक्षाका साथीहरुमाझ गुरुबाट बेइज्जत हुन
उसले निको ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



गुरुलाई खुसी पार्न गुरुबाट माया पाउन
सकेसम्म ऊ मेहनत गर्थ्यो
पाठ गरेको दिनमै पनि
सबै मिलाएको बेलामा पनि
एक न एक खोट गुरुले देखाएरै छोड्थ्यो
जति राम्रो गर्दा पनि कहिल्यै कसैले
‘राम्रो ग-यौ’ भन्न जानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

Thursday, August 6, 2009

गाईजात्रा हो, हाँसौँ साथी



आकास्सिएको महँगीले जनतालाई थिच्दा पनि
पेटी हिँड्ने यात्रुलाई कार आई किच्दा पनि
धन्न हामी जिउँदै छौँ
नमरुन्जेल बाँचौँ साथी
किन लिनू व्यर्थ टेन्सन
सबै बिर्सी हाँसौँ साथी ।

बाढी आई खेतबारी पानीसँगै बग्दा पनि
हट्या छैन लोडसेडिङ बर्षा झरी लाग्दा पनि
पीर, चिन्ता छोडिदिऊँ
सन्ततिलाई साँचौँ साथी
गाईजात्रा हेरौँ देशको
उफ्री उफ्री हाँसौँ साथी ।

भोको पेटमा भात खाँदा पखालाले मर्दा पनि
सीमानाको जंगे पिल्लर रातारात सर्दा पनि
‘हैन’ भन्दै डम्फू ठोक्छ
उसकै तालमा नाचौँ साथी
रोकौँ आँसु, लुकाऊँ पीडा
मरी मरी हाँसौँ साथी ।

Tuesday, July 7, 2009

को हो तपाई ?




मैले ‘अ’ भन्दा
ऊ ‘अनार’ भन्दै कराउँथ्यो
मैले ‘क’ बोल्दा
ऊ ‘कलम’ भन्दै चिच्याउँथ्यो
मैले 'A' सुनाउँदा
ऊ 'Apple' भन्दै उफ्रन्थ्यो

यात्राको एउटा मोडमा
भएको छ भेट फेरि
टाढा भइसकेका अनुहारका
जुधेका छन् आँखा फेरि

चंचल थियो ऊ
शान्त छ
बोलक्कड थियो ऊ
शिष्ट छ
म अझै मास्टर छु स्कूलको
उसको स्थान विशिष्ट छ



पढाउँदाका दिनहरु सम्झिँदै, गुन्दै
माया गर्दाका क्षणहरु सम्झिँदै, रमाउँदै
गाली गर्दाका पलहरु सम्झिँदै, खुम्चँदै
म सोध्छु
‘बाबु के छ?’
ऊ हेर्छ पुलुक्क मेरो अनुहारमा र बोल्छ
‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’

Wednesday, June 10, 2009

ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !


छोप्दै छोपिन्न भने हत्केलाले सूर्यका रोशनीलाई
रोकिन्न भने कुनै शक्तिले पृथ्वीको गतिलाई
जाडो घट्दै घटेन नभन
अन्धकार हट्दै हटेन नभन
ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !
कुहिरोले छोपेको मात्र हो धरती
बादलले ढाकेको मात्र हो आकाश
सूर्य उदाउँदै नउदाएको होइन
घाम लाग्दै नलागेको होइन ।

रक्तिम किरणले अन्धकार पछार्नै लागेको बेला
लामो निद्रामा अलमलिएकाहरु आँखा मिच्दै जागेका बेला
पूर्व फाट्दै फाटेन नभन
उज्यालो हुँदै भएन नभन
ए, उज्यालोको गीत गाउने मान्छे !
हुन मात्र बाँकी हो बिहान
सुन्न मात्र बाँकी हो भालेको डाक
रात ढल्दै नढलेको होइन
तारा झर्दै नझरेको होइन ।



पाखामा रक्ताम्ये लाली गुराँस फुलेका बेला
घामको स्वागतमा मुस्काउँदै सूर्यमुखी झुलेका बेला
कोइलीले गाउँदै गाएन नभन
वसन्त आउँदै आएन नभन
ए, वसन्तलाई खोजी हिँड्ने मान्छे !
उड्न मात्र बाँकी हुन् भँवरा
डुल्न मात्र बाँकी हुन् पुतली
फूल फुल्दै नफुलेको होइन
शिशिर हट्दै नहटेको होइन ।

