Pages

Thursday, April 12, 2012

मन लागेन

कलह बढ्दै गर्दा घरभित्र
शत्रु बन्दै जाँदा आफ्नै मित्र
टुटे टुटुन् सम्बन्धहरु
फेरि अरुसँग मितेरी लाउनै मन लागेन


जति छायो उति नै चुहिन्थ्यो छानो
चैते हूरीले त्यो पनि उडायो
किन हो खुल्ला आकाश हेर्नमै रमायो मन
घरको छानो छाउनै मन लागेन

एकातिर टाल्दा अर्कोतिर उध्रियो
कति टाल्नु जडाउरी कपडा
नांगै बस्न तयार भएँ
नयाँ लुगा सिलाउनै मन लागेन


पहिरोले थिच्न आउँदा आफैँलाई
खुर्मुरिएँ पहाडबाट
जीवनको माया नलागेर हो वा
मृत्युको डर नभएर हो
तिमीले दिएको हात समाउनै मन लागेन



देखेर तिम्रो उदास अनुहार,
मलाई रमाउनै मन लागेन
तिमीले बोलायौ
तर आउनै मन लागेन
Happy New Year भन्यौ
जवाफ फर्काउनै मन लागेन
यसपालि नयाँ वर्षको गीत
गाउनै मन लागेन

Saturday, March 17, 2012

हिँड्न थाल्दा



हिँड्न थाल्दा,
म पनि
लडेथेँ बाटाहरूमा
ठोक्किएथेँ ढुङ्गाहरूमा
चिप्लिएथेँ उकालीहरूमा
तर रोकिनँ हिँड्न
र त
लड्दाखेरि उठ्न सिकेँ
पन्छाएर ढुङ्गा अघि बढ्न सिकेँ
बनाएर गोरेटो पहाड चढ्न सिकेँ ।

हिँड्न थाल्दा,
म पनि
अल्मलिएथेँ दोबाटाहरूमा
अताल्लिएथेँ अप्ठ्याराहरूमा
डराएथेँ अँध्यारोहरूमा
तर छोडिनँ अघि बढ्न
र त
दोबाटाहरूमा बाटो चुन्न सिकेँ
अप्ठ्यारा आउने बाटाहरू थुन्न सिकेँ
अँध्याराहरूमा निडर हुन सिकेँ ।

Saturday, November 26, 2011

आमाको विश्वास

फिँजाएर ओठ, देखाएर चम्किला सेता दाँत
हिमालसँगै मुस्काउन छोडेकी छैन अझै
कैले सुसाउँदै, कैले उर्लँदै
नदीसँगै कलकल बग्न छोडेकी छैन अझै
तैँले सोचेजस्तो नराम्री त छँदैछैन म
तैँले सम्झेजस्तो कमजोर भैसकेकी छैन अझै ।


[photo:theodora.com]

तँलाई टाँसेको छाति तेरै मायामा तड्पिन्छ घरिघरि
तँलाई खेलाएको काख तैँलाई खोज्दै भौतारिन्छ वरिपरि
भुलेर न्यानो माया तँ अर्कै संसारमा भए पनि
छोडेर आमाको काख तँ अन्तै पाहुना हुन गए पनि
मेरो मनले तेरै बारेमा सोच्न छोडेको छैन अझै
सोध्नै बिर्सिस् रे तैँले सञ्चो बिसञ्चो नि आजभोलि
सपनीमा मैले तैँलाई खोज्न छोडेकी छैन अझै ।


[photo:nepali-pictures.com]

तैँले छोड्दा थोरै विचलित भएकै हूँ
तर ‘आमा बौलाई’ भन्ने हल्ला नचलाएस्
बाँचिरा’कैछु स्वाभिमानी भएर
‘आमा मरिसकी’ भन्ने हावा नफैलाएस्
छाए पनि आँखामा थोरै अँध्यारो
घामसँगै अझै उज्यालिएकै छु
बोकेर शीरमा सगरमाथा
राखेर छातिमा लुम्बिनी
म गर्वका साथ उभिन छोडेकी छैन अझै
कोइलीको कुहुकुहुसँगै
सुनाउँदै छहराको गीत
बजाउँदै ऐँसेलुका पात
पहरामा गुराँस फुलाउन छोडेकी छैन अझै ।

थाहा छ,
सम्झेर मेरो न्यानो काख
सम्झेर मेरो ममतामयी अँगालो
एकदिन
‘आमा’ भन्दै मेरै काखमा लुट्पुटिन आउनेछस्
बगाउँदै अश्रुधारा
मेरै छातिमा मुन्टो लुकाउनेछस्
तँमाथिको मेरो भरोसा
मरिसकेको छैन अझै
विश्वास छ,
त्यो दिन आउनेछ छिट्टै
विश्वास गुमाएकी छैन अझै
मैले विश्वास गुमाएकी छैन अझै ।


[photo:greentatatrust.com]

Tuesday, October 25, 2011

शुभकामना


[तस्वीरः myaawaz.com]

दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र शायद ज्याला नयाँ ।
दशैँ जस्तो भए पनि तिहार राम्रै बित्ने भयो भन्ने सोचेर नरमान दंग पर्‍यो र तिहारको किनमेलको योजना बुन्न थाल्यो ।
′बुबा मलाई एक जोर नयाँ जुत्ता ′ दशैँदेखि भन्दै आएको उही कुरो दोहोर्‍याई छोरीले ।
छोरो बोल्यो, ′मलाई जसरी भए पनि मोबाइल है बुबा ′
स्वास्नी बोलिनँ । तर उसको ठाउँ ठाउँमा टालेको धोतीले सबै बोलिरहेको थियो । नयाँ आश लिएर नरमान आज काममा हिँड्यो । दिनभरी पसलमा काम गरिसकेपछि ऊ साहूको अगाडि पुग्यो र बिन्ती बिसायो, ′साहूजी, तिहार मुखैमा आइसक्यो ... ′
उसले वाक्य टुंग्याउनै परेन । ′ए, भुसुक्कै बिर्सेछु, एकछिन पख है ′ यसो भन्दै साहू भित्र कोठमा गयो र एकछिन पछि एउटा खाम ल्याएर नरमानको हातमा थमाइदियो । दंग पर्दै नरमानले खाम खोल्यो । खामभित्र एउटा रंगिन शुभकामना कार्ड थियो ।

Saturday, October 15, 2011

एउटा मृत्यु



हिँड्दाहिँड्दै
पाठका गोरेटाहरूमा
अल्मलियो
र
पृष्ठहरूमा चिप्लिएर ऊ लड्यो ।

चाहार्दा चाहार्दै
व्याकरण र अभ्यासहरूमा
बिर्सियो बाटो
र
अक्षरहरूमा ठोक्किएर ऊ लड्यो ।

डुल्दाडुल्दै
शब्द र वाक्यहरूमा
तिर्मिरायो
र
अनुच्छेदहरूमा बेरिएर ऊ लड्यो ।

खोज्दै गर्दा
सुनौलो भविष्य
पुस्तकका पन्नाहरूमा
रन्थनियो बेस्सरी
र
पन्नाको धारले सेरिएर ऊ मर्‍यो।

Friday, June 10, 2011

मेरो computer



चल्दाचल्दै झ्याप्प बन्द हुन्छ
चलाउँदा चलाउँदै थप्प रोकिन्छ
keyboard ले type गर्नै छोड्छ
mouse सर्दै सर्दैन
सधैँजसो hang हुन्छ
आजभोलि मेरो computer ले
भनेजस्तो काम गर्दै गर्दैन ।

boot हुनै घन्टौँ लाग्छ
program खुल्न उस्तै कुर्नुपर्छ
काम गर्दागर्दै response गर्न छोड्छ
न end हुन्छ चलिरा program
न नयाँ start हुन्छ
सारै लोसे भएको छ
memory थप्दा नि speed नै बढ्दैन
खुल्दाखुल्दै restart हुन्छ



program भनेर download गरिएकाहरू
virus देखा परेपछि
महत्त्वपूर्ण data हरू
सबै ध्वस्त गरेपछि
deepfreeze ले बचाउनै सकेन
scan गरेर नि virus नै हटेन

त्यसैले,
उडे उडोस् data
मेटिए मेटियून् document
हटाएर पुरानो system
पुरै नयाँ भर्छु अब
antivirus को भरै भएन
full format नै गर्छु अब ।

Saturday, May 28, 2011

सपना र मृत्यु

रामबहादुरकी स्वास्नी व्यथाले मरिन्
ओखती नपाएर बुबा मरे
खेतमा काम गर्दागर्दै आमा पहिरोमा पुरिइन्
कान्छो छोरो भोकले मर्‍यो
बाँकीलाई टुहुरो बनाएर
पीडै पीडाले रामबहादुर कालको मुखमा परे


उसका सपना थिए,
घर सजाउने सपना
छोराछोरीलाई सुखमा हुर्काउने
पढाउने, बढाउने र
ठूलो मान्छे बनाउने सपना
आमा–बा, स्वास्नी र छोराछोरी सहितको
सुखी, खुसी परिवारको सपना

स्वास्नीको मृत्युसँगै उसको सपना टुक्रियो
आमा–बाको निधनसँगै उसको सपना भत्कियो
रामबहादुरको अन्त्यसँगै उसको सपना टुङ्गियो

चाहेर पनि उसले स्वास्नी बचाउन सकेन
चाहेर पनि उसले आमा–बा फर्काउन सकेन
छोराछोरीको निम्ति
चाहेरै पनि उसले आफ्नो आयु थप्न सकेन

आज
उसका छोराछोरीको सपना बेच्नेहरू
आफ्नो आयु बढाउँदैछन्
बिना कुनै योजना
सपना पूरा गर्ने बाचा गरिरहेछन्
क्रुद्ध भएर आत्मा
रामबहादुरलाई
फेरि ब्यूँतेर बाँच्न मन लागेको छ
सपनाको कालो व्यापारीका
करङहरू भाँच्न मन लागेको छ ।

Wednesday, April 13, 2011

पुरानो घर




चुहिएको छानो
चर्किएको गारो
भाँच्चिएका दलिनहरू
मक्किएका झ्याल–ढोकाका खापाहरू
भत्कनै लागेको एउटा पुरानो घर ।
पुरानो घरमा
एउटै नयाँ कुरो
नयाँ वर्षको
नयाँ क्यालेन्डर ।