
थाके तापनि गोडाहरु
गले तापनि शरीरहरु
खाइए पनि ठक्कर
प्रत्येक पाइलामा
अल्मलिए पनि बाटाहरु
प्रत्येक मोडमा
म सार्न छाड्दिन पाइला
म हिँड्न छाड्दिन यात्रा ।
आइपरे तापनि दु:खहरु
खानु परे तापनि हण्डरहरु
झर्नै परे पनि प्रत्येक चाढाइमा
ओर्लनै परे पनि प्रत्येक उक्लाइमा
म चढ्न छाड्दिन शिखर
म उक्लिन छाड्दिन पहाड ।
अस्ताए पनि सूर्य
ओर्ले पनि घाम
छोपे पनि धर्ती रातले
डुबे पनि वस्ती अन्धकारमा
म गर्न छाड्दिन
विहानीका कल्पनाहरु
म देख्न छाड्दिन
उज्याला सपनाहरू ।
2 प्रतिक्रिया:
कविता मार्फत शसक्त भाब पोख्न माहिर - कलयात्री जी को यात्रा गजब कै छ अनि राम्रो पनी ।
अनि त्यसमा पनी यस्तो इच्छा शक्ति रहेको पाए ...."देख्न छाड्दिन सपना" भनेको पाउदा ।
बेला बेला मा भए पनी उदाउदै हुनु हुन्छ खुसी लागेको छ ।
एउटा नेपालीको नहार्ने-नथाक्ने अटल मनोभाव प्रकट भए जस्तै लाग्यो तपाईँको कविता पढ्दा । एकल यात्रीको यात्रा पनि यो भन्दा कमको छैन शब्दपथमा । शुभ यात्रा सधैँलाई ।
Post a Comment