Pages

Tuesday, January 26, 2010

छोपेर आफ्नै अनुहार

‘सञ्चै हुनुहुन्छ ?’ बाटोमा हिँड्दै गर्दा एक्कासी उनलाई देखेपछि औपचारिकता निभाउनकै लागि भए पनि मुसुक्क हाँसेर मैले सोधेँ ।
उनले मलाई देखिनन् र मैले बोलेको सुनिनन्, चूपचाप अघि बढिन् । म पनि आफ्नै बाटो लागेँ ।
उही समय, उही ठाउँ, उसैगरी भोलिपल्ट फेरि उनीसँग भेट भयो ।
‘कता हिँड्नुभयो ?’ अलि ठूलै स्वरमा सोधेँ । उनले आज पनि मलाई देखिनन् र मलाई सुनिनन् । आफैँलाई लाज लाग्यो । वरिपरि नियालेँ –‘कसैले हेरिरहेको पो छ कि ?’ अनि लुसुक्क लागेँ आफ्नो बाटो ।
नियमित भेट हुन थाल्यो, उनीसित । बोल्न छाडे पनि मुसुक्क हाँसेर मैले आफ्नो कर्तव्य निभाएँ । उनले हाँसोको जवाफ दिइनन् ।
‘उनी’ एक पात्र हुन् ।
‘उनी’ मेरी स्कूलकी classmate, अफिसकी साथी, अनि कुनै समय मैले पढाएकी विद्यार्थी ।
‘उनी’ स्कूलका राम्रा साथीमध्ये एक थिइन् । पढाइमा गारोसारोमा एकले अर्कालाई सघाउनु हाम्रो नियमितता थियो । आज हामी फरक फरक college मा पढ्छौँ । कतै बाटोमा भेट भइहाले ‘उनी’ मुन्टो फर्काउँछिन् ।


‘उनी’ अफिसमा राम्रै सहयोगी थिइन् । आज मैले आफ्नो कार्यक्षेत्र बदलेँ । कहिलेकाहीँ सामुन्ने पर्दा टाउको लुकाउँछिन् र बाटो लाग्छिन् ।
‘उनी’ अस्तिसम्म मैले पढाउँदा साह्रै आत्मीय थिइन् ।
‘सर, यो कसरी ? यो के हो ?’ नबुझेका कुरा फोन गरेरै पनि सोध्थिन् । class सिद्धिएको एक हप्ता बितेको छैन, आज मलाई देखिहालिन् भने बाटो काट्छिन् र अर्कै साइडबाट हिँड्छिन् ।
‘उनी’सँगको प्रत्येक भेट वा देखाइमा म प्रत्येक पल्ट मुसुक्क हाँस्छु र हाँसोको जवाफ नपाएपछि लज्जित हुँदै आफ्नो बाटो लाग्छु ।
स्कूल, कलेज वा अफिसमा सँगै हुँदा राम्रै व्यवहार गर्ने ‘उनी’हरू किन बाटोमा भेट्दा नदेखेझैँ गर्छन् ? मैले मुसुक्क हाँस्दा किन हाँसोको जवाफै नदिई मुन्टो बटार्छन् ?


मलाई बाटोमा भेट्दा ‘उनी’हरूलाई पर्ने अप्ठोरो देखेर म आफैँ अप्ठेरो महसूस गर्न थालेको छु । त्यसैले आजभोलि म मास्क लाएर हिँड्छु, छोपेर आफ्नै अनुहार । ता कि मलाई बाटोमा भेट्दा मलाई नचिन्न ‘उनी’हरूलाई सजिलो होस् र ‘उनी’हरूले मुन्टो फर्काउनु नपरोस् ।