Pages

Saturday, November 26, 2011

आमाको विश्वास

फिँजाएर ओठ, देखाएर चम्किला सेता दाँत
हिमालसँगै मुस्काउन छोडेकी छैन अझै
कैले सुसाउँदै, कैले उर्लँदै
नदीसँगै कलकल बग्न छोडेकी छैन अझै
तैँले सोचेजस्तो नराम्री त छँदैछैन म
तैँले सम्झेजस्तो कमजोर भैसकेकी छैन अझै ।


[photo:theodora.com]

तँलाई टाँसेको छाति तेरै मायामा तड्पिन्छ घरिघरि
तँलाई खेलाएको काख तैँलाई खोज्दै भौतारिन्छ वरिपरि
भुलेर न्यानो माया तँ अर्कै संसारमा भए पनि
छोडेर आमाको काख तँ अन्तै पाहुना हुन गए पनि
मेरो मनले तेरै बारेमा सोच्न छोडेको छैन अझै
सोध्नै बिर्सिस् रे तैँले सञ्चो बिसञ्चो नि आजभोलि
सपनीमा मैले तैँलाई खोज्न छोडेकी छैन अझै ।


[photo:nepali-pictures.com]

तैँले छोड्दा थोरै विचलित भएकै हूँ
तर ‘आमा बौलाई’ भन्ने हल्ला नचलाएस्
बाँचिरा’कैछु स्वाभिमानी भएर
‘आमा मरिसकी’ भन्ने हावा नफैलाएस्
छाए पनि आँखामा थोरै अँध्यारो
घामसँगै अझै उज्यालिएकै छु
बोकेर शीरमा सगरमाथा
राखेर छातिमा लुम्बिनी
म गर्वका साथ उभिन छोडेकी छैन अझै
कोइलीको कुहुकुहुसँगै
सुनाउँदै छहराको गीत
बजाउँदै ऐँसेलुका पात
पहरामा गुराँस फुलाउन छोडेकी छैन अझै ।

थाहा छ,
सम्झेर मेरो न्यानो काख
सम्झेर मेरो ममतामयी अँगालो
एकदिन
‘आमा’ भन्दै मेरै काखमा लुट्पुटिन आउनेछस्
बगाउँदै अश्रुधारा
मेरै छातिमा मुन्टो लुकाउनेछस्
तँमाथिको मेरो भरोसा
मरिसकेको छैन अझै
विश्वास छ,
त्यो दिन आउनेछ छिट्टै
विश्वास गुमाएकी छैन अझै
मैले विश्वास गुमाएकी छैन अझै ।


[photo:greentatatrust.com]

Tuesday, October 25, 2011

शुभकामना


[तस्वीरः myaawaz.com]

दशैँमा समेत दशैँ खर्च नपाएको झोँकमा गर्दै आएको काम छोडेर नरमानले नयाँ काममा हात हाल्यो । काम त के नयाँ भन्नु, उही मजदुरी न हो, साहूको पसलमा । तर ठाउँ नयाँ, साहू नयाँ, साथीहरू नयाँ, परिवेश नयाँ र शायद ज्याला नयाँ ।
दशैँ जस्तो भए पनि तिहार राम्रै बित्ने भयो भन्ने सोचेर नरमान दंग पर्‍यो र तिहारको किनमेलको योजना बुन्न थाल्यो ।
′बुबा मलाई एक जोर नयाँ जुत्ता ′ दशैँदेखि भन्दै आएको उही कुरो दोहोर्‍याई छोरीले ।
छोरो बोल्यो, ′मलाई जसरी भए पनि मोबाइल है बुबा ′
स्वास्नी बोलिनँ । तर उसको ठाउँ ठाउँमा टालेको धोतीले सबै बोलिरहेको थियो । नयाँ आश लिएर नरमान आज काममा हिँड्यो । दिनभरी पसलमा काम गरिसकेपछि ऊ साहूको अगाडि पुग्यो र बिन्ती बिसायो, ′साहूजी, तिहार मुखैमा आइसक्यो ... ′
उसले वाक्य टुंग्याउनै परेन । ′ए, भुसुक्कै बिर्सेछु, एकछिन पख है ′ यसो भन्दै साहू भित्र कोठमा गयो र एकछिन पछि एउटा खाम ल्याएर नरमानको हातमा थमाइदियो । दंग पर्दै नरमानले खाम खोल्यो । खामभित्र एउटा रंगिन शुभकामना कार्ड थियो ।

Saturday, October 15, 2011

एउटा मृत्यु



हिँड्दाहिँड्दै
पाठका गोरेटाहरूमा
अल्मलियो
र
पृष्ठहरूमा चिप्लिएर ऊ लड्यो ।

चाहार्दा चाहार्दै
व्याकरण र अभ्यासहरूमा
बिर्सियो बाटो
र
अक्षरहरूमा ठोक्किएर ऊ लड्यो ।

डुल्दाडुल्दै
शब्द र वाक्यहरूमा
तिर्मिरायो
र
अनुच्छेदहरूमा बेरिएर ऊ लड्यो ।

खोज्दै गर्दा
सुनौलो भविष्य
पुस्तकका पन्नाहरूमा
रन्थनियो बेस्सरी
र
पन्नाको धारले सेरिएर ऊ मर्‍यो।

