Pages

Thursday, August 6, 2009

गाईजात्रा हो, हाँसौँ साथी



आकास्सिएको महँगीले जनतालाई थिच्दा पनि
पेटी हिँड्ने यात्रुलाई कार आई किच्दा पनि
धन्न हामी जिउँदै छौँ
नमरुन्जेल बाँचौँ साथी
किन लिनू व्यर्थ टेन्सन
सबै बिर्सी हाँसौँ साथी ।

बाढी आई खेतबारी पानीसँगै बग्दा पनि
हट्या छैन लोडसेडिङ बर्षा झरी लाग्दा पनि
पीर, चिन्ता छोडिदिऊँ
सन्ततिलाई साँचौँ साथी
गाईजात्रा हेरौँ देशको
उफ्री उफ्री हाँसौँ साथी ।

भोको पेटमा भात खाँदा पखालाले मर्दा पनि
सीमानाको जंगे पिल्लर रातारात सर्दा पनि
‘हैन’ भन्दै डम्फू ठोक्छ
उसकै तालमा नाचौँ साथी
रोकौँ आँसु, लुकाऊँ पीडा
मरी मरी हाँसौँ साथी ।

Tuesday, July 7, 2009

को हो तपाई ?




मैले ‘अ’ भन्दा
ऊ ‘अनार’ भन्दै कराउँथ्यो
मैले ‘क’ बोल्दा
ऊ ‘कलम’ भन्दै चिच्याउँथ्यो
मैले 'A' सुनाउँदा
ऊ 'Apple' भन्दै उफ्रन्थ्यो

यात्राको एउटा मोडमा
भएको छ भेट फेरि
टाढा भइसकेका अनुहारका
जुधेका छन् आँखा फेरि

चंचल थियो ऊ
शान्त छ
बोलक्कड थियो ऊ
शिष्ट छ
म अझै मास्टर छु स्कूलको
उसको स्थान विशिष्ट छ



पढाउँदाका दिनहरु सम्झिँदै, गुन्दै
माया गर्दाका क्षणहरु सम्झिँदै, रमाउँदै
गाली गर्दाका पलहरु सम्झिँदै, खुम्चँदै
म सोध्छु
‘बाबु के छ?’
ऊ हेर्छ पुलुक्क मेरो अनुहारमा र बोल्छ
‘माफ गर्नुहोस् महाशय,
मैले चिनिनँ,
तपाईँ को हुनुहुन्छ ?’

Wednesday, June 10, 2009

ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !


छोप्दै छोपिन्न भने हत्केलाले सूर्यका रोशनीलाई
रोकिन्न भने कुनै शक्तिले पृथ्वीको गतिलाई
जाडो घट्दै घटेन नभन
अन्धकार हट्दै हटेन नभन
ए, अँध्यारोविरुद्ध लड्ने मान्छे !
कुहिरोले छोपेको मात्र हो धरती
बादलले ढाकेको मात्र हो आकाश
सूर्य उदाउँदै नउदाएको होइन
घाम लाग्दै नलागेको होइन ।

रक्तिम किरणले अन्धकार पछार्नै लागेको बेला
लामो निद्रामा अलमलिएकाहरु आँखा मिच्दै जागेका बेला
पूर्व फाट्दै फाटेन नभन
उज्यालो हुँदै भएन नभन
ए, उज्यालोको गीत गाउने मान्छे !
हुन मात्र बाँकी हो बिहान
सुन्न मात्र बाँकी हो भालेको डाक
रात ढल्दै नढलेको होइन
तारा झर्दै नझरेको होइन ।



पाखामा रक्ताम्ये लाली गुराँस फुलेका बेला
घामको स्वागतमा मुस्काउँदै सूर्यमुखी झुलेका बेला
कोइलीले गाउँदै गाएन नभन
वसन्त आउँदै आएन नभन
ए, वसन्तलाई खोजी हिँड्ने मान्छे !
उड्न मात्र बाँकी हुन् भँवरा
डुल्न मात्र बाँकी हुन् पुतली
फूल फुल्दै नफुलेको होइन
शिशिर हट्दै नहटेको होइन ।

Wednesday, May 20, 2009

बाढी बनेर आउनुपर्छ




नमिलेको समाज मिलाउनु छ भने
दुःखीलाई सुख दिलाउनु छ भने
फाल्नु छ यदि समाजका कुतत्वलाई भने
गाल्नु छ पुराना संस्कारलाई भने
पुराना चिन्तन गल्नुपर्छ
थोत्रा विचारहरु जल्नुपर्छ
त्यसैले
आँधी आउनुपर्छ हूरी चल्नुपर्छ ।

