Pages

Tuesday, January 26, 2010

छोपेर आफ्नै अनुहार

‘सञ्चै हुनुहुन्छ ?’ बाटोमा हिँड्दै गर्दा एक्कासी उनलाई देखेपछि औपचारिकता निभाउनकै लागि भए पनि मुसुक्क हाँसेर मैले सोधेँ ।
उनले मलाई देखिनन् र मैले बोलेको सुनिनन्, चूपचाप अघि बढिन् । म पनि आफ्नै बाटो लागेँ ।
उही समय, उही ठाउँ, उसैगरी भोलिपल्ट फेरि उनीसँग भेट भयो ।
‘कता हिँड्नुभयो ?’ अलि ठूलै स्वरमा सोधेँ । उनले आज पनि मलाई देखिनन् र मलाई सुनिनन् । आफैँलाई लाज लाग्यो । वरिपरि नियालेँ –‘कसैले हेरिरहेको पो छ कि ?’ अनि लुसुक्क लागेँ आफ्नो बाटो ।
नियमित भेट हुन थाल्यो, उनीसित । बोल्न छाडे पनि मुसुक्क हाँसेर मैले आफ्नो कर्तव्य निभाएँ । उनले हाँसोको जवाफ दिइनन् ।
‘उनी’ एक पात्र हुन् ।
‘उनी’ मेरी स्कूलकी classmate, अफिसकी साथी, अनि कुनै समय मैले पढाएकी विद्यार्थी ।
‘उनी’ स्कूलका राम्रा साथीमध्ये एक थिइन् । पढाइमा गारोसारोमा एकले अर्कालाई सघाउनु हाम्रो नियमितता थियो । आज हामी फरक फरक college मा पढ्छौँ । कतै बाटोमा भेट भइहाले ‘उनी’ मुन्टो फर्काउँछिन् ।


‘उनी’ अफिसमा राम्रै सहयोगी थिइन् । आज मैले आफ्नो कार्यक्षेत्र बदलेँ । कहिलेकाहीँ सामुन्ने पर्दा टाउको लुकाउँछिन् र बाटो लाग्छिन् ।
‘उनी’ अस्तिसम्म मैले पढाउँदा साह्रै आत्मीय थिइन् ।
‘सर, यो कसरी ? यो के हो ?’ नबुझेका कुरा फोन गरेरै पनि सोध्थिन् । class सिद्धिएको एक हप्ता बितेको छैन, आज मलाई देखिहालिन् भने बाटो काट्छिन् र अर्कै साइडबाट हिँड्छिन् ।
‘उनी’सँगको प्रत्येक भेट वा देखाइमा म प्रत्येक पल्ट मुसुक्क हाँस्छु र हाँसोको जवाफ नपाएपछि लज्जित हुँदै आफ्नो बाटो लाग्छु ।
स्कूल, कलेज वा अफिसमा सँगै हुँदा राम्रै व्यवहार गर्ने ‘उनी’हरू किन बाटोमा भेट्दा नदेखेझैँ गर्छन् ? मैले मुसुक्क हाँस्दा किन हाँसोको जवाफै नदिई मुन्टो बटार्छन् ?


मलाई बाटोमा भेट्दा ‘उनी’हरूलाई पर्ने अप्ठोरो देखेर म आफैँ अप्ठेरो महसूस गर्न थालेको छु । त्यसैले आजभोलि म मास्क लाएर हिँड्छु, छोपेर आफ्नै अनुहार । ता कि मलाई बाटोमा भेट्दा मलाई नचिन्न ‘उनी’हरूलाई सजिलो होस् र ‘उनी’हरूले मुन्टो फर्काउनु नपरोस् ।

Monday, December 21, 2009

हाम्रो सपना




तिमीले देखेको सपना
मैले देखेको सपना
फुल्नै नपाइकन झर्‍यो
फक्रिनै नपाइकन मर्‍यो
वैशाखमा साइतै जुरेन
कुर्दाकुदै समय
मंसिर पनि त्यसै तर्‍यो ।

उसले जन्मिनुपर्छ
चाहना तिम्रो पनि हो
इच्छा मेरो पनि हो ।
जन्मेर मात्र हुँदैन
जन्मिनुपर्छ
स्वस्थ्य, हृष्टपुष्ट र तन्दुरुस्त
किनकी,
उसको खुसीसँग तिम्रो खुसी जोडिएको छ
उसको हाँसोसँग मेरो हाँसो गाँसिएको छ
उसको जिन्दगीसँग हाम्रो जिन्दगी बाँचेको छ ।