Friday, June 10, 2011

मेरो computer



चल्दाचल्दै झ्याप्प बन्द हुन्छ
चलाउँदा चलाउँदै थप्प रोकिन्छ
keyboard ले type गर्नै छोड्छ
mouse सर्दै सर्दैन
सधैँजसो hang हुन्छ
आजभोलि मेरो computer ले
भनेजस्तो काम गर्दै गर्दैन ।

boot हुनै घन्टौँ लाग्छ
program खुल्न उस्तै कुर्नुपर्छ
काम गर्दागर्दै response गर्न छोड्छ
न end हुन्छ चलिरा program
न नयाँ start हुन्छ
सारै लोसे भएको छ
memory थप्दा नि speed नै बढ्दैन
खुल्दाखुल्दै restart हुन्छ



program भनेर download गरिएकाहरू
virus देखा परेपछि
महत्त्वपूर्ण data हरू
सबै ध्वस्त गरेपछि
deepfreeze ले बचाउनै सकेन
scan गरेर नि virus नै हटेन

त्यसैले,
उडे उडोस् data
मेटिए मेटियून् document
हटाएर पुरानो system
पुरै नयाँ भर्छु अब
antivirus को भरै भएन
full format नै गर्छु अब ।

Saturday, May 28, 2011

सपना र मृत्यु

रामबहादुरकी स्वास्नी व्यथाले मरिन्
ओखती नपाएर बुबा मरे
खेतमा काम गर्दागर्दै आमा पहिरोमा पुरिइन्
कान्छो छोरो भोकले मर्‍यो
बाँकीलाई टुहुरो बनाएर
पीडै पीडाले रामबहादुर कालको मुखमा परे


उसका सपना थिए,
घर सजाउने सपना
छोराछोरीलाई सुखमा हुर्काउने
पढाउने, बढाउने र
ठूलो मान्छे बनाउने सपना
आमा–बा, स्वास्नी र छोराछोरी सहितको
सुखी, खुसी परिवारको सपना

स्वास्नीको मृत्युसँगै उसको सपना टुक्रियो
आमा–बाको निधनसँगै उसको सपना भत्कियो
रामबहादुरको अन्त्यसँगै उसको सपना टुङ्गियो

चाहेर पनि उसले स्वास्नी बचाउन सकेन
चाहेर पनि उसले आमा–बा फर्काउन सकेन
छोराछोरीको निम्ति
चाहेरै पनि उसले आफ्नो आयु थप्न सकेन

आज
उसका छोराछोरीको सपना बेच्नेहरू
आफ्नो आयु बढाउँदैछन्
बिना कुनै योजना
सपना पूरा गर्ने बाचा गरिरहेछन्
क्रुद्ध भएर आत्मा
रामबहादुरलाई
फेरि ब्यूँतेर बाँच्न मन लागेको छ
सपनाको कालो व्यापारीका
करङहरू भाँच्न मन लागेको छ ।

Wednesday, April 13, 2011

पुरानो घर




चुहिएको छानो
चर्किएको गारो
भाँच्चिएका दलिनहरू
मक्किएका झ्याल–ढोकाका खापाहरू
भत्कनै लागेको एउटा पुरानो घर ।
पुरानो घरमा
एउटै नयाँ कुरो
नयाँ वर्षको
नयाँ क्यालेन्डर ।


Monday, February 14, 2011

मायाका कुरा



मैले
अप्ठेरोमा हात दिने कुरा गरेँ
एक्लोपनमा साथ दिने कुरा गरेँ
जंघारहरू सँगै तर्ने कुरा गरेँ
लामो यात्रा सँगै गर्ने कुरा गरेँ
र
तिमी भन्छ्यौ
मैले मायाको कुरै गरिनँ ।

तिमीले
आलिङ्गनका कुरा गर्‍यौ
चुम्बनका कुरा गर्‍यौ
अनि स्पर्शका कुरा गर्‍यौ ।
भन,
तिमीले कहाँ मायाका कुरा गर्‍यौ ?



छाडेर आमाको काख
तिम्रो अँगालोमा आफूलाई बेर्न म सक्दिनँ
बनाएर तिमीलाई खुसी
आमाको मुहारमा उदासी हेर्न म सक्दिनँ
र त मैले
सधैँ साथ साथ बढ्ने कुरा गरेँ
अग्ला चुलीहरू सँगै चढ्ने कुरा गरेँ
र तिमी भन्छ्यौ
मैले मायाको कुरै गरिनँ ।

तिमीले
भएभरका सम्बन्धहरू तोड्ने कुरा गर्‍यौ
तिमीसँग नाता गाँस्न
आफ्नालाई छोड्ने कुरा गर्‍यौ
भन
तिमीले कहाँ मायाका कुरा गर्‍यौ ?

