Pages

Monday, May 28, 2012

हिजोजस्तै आज पनि

हिजोजस्तै आज पनि

सखारै बासे भाले
लुके जुन– ताराहरू

उदायो न्यानो घाम पूर्व क्षितिजमा


एक्कासी सल्किएको आगोले
खरानी बनाए तापनि खोर
बास्न बिर्सेन भाले
ब्यूँझाउन जगत्
दिउँसै मडारिएर बादलले
छोपिए तापनि आकाशभित्र
उदाउन छाडेन सूर्य
बोलाउन बिहान



हिजोजस्तै आज पनि

चिर्बिराए चरी रूखका टोड्कामा
मुस्काए फूलहरू बगैँचामा


बेस्सरी चलेको हूरीले
भत्काए पनि गूँड
चिर्बिराउन भुलेन चरी
गाउन जीवन–गीत
खसेर पहाड पहिरोले
पुरिए पनि बगैँचा
मुस्काउन छाडेन फूल
जगाउन विश्वास

हिजोजस्तै आज पनि
सखारै बासे भाले
लुके जुन– ताराहरू

उदायो न्यानो घाम पूर्व क्षितिजमा ।

Thursday, April 12, 2012

मन लागेन

कलह बढ्दै गर्दा घरभित्र
शत्रु बन्दै जाँदा आफ्नै मित्र
टुटे टुटुन् सम्बन्धहरु
फेरि अरुसँग मितेरी लाउनै मन लागेन


जति छायो उति नै चुहिन्थ्यो छानो
चैते हूरीले त्यो पनि उडायो
किन हो खुल्ला आकाश हेर्नमै रमायो मन
घरको छानो छाउनै मन लागेन

एकातिर टाल्दा अर्कोतिर उध्रियो
कति टाल्नु जडाउरी कपडा
नांगै बस्न तयार भएँ
नयाँ लुगा सिलाउनै मन लागेन


पहिरोले थिच्न आउँदा आफैँलाई
खुर्मुरिएँ पहाडबाट
जीवनको माया नलागेर हो वा
मृत्युको डर नभएर हो
तिमीले दिएको हात समाउनै मन लागेन



देखेर तिम्रो उदास अनुहार,
मलाई रमाउनै मन लागेन
तिमीले बोलायौ
तर आउनै मन लागेन
Happy New Year भन्यौ
जवाफ फर्काउनै मन लागेन
यसपालि नयाँ वर्षको गीत
गाउनै मन लागेन

Saturday, March 17, 2012

हिँड्न थाल्दा



हिँड्न थाल्दा,
म पनि
लडेथेँ बाटाहरूमा
ठोक्किएथेँ ढुङ्गाहरूमा
चिप्लिएथेँ उकालीहरूमा
तर रोकिनँ हिँड्न
र त
लड्दाखेरि उठ्न सिकेँ
पन्छाएर ढुङ्गा अघि बढ्न सिकेँ
बनाएर गोरेटो पहाड चढ्न सिकेँ ।

हिँड्न थाल्दा,
म पनि
अल्मलिएथेँ दोबाटाहरूमा
अताल्लिएथेँ अप्ठ्याराहरूमा
डराएथेँ अँध्यारोहरूमा
तर छोडिनँ अघि बढ्न
र त
दोबाटाहरूमा बाटो चुन्न सिकेँ
अप्ठ्यारा आउने बाटाहरू थुन्न सिकेँ
अँध्याराहरूमा निडर हुन सिकेँ ।