सपना देख्नै हुन्थेन, देखेँ
गल्ती गरेँ
जन्मिनै नहुने थियो, जन्मेँ र
यो देशमा पाइला टेकेँ
गल्ती गरेँ
पटक पटक असफलता हात लाग्दा समेत
सफल हुन्छु कि भन्नेँ आश गरिरहेँ
बाँच्नलाई बेइमानी गर्नुपर्दो रहेछ
म इमान र स्वाभिमान लाई बोकेर लागी परिरहेँ
मान्छेहरु धोकेबाज हुँदा रहेछन्
सबलाई विश्वास गरेँ र गल्ती गरेँ
दुःख पछि सुख हुन्छ पक्कै भन्ने
ठूलो भ्रममा परेँ र गल्ती गरेँ
मेरी प्यारी
तिमीलाई सुख दिउँला भन्ने बाचा पूरा गर्न सकिनँ
छोरी
जिन्दगीमा हार्नु हुन्न भन्ने सिकाउँदा सिकाउँदै
आफ्नै समस्यासँग मैले लड्न सकिनँ
देश लुटेराहरुको रहेछ
लुट्न ठग्न र चोर्न सकिनँ
गल्ती गरेँ
भाग्य आफैंले लेख्नुपर्छ भन्थेँ
आफ्नै भाग्य कोर्न सकिनँ
गल्ती गरेँ
प्यारी
छोरीहरुलाई सिकाउनु
यो देश हाम्रो लागि होइन
हाम्रो लागि कुनै राज्य छैन
सकिन्छ विदेश जानु र देशमा पाइला नटेक्नु
सकिन्नँ भने पनि देशमा केही होला र पाउला भन्ने सपना देख्दै नदेख्नु
मेरा हर सपनाको मृत्युको मुकदर्शक बनेर बस्न नसकेपछि
सपनाका हत्याराहरुको हत्या गर्नुपर्थ्यो सकिनँ गल्ती गरेँ
बीच सडकमा जल्दै गर्दा शरीर आगोले
सोचेँ आगो संसद भवनमा लगाउनुपर्थ्यो सकिनँ गल्ती गरेँ
नीरज स्वप्नदर्शी
माघ ११ गते २०७९
5 प्रतिक्रिया:
अत्यन्तै मार्मिक लेख ।
मीठो कबिता
Super .. speechless .sir.
निर्मम रहेको छ राष्ट्रिय नीति र अवस्था !
अत्यन्तै राम्रो लेख सर ।
Post a Comment