Wednesday, May 20, 2009

बाढी बनेर आउनुपर्छ




नमिलेको समाज मिलाउनु छ भने
दुःखीलाई सुख दिलाउनु छ भने
फाल्नु छ यदि समाजका कुतत्वलाई भने
गाल्नु छ पुराना संस्कारलाई भने
पुराना चिन्तन गल्नुपर्छ
थोत्रा विचारहरु जल्नुपर्छ
त्यसैले
आँधी आउनुपर्छ हूरी चल्नुपर्छ ।

घरमा नयाँ छानो छाउनु छ भने
गरीबको शासन ल्याउनु छ भने
फेर्नु छ यदि संसारलाई भने
हेर्नु छ यदि सुनौलो बिहान भने
युगौँको बन्धन चुँडाल्नुपर्छ
दासताको जन्जिर छिनाल्नुपर्छ
त्यसैले
नयाँ क्रान्ति थाल्नुपर्छ
एक जुट भइ मुठ्ठी उचाल्नुपर्छ ।

भेदभावको अन्त्य गर्नु छ भने
समानताको लागि लड्नु छ भने
लाउनु छ यदि जनतासँग प्रीत भने
गाउनु छ यदि स्वतन्त्रताको गीत भने
कलमलाई जोडले समाउनुपर्छ
समाजमा उथलपुथल ल्याउनुपर्छ
त्यसैले
सरितासरि बगेर पुग्दैन कविता
बाढी बनेर आउनुपर्छ ।

Saturday, May 2, 2009

कविताको अन्त्य




बटुलेर अक्षरहरू
जोडेर एक आपसमा
एक कठ्याँग्रिँदो बिहान
चिसो हावाको विरुद्ध
कविता लेखेँ
रिसाएर हावा
आयो आँधी
र उडायो अक्षरहरू कविताबाट
अनि
हावामै कतै लुक्यो कविता ।

फुलिरहँदा फूल बगैँचामा
ओर्लेकै बेला वसन्त धरतीमा
फूलको रक्षार्थ
काँडाको विरुद्ध
कविता लेखेँ
झोक्किएर काँडा
रोपिए पन्ना पन्नामा
अनि
सहनै नसक्ने गरी
दुख्यो कविता ।

लेख्दालेख्दै उज्यालोको कविता
चर्कियो घाम
र पोल्यो अक्षरहरूलाई
अनि
घामकै पोलाइविरुद्ध
कविता लेखेँ
मुर्मुरिँदै घाम अझै तात्तियो बेस्सरी
पग्लियो अक्षर
अनि बाफिएर
सुक्यो कविता ।

Tuesday, April 14, 2009

नआए हुन्छ



रुझेका आमाका परेली
पुछ्न सक्दैनस् भने
दुःखी जीवनको सुखद् सपना
बुझ्न सक्दैनस् भने
सक्दैनस् भने
कुनै नयाँ युगको गीत गाउन
सक्दैनस् भने
आफैँ नयाँ बनेर आउन
ए, नयाँ वर्ष !
तँ मेरो आँगनीमा नआए हुन्छ
कसैले नयाँ वर्षको नाममा
पुरानै गीत नगाए हुन्छ ।


सानो बाबुको भोको पेटमा
अन्नको गेडो हाल्न सक्दैनस् भने
सानी बहिनीको जीउको लुगामा
परेको प्वाल टाल्न सक्दैनस् भने
सक्दैनस् भने
अन्धकार जीवनमा उज्यालो छर्न
सक्दैनस् भने
रित्तो जीवनलाई खुसीले भर्न
ए, नयाँ वर्ष !
तँ मेरो घरमा नछिरे हुन्छ
फर्केर जा
फेरि कहिल्यै नफिरे हुन्छ ।

Saturday, April 4, 2009

तिमीले कस्तो कुरा ग-यौ ?




रातलाई दिनमा बदल्ने कुरा ग-यौ
अँध्यारोलाई उज्यालो बनाउने कुरा ग-यौ
बस्तीहरू छट्पटाइरहेकै छन् अन्धकारमा अझै
तिमीले कुन दीपावली मनाउने कुरा ग-यौ ?