घरमा नयाँ छानो छाउनु छ भने
गरीबको शासन ल्याउनु छ भने
फेर्नु छ यदि संसारलाई भने
हेर्नु छ यदि सुनौलो बिहान भने
युगौँको बन्धन चुँडाल्नुपर्छ
दासताको जन्जिर छिनाल्नुपर्छ
त्यसैले
नयाँ क्रान्ति थाल्नुपर्छ
एक जुट भइ मुठ्ठी उचाल्नुपर्छ ।

भेदभावको अन्त्य गर्नु छ भने
समानताको लागि लड्नु छ भने
लाउनु छ यदि जनतासँग प्रीत भने
गाउनु छ यदि स्वतन्त्रताको गीत भने
कलमलाई जोडले समाउनुपर्छ
समाजमा उथलपुथल ल्याउनुपर्छ
त्यसैले
सरितासरि बगेर पुग्दैन कविता
बाढी बनेर आउनुपर्छ ।

Saturday, May 2, 2009

कविताको अन्त्य




बटुलेर अक्षरहरू
जोडेर एक आपसमा
एक कठ्याँग्रिँदो बिहान
चिसो हावाको विरुद्ध
कविता लेखेँ
रिसाएर हावा
आयो आँधी
र उडायो अक्षरहरू कविताबाट
अनि
हावामै कतै लुक्यो कविता ।

फुलिरहँदा फूल बगैँचामा
ओर्लेकै बेला वसन्त धरतीमा
फूलको रक्षार्थ
काँडाको विरुद्ध
कविता लेखेँ
झोक्किएर काँडा
रोपिए पन्ना पन्नामा
अनि
सहनै नसक्ने गरी
दुख्यो कविता ।

लेख्दालेख्दै उज्यालोको कविता
चर्कियो घाम
र पोल्यो अक्षरहरूलाई
अनि
घामकै पोलाइविरुद्ध
कविता लेखेँ
मुर्मुरिँदै घाम अझै तात्तियो बेस्सरी
पग्लियो अक्षर
अनि बाफिएर
सुक्यो कविता ।

Tuesday, April 14, 2009

नआए हुन्छ



रुझेका आमाका परेली
पुछ्न सक्दैनस् भने
दुःखी जीवनको सुखद् सपना
बुझ्न सक्दैनस् भने
सक्दैनस् भने
कुनै नयाँ युगको गीत गाउन
सक्दैनस् भने
आफैँ नयाँ बनेर आउन
ए, नयाँ वर्ष !
तँ मेरो आँगनीमा नआए हुन्छ
कसैले नयाँ वर्षको नाममा
पुरानै गीत नगाए हुन्छ ।


सानो बाबुको भोको पेटमा
अन्नको गेडो हाल्न सक्दैनस् भने
सानी बहिनीको जीउको लुगामा
परेको प्वाल टाल्न सक्दैनस् भने
सक्दैनस् भने
अन्धकार जीवनमा उज्यालो छर्न
सक्दैनस् भने
रित्तो जीवनलाई खुसीले भर्न
ए, नयाँ वर्ष !
तँ मेरो घरमा नछिरे हुन्छ
फर्केर जा
फेरि कहिल्यै नफिरे हुन्छ ।

Saturday, April 4, 2009

तिमीले कस्तो कुरा ग-यौ ?




रातलाई दिनमा बदल्ने कुरा ग-यौ
अँध्यारोलाई उज्यालो बनाउने कुरा ग-यौ
बस्तीहरू छट्पटाइरहेकै छन् अन्धकारमा अझै
तिमीले कुन दीपावली मनाउने कुरा ग-यौ ?

तारालाई जमिनमा झार्ने कुरा ग-यौ
धरतीलाई झलिमिली पार्ने कुरा ग-यौ
आँखा हुँदै बाँच्नुपरेको छ दृष्टिविहिन जीवन
कुरैकुराले समस्यालाई टार्ने कुरा ग-यौ ।

Saturday, March 21, 2009

मैले जितेको चुनाव



बसेकाहरूको टाउकामा टेकेँ
हिँड्न खोज्नेको बाटो छेकेँ
निहूँ खोज्नेलाई पिटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।

अघि बढ्न खोज्नेको खुट्टो तानेँ
आफूलाई तान्नेलाई लात्तले हानेँ
शक्ति देखाएँ, विचार मेटेरै छाडेँ
आखिर मैले जितेरै छाडेँ।

कुटाकुट कति, कति झगडा भए
लुला हातगोडा पनि तगडा भए
विरोधी जति जम्मैलाई खेदेरै छाडेँ
हो, आखिर मैले जितेरै छाडेँ।