छोप्दै छोपिन्न भने हत्केलाले सूर्यका रोशनीलाई
रोकिन्न भने कुनै शक्तिले पृथ्वीको गतिलाई
जाडो घट्दै घटेन नभन
अन्धकार हट्दै हटेन नभन
ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !
कुहिरोले छोपेको मात्र हो धरती
बादलले ढाकेको मात्र हो आकाश
सूर्य उदाउँदै नउदाएको होइन
घाम लाग्दै नलागेको होइन ।
रक्तिम किरणले अन्धकार पछार्नै लागेको बेला
लामो निद्रामा अलमलिएकाहरु आँखा मिच्दै जागेका बेला
पूर्व फाट्दै फाटेन नभन
उज्यालो हुँदै भएन नभन
ए, उज्यालोको गीत गाउने मान्छे !
हुन मात्र बाँकी हो बिहान
सुन्न मात्र बाँकी हो भालेको डाक
रात ढल्दै नढलेको होइन
तारा झर्दै नझरेको होइन ।
पाखामा रक्ताम्ये लाली गुराँस फुलेका बेला
घामको स्वागतमा मुस्काउँदै सूर्यमुखी झुलेका बेला
कोइलीले गाउँदै गाएन नभन
वसन्त आउँदै आएन नभन
ए, वसन्तलाई खोजी हिँड्ने मान्छे !
उड्न मात्र बाँकी हुन् भँवरा
डुल्न मात्र बाँकी हुन् पुतली
फूल फुल्दै नफुलेको होइन
शिशिर हट्दै नहटेको होइन ।
7 प्रतिक्रिया:
एकदमै राम्रो कविता !! मनपर्यो !
उत्प्रेरक र convenes गर्ने कविता...मनपर्यो...
Great poem and pic, Keep it up, and Thank you for sharing to all.
सकारात्मक भावना र उत्साह उमार्ने सुन्दर कविता !
मलाई पनि एकदमै मन पर्यो।
"बादलले ढाकेको मात्र हो आकाश
सूर्य उदाउँदै नउदाएको होइन
घाम लाग्दै नलागेको होइन"
बिशेष !!!!
समाजमा सबैतीर आक्रोश, नैराश्य र वैमनस्यता फैलिन लागेको र लेखनीमा पनि समाजको त्यहि बिम्महरुनै सबैतर्फ हावी भएक बेलामा तपाईको सकारातम्क भावले केहि भए पनि जोश र नयाँ उर्जा दिएको छ।
म आशा तथा कामना गर्छु तपाईका हरेक अन्तिम २ हरफहरु सहि निक्लिउन:
सूर्य उदाउँदै नउदाएको होइन
घाम लाग्दै नलागेको होइन ।
रात ढल्दै नढलेको होइन
तारा झर्दै नझरेको होइन ।
फूल फुल्दै नफुलेको होइन
शिशिर हट्दै नहटेको होइन ।
एबमस्तु !
oh ! i like this poem
Post a Comment