तारालाई जमिनमा झार्ने कुरा ग-यौ
धरतीलाई झलिमिली पार्ने कुरा ग-यौ
आँखा हुँदै बाँच्नुपरेको छ दृष्टिविहिन जीवन
कुरैकुराले समस्यालाई टार्ने कुरा ग-यौ ।

Saturday, March 21, 2009

मैले जितेको चुनाव



बसेकाहरूको टाउकामा टेकेँ
हिँड्न खोज्नेको बाटो छेकेँ
निहूँ खोज्नेलाई पिटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।

अघि बढ्न खोज्नेको खुट्टो तानेँ
आफूलाई तान्नेलाई लात्तले हानेँ
शक्ति देखाएँ, विचार मेटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।

कुटाकुट कति, कति झगडा भए
लुला हातगोडा पनि तगडा भए
विरोधी जति जम्मैलाई खेदेरै छाडेँ
हो, आखिर मैले जितेरै छाडेँ।

Monday, March 9, 2009

गुमराहमा स्रष्टा


एउटा कविता जो छापिन्छ पाठ्यपुस्तकमा, तर लेख्नेलाई थाहा हुन्न। आज त्यही कविताको चर्चा गर्ने जमर्को गरेको छु। २०५७ सालमा जब म सानै थिएँ, बाल साहित्यमा रुचि राख्थेँ र त्यहीताका एउटा कविता रचेँ 'मेरो धोको छ'। बालपत्रिकामा छाप्ने रहरले 'बालकोसेली' पत्रिकाका सम्पादक लाई कविता बुझाएँ। तर कविता छापिएन। यसपछि सो कविता कसैलाई दिएको पनि छैन, मेरै पाण्डुलिपिमा मात्रै सुरक्षित थियो।
पाँच दिन अघि मात्र स्कूल (जहाँ म पढाउँछु) का एक विद्यार्थीले एउटा किताब देखाउँदै सोधे, 'सर यो कविता तपाईँले लेख्नुभएको हो ?'
मैले किताब हातमा लिएँ र पढेँ । कविता मेरै हो र नाम पनि मेरै छ। 'हो मैले नै लेखेको हूँ' मैले जवाफ दिएँ।
'हाम्रो सरले लेख्नुभएको कविता' उनी रमाउँदै कक्षाका साथीलाई सुनाउन हिँडे। म रमाउन सकिनँ। कसरी छापियो मेरो कविता त्यो पनि मेरो स्वीकृतिबिना ? मैले किताब फेरि हेरेँ। कक्षा ३ का लागि पालुवा प्रकाशनले प्रकाशन गरेको त्यो किताब २०६४ सालमा पहिलो पल्ट छापिएको रहेछ।
मैले बालकोसेलीलाई दिएको कविता 'पालुवा'ले कहाँबाट पायो ? त्यसमाथि लेख्ने मान्छेलाई एक पल्ट पनि नसोधी किन छाप्यो ? यी कुराहरु बुझ्ने प्रयास गर्दैछु। लेख्नेलाई गुमराहमा राखेर सिर्जना छाप्ने अधिकार कसैलाई छैन।
त्यो कविता यसप्रकार छः


मेरो धोको छ



दिनभरि मेलापात पिठ्यूँमाथि डोको छ
कापी कलम किताब लिई पढ्ने धोको छ
पढ्न लेख्न नपाउँदा मन साह्रै रो’को छ
तर मलाई ठूलो मान्छे बन्ने धोको छ

गरीब छु म तर मेरो मनचाहिँ चोखो छ
अरुसरह हाँसी-खेली बस्ने धोको छ
खान्छन् कोही मीठा-मीठा पेट मेरो भोको छ
पेटभरि खाने मेरो ठूलो धोको छ

श्रम गर्छन् एकथरि धन थुपार्ने को-को छ
गरीब-धनी सम्मिएको हेर्ने धोको छ
मनभरि चाहना र आकांक्षा र चाहनाको पोको छ
उडी-उडी चन्द्र छुने मेरो धोको छ ।
२०५७/४/८

Wednesday, February 18, 2009

प्रजातन्त्रको चित्र



त्यहाँ झुप्रो-छाप्रो थिएन
त्यहाँ ठूलो महल थिएन
उत्रै/उस्तै थिए सबै
सानो-ठूलो घर थिएन

मागी हिँड्ने ‘माग्ने’ थिएन
पैसा लुकाउँदै भाग्ने थिएन
सबले पेट भर्न पाउँथे
भोकाउने/डकार्ने कोही थिएन

विद्यार्थी कुट्ने गुरु थिएन
पढ्न बोझिला किताब थिएन
बगैँचामा पुतलीझैँ रमाउँथे विद्यार्थी
जेलजस्तो स्कूल थिएन