Monday, December 27, 2010

जन्मदिन र शुभकामना





एकाबिहानै मोबाइलमा message को टोन बज्यो । आँखा मिच्दै पढ्ने कोसिस गरेँ, 'happy birthday'। मोबाइललाई थिचेर सिरानीमुनि फेरि निदाउने कोसिस गरेँ । मोबाइलको क्यार् क्यार् रोकिएनँ । उठेँ, हाइ काढ्दै र लागेँ नित्य कर्ममा ।
बिहानै उठेर net बाट चियाउने बानी नै भैसक्यो । अनुहारलाई पानीले पखालेर कम्प्युटर अघिल्तिर बसेँ र सुरु गरेँ नयाँ दिनको यात्रा facebook.com बाट । log in गरेको के थिएँ, message र notification को थुप्रो लागेको रहेछ । पहिलो message मा click गरेँ । लेखिएको थियो, 'happy birthday'। पढ्दै जान्छु त सबैजसो message मा उही कुरो । ह्या, दिक्क लाग्यो । message लाई छोडेर लागेँ प्रोफाइलतिर । आफ्नो wall देखेर ट्वाल्ल परेँ । screen मा देखिने जति wall 'happy birthday'ले भरिएको रहेछ । मैले के गर्दिएको थिएँ र मेरो जन्मदिनमा यति खुसी भएका यिनीहरू ?
सोच्दासोच्दै आफैँभित्र हराएँ । मैले केही मेहनत नगरिकनै २६ वसन्त पार भैसकेछन् । पृथ्वीमै बसेर सूर्यलाई २६ फन्का मारिसकेछु । तर यसमा मेरो थोप्पो देन छैन । मलाई हुर्काउन आमाले दुःख झेल्नुभयो । बुबाले कष्ट सहनुभयो । दाइले मेहनत गर्नुभयो । म मूला, बसी बसी २६ वर्ष कटाएछु । खायो, खेल्यो, बढ्यो, त्यत्तिकै उमेर चढ्यो ।
सोचेँ, खुसी हुनुपर्ने गरी मैले केही गरेकै छैन । भनौँ, गर्न भ्याएको छैन वा गर्न पाएको छैन । अझ भनौँ, जे गर्नुपर्थ्यो, त्यो गर्न सकेकै छैन । अझ पनि आमाकै काखमा हुर्किरहेको छु । बुबाकै छत्रछायाँमा बढिरहेको छु । छोरा भएर न छोराको कर्तव्य पूरा गर्न सकेको छु । न त मानव हुनुको नाताले नै कुनै जिम्मेवारी वहन गर्न सकेको छु । बलिया भएका छन् पिँडौला, दरा भएका छन् पाखुरी, तर उपयोग गर्न सकिएकै छैन ।
नलडेको हैन, लडिरहेकै छु । नहिँडेको हैन, हिँडिरहेकै छु । तैपनि लक्ष्य भेटेकै छैन । सपनाको प्यास मेटेकै छैन । अनि जन्मिएको सार भेटिएकै छैन भने उमेर चढ्दैमा किन रमाउनु ? शरीर बढ्दैमा किन खुसी मनाउनु ?




कुनै ठूलो दुर्घटना टरेर हैन
काल टाउकैबाट तल झरेर हैन
गम्भीर रोगबाट मुक्त भएर पनि हैन
जन्मेर ठूलै उपलब्धि पाएर पनि हैन
साथीहरू खुसी छन् मात्र म धरतीमा झरेकोमा
साथीहरू दंग छन् मात्र मेरो जन्मदिन परेकोमा ।

व्यथाले छट्पटिँदा मेरी आमा
साथ दिने क्वै थिएन,
धरतीमा पाइला टेकेको दिन
शुभकामना जन्मदिनको कसैले दिएन

आज
'Happy Birthday' भन्दा कसैले,
आफैँले भुलिसकेको
आफ्नो उमेर गन्दा कसैले
खुसी हुनुपर्थ्यो मन,
खुसी हुनै मानेन
प्रत्यूत्तरमा एकवचन
'Thank U' भन्न जानेन ।

खाएरै, खेलेरै बढ्यो ज्यान,
समयसँगै चढ्यो उमेर,
उमेरसँगै प्रगति भएकै छैन
आफ्नै लागि संघर्ष गरिरहँदा
बन्न भ्याइएन बाआमाको लाठी,
उनका दुःख अझै गएकै छैन

आमाले चाहेजस्तो
छोरा बन्न सकेको छैन अझै
ठाडो पारेर बाबुको शीर
‘म छोरा’ भन्न सकेको छैन अझै
दाजुको हात समातेर हिँड्न सिकियो
बाँकी बाटो खन्न बाँकी नै छ
भाइलाई देखाउन नयाँ बाटो
आफैँ उदाहरण बन्न बाँकी नै छ

सपनाहरू थाँती छन् कैयौँ
अझै पूरा भएकै छैन
यात्रा थालेको वर्षौँ भयो
लक्ष्य अझै पाएकै छैन

बित्दै जान्छ समय,
बढ्दै जान्छ उमेर,
उमेरले मात्र आफूलाई
बूढो बनाएर के गर्नु ?
जन्मिएको सार
भेटिएको छैन अझै,
व्यर्थै खुसी मनाएर के गर्नु ?