Pages

Showing posts with label हास्यव्यंग्य. Show all posts
Showing posts with label हास्यव्यंग्य. Show all posts

Thursday, August 6, 2009

गाईजात्रा हो, हाँसौँ साथी



आकास्सिएको महँगीले जनतालाई थिच्दा पनि
पेटी हिँड्ने यात्रुलाई कार आई किच्दा पनि
धन्न हामी जिउँदै छौँ
नमरुन्जेल बाँचौँ साथी
किन लिनू व्यर्थ टेन्सन
सबै बिर्सी हाँसौँ साथी ।

बाढी आई खेतबारी पानीसँगै बग्दा पनि
हट्या छैन लोडसेडिङ बर्षा झरी लाग्दा पनि
पीर, चिन्ता छोडिदिऊँ
सन्ततिलाई साँचौँ साथी
गाईजात्रा हेरौँ देशको
उफ्री उफ्री हाँसौँ साथी ।

भोको पेटमा भात खाँदा पखालाले मर्दा पनि
सीमानाको जंगे पिल्लर रातारात सर्दा पनि
‘हैन’ भन्दै डम्फू ठोक्छ
उसकै तालमा नाचौँ साथी
रोकौँ आँसु, लुकाऊँ पीडा
मरी मरी हाँसौँ साथी ।

Saturday, March 21, 2009

मैले जितेको चुनाव



बसेकाहरूको टाउकामा टेकेँ
हिँड्न खोज्नेको बाटो छेकेँ
निहूँ खोज्नेलाई पिटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।

अघि बढ्न खोज्नेको खुट्टो तानेँ
आफूलाई तान्नेलाई लात्तले हानेँ
शक्ति देखाएँ, विचार मेटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।

कुटाकुट कति, कति झगडा भए
लुला हातगोडा पनि तगडा भए
विरोधी जति जम्मैलाई खेदेरै छाडेँ
हो, आखिर मैले जितेरै छाडेँ।

Monday, January 19, 2009

आऊ Dear वार्ता गरौँ



तिमीले कुचो फाल्यौ, मैले जुत्ताले हानेँ

तिमीले डाडू उचाल्यौ, मैले जिस्केको ठानेँ

तिमी साँच्चै रिसाइछौ, भैगो अलि पर सरौँ

एक एक स्टेप तल झरौँ, आऊ Dear वार्ता गरौँ।





अस्ति मात्र झगडा भयो मोबाइलको स्क्रिन फुट्यो

हिजो अलि चर्कै पर्‍यो पछाडिको हड्डी टुट्यो

माफी दिऊँ एक अर्कालाई मन मुटुमा माया भरौ

रिस थामौँ एकैछिनलाई, आऊ Dear वार्ता गरौँ।



गको महिना फुटेको नाक बल्ल बल्ल निको भाछ

के के जात्रा उधुम भयो कि तिमीलाई कि मलाई था छ

सबै कुरा गोप्य राखौं अब घरमा शान्ति छरौं

डाडू फाल, कलम समाऊ, आऊ Dear वार्ता गरौँ।


लेखनः २०६४ पुनर्लेखनः २०८२

Saturday, December 20, 2008

लोकतन्त्र आ'छ



घरमा झगडा परे सडकमा जाऔँ
'जिन्दावाद' 'मुर्दावाद' नारा लाऔँ
सबले विरोध गर्न पा'छ
ऐले देशमा लोकतन्त्र आ'छ

ढुङ्गा हानौँ, टायर बालौँ
रेलिङ भत्काऔँ, सडकमा फालौँ
चित्त नबुझ्या पोख्न पा'छ
ऐले देशमा लोकतन्त्र आ'छ

बन्द गरौँ, चक्का जाम गरौँ
भत्काउने, बिगार्ने काम गरौँ
जीत हुनेछ हाम्रै था'छ
ऐले देशमा लोकतन्त्र आ'छ

Wednesday, December 3, 2008

बत्ती आउने रे





(लोडसेडिङमा लेखिएका अक्षर बत्ती बालेर पढ्नुहोला ।)


बहिनीले होमवर्क गर्न पाउने रे

सानो भाइले क्यासेट सुन्दै गीत गाउने रे

के अचम्म हाम्रो घरमा खुशी छाउने रे

धेरै पछि आज बल्ल बत्ती आउने रे ।