गधाझैँ जोतिने मजदूर थिएन
काम ठग्ने कुनै अल्छी थिएन
बीउ छर्थ्यो किसान, भित्र्याउँथ्यो बाली
भकारी भर्ने जिमिन्दार थिएन

लाग्नेबाट हेपिने स्वास्नी थिइन
स्वास्नी कुट्ने लोग्ने थिएन
नारी-पुरुष एकसाथ हुन्थे
दुईबीच कुनै फरक थिएन

सहयोगी थिए मान्छे
झैँ-झगडा कतै थिएन
सबै मान्छे समान थिए
भेदभाव छँदै थिएन

सबै मिली बनाउँथे नियम
नियम मिच्ने कोही थिएन
दुःख थिएन, कष्ट थिएन
लोभ-लालच, इर्ष्या थिएन



त्यहाँ अग्लो हिमाल थिएन
त्यहाँ होचो पहाड थिएन
साँचो चित्र त्यो प्रजातन्त्रको
अग्लो-होचो ठाउँ थिएन ।

Thursday, February 5, 2009

देख्न छाड्दिन सपना


थाके तापनि गोडाहरु
गले तापनि शरीरहरु
खाइए पनि ठक्कर
प्रत्येक पाइलामा
अल्मलिए पनि बाटाहरु
प्रत्येक मोडमा
म सार्न छाड्दिन पाइला
म हिँड्न छाड्दिन यात्रा ।

आइपरे तापनि दु:खहरु
खानु परे तापनि हण्डरहरु
झर्नै परे पनि प्रत्येक चाढाइमा
ओर्लनै परे पनि प्रत्येक उक्लाइमा
म चढ्न छाड्दिन शिखर
म उक्लिन छाड्दिन पहाड ।

अस्ताए पनि सूर्य
ओर्ले पनि घाम
छोपे पनि धर्ती रातले
डुबे पनि वस्ती अन्धकारमा
म गर्न छाड्दिन
विहानीका कल्पनाहरु
म देख्न छाड्दिन
उज्याला सपनाहरू ।

Monday, January 19, 2009

आइज बूढी वार्ता गरौँ



तैंले कुचो फालिस्, मैले जुत्ताले हानेँ
तैंले डाडू उचालिस्, मैले जिस्केको ठानेँ
तँ त साँच्चै रिसाइछस्, भैगो अलि पर सरौँ
एक एक स्टेप तल झरौँ, आइज बूढी वार्ता गरौँ।


मलाई चित्त नबुझेको म भन्छु, तेरो कुरा तँ भन्
सबको मनको कुरा बुझौँ, बोला हाम्रो daughter son
कोलाहल भो वातावरण, दुवै मिली शान्ति छरौँ
रिस थामौँ एकैछिनलाई, आइज बूढी वार्ता गरौँ।


वार्ताबाट मिलिसके कत्रा–कत्रा कुराहरू
हाम्रो पनि समाधान वार्ताबाटै सुरु गरौँ
समस्यालाई हटाउन दुवै मिली लागी परौँ
डाडू फाल्, कलम समात्, आइज बूढी वार्ता गरौँ ।
२०६४

Thursday, January 1, 2009

कसरी दिऊँ शुभकामना ?



पूर्वको मधुरो घाम फेरिएकै छैन
बदलियो नारा तर काम फेरिएकै छैन
नयाँ केही भएकै छैन
पुरानो केही गएकै छैन
अनि कुन मनले व्यक्त गरूँ खुसी ?
गर्नु परेकै छ अप्ठेरोको सामना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?

जातीय, वर्गीय भेदभाव उही छ
गरीबी, भोकमरी र अभाव उही छ
शान्ति अझै हराएकै छ
थीर छैन मन डराएकै छ
विश्व बढेको छ जग बसाल्न चन्द्रमामा
हाम्रो युग फेरिएन, उही छ जमाना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?

उस्तै छ रीति, थिति बदलिएन
हटेन कुचलन, संस्कृति बदलिएन
सडकमा जिन्दावाद, मुर्दावाद छ अझै
पुरानै नेपालको स्वाद छ अझै
भत्काएर पुराना, नयाँ बनाउन
अझै बाँकी नै छ कोर्न योजना
यो बेलामा भन साथी,
कुन शब्दले दिऊँ
नयाँ वर्षको शुभकामना ?
२०६५/०९/१७
(January 1, 2009)