त्यसैले,
बाधाहरू तोडेर आऊ
शंकाहरू छोडेर आऊ
म विश्वास बोकेर आउँछु
हातमा हात मिलाउँछु

तिमीले देखेको सपना
मैले देखेको सपना
फुल्न पाउनुपर्छ अब झर्नुहुन्न
फक्रिन पाउनुपर्छ अब मर्नुहुन्न
उसले जन्मिनु हतार भैसकेको छ
अब कुनै साइत कुर्नुहुन्न ।

Monday, November 30, 2009

बाध्यता




थुन्छु, अग्ल्याउँछु घरका ढोका र झ्यालहरू
टाल्छु, बन्द गर्छु भित्ताका भएभरका प्वालहरू
तैपनि मध्यरातमै ब्यूँझिन्छु र ख्वार् ख्वार् आवाज सुन्छु
यसरी नै दुःख दिन्छन् प्रत्येक रात मूसाहरूले
त्यसैले आजभोलि दिनमै समेत सुत्न बाध्य हुन्छु ।

Thursday, October 29, 2009

डरछेरुवाहरू



भाग्यमाथि रिस पोख्छन्
लड्न डराउँछन्, पुर्पुरो ठोक्छन्
जीवन जीउनु व्यर्थ ठान्छन्
दुःखलाई कर्मको लेखा मान्छन्
समाधान भेट्दैनन्
समस्याविरुद्ध सिन्को नभाँच्नेहरू
जसोतसो जीवन चलाउँछन्
केवल मर्न डराएर बाँच्नेहरू ।

थोरै खुसीमा धेरै मात्तिन्छन्
धैर्य गुमाउँछन्, दुःखमा आत्तिन्छन्
आफ्नै दुःखलाई ठूलो मान्छन्
झुन्डिन्छन् पासोमा या विष खान्छन्
कल्पनामा हराउँछन्
सत्यदेखि डर्नेहरू
अनाहकमा जीवन फाल्छन्
बाँच्न डराएर मर्नेहरू ।

Monday, September 14, 2009

स्कूल जान ऊ मानेन

उठ्छु, पढ्छु, कपडा फेर्छु
सफा-सुग्घर भै ऐना हेर्छु
टिफिनसाथको झोला भिरी
स्कूल जान्छु टम् टम् टम्
              -युद्धप्रसाद मिश्र



‘स्कूल जान्छु टम् टम्’ भन्दै हिजोसम्म
झोला बोकेर पढ्न जाने ऊ
था’छैन आज किन रोक्यो
न खायो पस्केको भात
न लायो लुगा
न त रमाएर झोला नै बोक्यो
‘के भयो उस्लाई’
‘किन यस्तो भो आज’
खै कसैलै जानेन
जति फकाउँदा पनि
जति कर गर्दा पिन
स्कूल जान ऊ मानेन ।

खेल्दै नखेल्दा पनि
टी.भी. हेर्दै नहेर्दा पनि
गर्नुपर्ने पाठ धेरै हुन्थ्यो
सबै पाठ सकिन्नथ्यो कैल्यै पनि
‘किन पाठ नगरेको ?’
कुन गुरुले सोध्नुहुन्थ्यो र
एक-एकलाई उभ्याएर बेन्चमाथि
लट्ठीले पिट्नुहुन्थ्यो जहिले पनि
बिनसित्तिमा गुरुहरुबाट कुटाइ खानु
उसले राम्रो ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



पिट्न मात्र जानेका गुरुहरुबाट
मायाको आश राख्नु उसले बेकार भएछ
कसरी पढ्न सकिन्छ र मनमा डर बोकेर
पढ्न स्कूल आउनु पनि व्यर्थै भएछ
कुन गुरुले डोरीले बानेन र उसलाई
कुनले हातमा घाउ हुने गरी हानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

बुझ्नै गाह्रो थियो जति बुझाउँदा पनि गुरुले
त्यसैले पढाइमा ऊ पछि पर्थ्यो
सोधेरै भए पनि बुझ्न चाहन्थ्यो ऊ तर
धेरै सोध्यो भनेर गुरु रिसाउने गर्थ्यो
कक्षाका साथीहरुमाझ गुरुबाट बेइज्जत हुन
उसले निको ठानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।



