Pages

Saturday, April 25, 2020

मम्मी दशैँ आ'को हो ? : लकडाउन साहित्य-१



मम्मी तपाईंको अफिस किन बन्द भा'को हो ?
बाबा किन काममा नजानु भा'को हो ?
मेरो स्कूल पनि छुट्टी भो, के भा'को ? दशैं आ'को हो ?

अफिसबाट आउँदा सधैं चकलेट ल्याइदिनुहुन्थ्यो,
आज तपाईंको गोजी किन रित्तो भा'को हो ?
हिजो बाबा किन रिसाउनुभा'को तपाईंसँग ?
किन मसँग झर्किनुभा'को हो ?
उहाँको आँखामा कसरी आँसु आ'को हो ?
आजभोलि घरमा भात नपकाइकन
हामी सडकमा किन खान गा'को हो ?
मम्मी के भा'को, दशैं आ'को हो ?


हामी हाम्रै घर जाने लागेको हैन र ?
पुलिस अंकलले किन रोक्नुभा'को हो ?
पहिला पहिला बसमा चढेर हाँसीखुसी जान्थ्यौं घर
यसपालि किन गाडी नपा'को हो ?
घरमा खसी काट्थ्यो होला नि,
हाम्ले किन मागेर खा'को हो ?
मम्मी के भा'को, दशैं आ'को हो ?

                       वैशाख १०, २०७६ । कीर्तिपुर



0 प्रतिक्रिया:

Post a Comment