गुरुलाई खुसी पार्न गुरुबाट माया पाउन
सकेसम्म ऊ मेहनत गर्थ्यो
पाठ गरेको दिनमै पनि
सबै मिलाएको बेलामा पनि
एक न एक खोट गुरुले देखाएरै छोड्थ्यो
जति राम्रो गर्दा पनि कहिल्यै कसैले
‘राम्रो ग-यौ’ भन्न जानेन
त्यसैले
स्कूल जान ऊ मानेन ।

Thursday, August 6, 2009

गाईजात्रा हो, हाँसौँ साथी



आकास्सिएको महँगीले जनतालाई थिच्दा पनि
पेटी हिँड्ने यात्रुलाई कार आई किच्दा पनि
धन्न हामी जिउँदै छौँ
नमरुन्जेल बाँचौँ साथी
किन लिनू व्यर्थ टेन्सन
सबै बिर्सी हाँसौँ साथी ।

बाढी आई खेतबारी पानीसँगै बग्दा पनि
हट्या छैन लोडसेडिङ बर्षा झरी लाग्दा पनि
पीर, चिन्ता छोडिदिऊँ
सन्ततिलाई साँचौँ साथी
गाईजात्रा हेरौँ देशको
उफ्री उफ्री हाँसौँ साथी ।

भोको पेटमा भात खाँदा पखालाले मर्दा पनि
सीमानाको जंगे पिल्लर रातारात सर्दा पनि
‘हैन’ भन्दै डम्फू ठोक्छ
उसकै तालमा नाचौँ साथी
रोकौँ आँसु, लुकाऊँ पीडा
मरी मरी हाँसौँ साथी ।

Tuesday, July 7, 2009

को हो तपाई ?




मैले ‘अ’ भन्दा
ऊ ‘अनार’ भन्दै कराउँथ्यो
मैले ‘क’ बोल्दा
ऊ ‘कलम’ भन्दै चिच्याउँथ्यो
मैले 'A' सुनाउँदा
ऊ 'Apple' भन्दै उफ्रन्थ्यो

यात्राको एउटा मोडमा
भएको छ भेट फेरि
टाढा भइसकेका अनुहारका
जुधेका छन् आँखा फेरि

चंचल थियो ऊ
शान्त छ
बोलक्कड थियो ऊ
शिष्ट छ
म अझै मास्टर छु स्कूलको
उसको स्थान विशिष्ट छ



पढाउँदाका दिनहरु सम्झिँदै, गुन्दै
माया गर्दाका क्षणहरु सम्झिँदै, रमाउँदै
गाली गर्दाका पलहरु सम्झिँदै, खुम्चँदै
म सोध्छु
‘बाबु के छ?’
ऊ हेर्छ पुलुक्क मेरो अनुहारमा र बोल्छ
‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’

Wednesday, June 10, 2009

ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !


छोप्दै छोपिन्न भने हत्केलाले सूर्यका रोशनीलाई
रोकिन्न भने कुनै शक्तिले पृथ्वीको गतिलाई
जाडो घट्दै घटेन नभन
अन्धकार हट्दै हटेन नभन
ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !
कुहिरोले छोपेको मात्र हो धरती
बादलले ढाकेको मात्र हो आकाश
सूर्य उदाउँदै नउदाएको होइन
घाम लाग्दै नलागेको होइन ।

रक्तिम किरणले अन्धकार पछार्नै लागेको बेला
लामो निद्रामा अलमलिएकाहरु आँखा मिच्दै जागेका बेला
पूर्व फाट्दै फाटेन नभन
उज्यालो हुँदै भएन नभन
ए, उज्यालोको गीत गाउने मान्छे !
हुन मात्र बाँकी हो बिहान
सुन्न मात्र बाँकी हो भालेको डाक
रात ढल्दै नढलेको होइन
तारा झर्दै नझरेको होइन ।



पाखामा रक्ताम्ये लाली गुराँस फुलेका बेला
घामको स्वागतमा मुस्काउँदै सूर्यमुखी झुलेका बेला
कोइलीले गाउँदै गाएन नभन
वसन्त आउँदै आएन नभन
ए, वसन्तलाई खोजी हिँड्ने मान्छे !
उड्न मात्र बाँकी हुन् भँवरा
डुल्न मात्र बाँकी हुन् पुतली
फूल फुल्दै नफुलेको होइन
शिशिर हट्दै नहटेको होइन ।